विचार

हाम्रो कूटनीतिका विविध कथा

कूटनीति विभिन्न विधि र माध्यमबाट विदेशमा वा अन्य मुलुकमा आफ्नो मुलुकको बृहत् हित, सुरक्षा, सुविधा, व्यापार, सामाजिक–सांस्कृतिक हित, आर्थिक सहयोग तथा लगानी विस्तार, सेवा, श्रम र रोजगार, पर्यटन र विकास, सूचना र प्रविधि लगायतका आधुनिक समाजका अनेकौँ मान्यता, आवश्यकता र अवधारणालाई बुद्धि, विवेक, ज्ञान, सम्वाद, सहयोग, भ्रमण, सहकार्य, सहमति, सहअस्तित्व तथा स्थापित मूल्य र अन्तर्राष्ट्रिय कानुनअनुसार गर्ने माध्यम हो।

कूटनीति आफ्नो मुलुकको आवश्यकता, राजनीतिक अवस्था, सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्थाले निर्धारण गर्ने विषय हो। विकसित मुलुकहरूले गर्ने अन्तर्राष्ट्रिय कूटनीति र हाम्रो जस्तो विकासोन्मुख तथा तेस्रो विश्वका मुलुकहरूले गर्ने कूटनीतिमा फरक र भिन्नत्ता पाइन्छ।

सन् १९५५ मा संयुक्त राष्ट्रसंघ सदस्य भएको नेपाल इतिहासदेखि स्वतन्त्र रह्यो। नेपालको हाल १५८ मुलुकसँग कूटनीतिक सम्बन्ध छ। सन् १८१६ मा बेलायतसँग नेपालको पहिलो कूटनीतिक सम्बन्ध भयो भने सन् १९४७ मा अमेरिकासँग कूटनीतिक सम्बन्ध भएको थियो। पछिल्लो कूटनीतिक सम्बन्ध भएको मुलुक उज्वेकिस्तान हो जोसँग सन् २०१८ जनवरी २६ मा सम्बन्ध भयो।

कूटनीतिक सम्बन्धसम्बन्धी अन्तर्राष्ट्रिय कानुनका रूपमा रहेको ‘भियना कन्भेन्सन अन डिप्लोमेटिक रिलेसन, सन् १९६१’ लाई नेपालले सन् १९६५ सेप्टेम्बर २८ मा अनुमोदन गर्‍यो। बेलायती कूटनीतिक सम्बन्धबाट सुरु भएको नेपालको कूटनीतिक यात्राका क्रममा थुप्रैखालका घटना र परिघटना भए। कतिपय मुलुक र स्थानमा नेपालको अवैतनिक महावाणिज्य दूतसमेत छन्।

नेपाल सरकार र परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नियोगमा राजदूत तथा आवश्यक अधिकारी पठाउने गरिएको छ। कतिपय सन्दर्भमा सरकारले पठाएका नेपाली कूटनीतिज्ञहरूका कारण नेपालको अन्तर्राष्ट्रिय छवि धमिलो भएको थियो।

कतारका राजदूत माया शर्माले बिबिसी सँगको अन्तर्वार्तामा ‘कतार एउटा खुला जेल जस्तो मुलुक हो’ भनेपछि नेपालले निजलाई फिर्ता बोलाउनुपर्‍यो। सरकारी निर्णयविरुद्ध उनी सर्वाेच्च अदालत गए पनि अदालतले सरकारी निर्णय सदर गरेको थियो। जेनेभाको कूटनीतिक नियोगमा रहेका तत्कालीन नेपाली प्रतिनिधि विश्व प्रधानले कार्यक्रमको समयमा ‘भूलबस’ एउटा पुस्तक कोटको गोजीमा हालेपछि गेटमा सिसी क्यामेराले देखाउँदा नेपालको कूटनीतिक क्षेत्रमा लज्जा महसुस भएपछि  पद गुमाउनुपर्‍यो।

विगतमा कतिपय मुलुकमा राजदूतका लागि सरकारद्वारा सिफारिस भएका व्यक्तिहरूको सहमतिपत्र (एग्रिमो) नआएपछि त्यो पदमा नियुक्ति प्रक्रिया अघि बढ्नै सकेन। भारतका लागि नेपाली राजदूत राम कार्कीको सन्दर्भमा यस्तै भएको थियो। अस्ट्रेलियाको राजदूत रहेकी लक्की शेर्पामाथि मानव बेचबिखन आदि आरोप लागेपछि मुलुकले फिर्ता बोलाउन बाध्य हुनुपर्‍यो।

कूटनीतिक सम्बन्धसम्बन्धी अन्तराष्ट्रिय कानुनको धारा ९ मा कुनै राजदूतले राजदूत रहेको मुलुक (रिसिभिङ कन्ट्री) को आन्तरिक मामला, सुरक्षा र हितविपरित कार्य गरेको खण्डमा त्यो मुलुकले तत्काल सो व्यक्तिलाई पठाउने मुलुक (सेन्डिङ कन्ट्री) मा फिर्ता पठाउने र अयोग्य घोषणा (पर्सना नन ग्रान्टा) गर्न सक्ने अधिकार अन्तर्राष्ट्रिय कानुनले दिएको देखिन्छ।

त्यस्तो अवस्था आउनु भनेको अन्तर्राष्ट्रिय कूटनीतिमा देशको छवि खराब हुनु हो। ठ्याक्कै त्यस्तो कानुन लगाएर नेपाली राजदूत फिर्ता आएको घटना विरलै भए पनि त्यो वा सो सरहका गल्ती गरी नेपाल फिर्ता हुनेको सङ्ख्या उल्लेख्य छ।

कतिपयले एग्रिमो नआउनुलाई पनि मुलुकले अस्वीकार गरेको हुनाले त्यस्तै प्रकारको कारबाही नै हो भन्ने गरेका छन्। अन्तर्राष्ट्रिय कूटनीतिमा हाल बहुआयामिक पाटा र पक्षका नीतिलाई कूटनीतिसँग जोडेर अध्ययन र विश्लेषण गर्ने गरिएका छन्। सैनिक कूटनीति, व्यापार र वाणिज्य कूटनीति, सूचना र प्रविधिको कूटनीति, सामाजिक–सांस्कृतिक कूटनीति, क्षेत्रीय र भौगोलिक कूटनीति, सामरिक र युद्ध कूटनीति जस्ता धेरै प्रकारका धारणा र मान्यताको विकास र विस्तार भएको देखिन्छ।

वर्तमानमा बढी प्रचलनमा रहेको भनेको लोकप्र्रिय कूटनीति, नागरिक–नागरिक कूटनीति, भ्रमण कूटनीति, आधुनिक कूटनीति, २१औँ शताब्दीको कूटनीति तथा नरम कूटनीति (सफ्ट डिप्लोमेसी) आदि प्रमुख हुन्। नरम कूटनीतिलाई आधुनिक भूराजनीतिमा व्यापकता दिइएको देखिन्छ। जसमा सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यटकीय, धार्मिक, खेल, वैदेशिक रोजगारी, शिक्षा, तालिम, कलाकारिता तथा विभिन्न सहयोग र अन्य दुई पक्षीय एवम् बहुपक्षीय हितका सन्दर्भका आदानप्रदानको माध्यमबाट विदेश सम्बन्ध बलियो बनाइने गरिएका छन्। पश्चिमा मुलुकहरूले आर्थिक र प्राविधिक सहयोगद्वारा आफ्नो नरम कूटनीतिक प्रभाव विस्तार गर्ने गरेका छन्।

नेपालको कूटनीतिका बहुआयामिक पाटाको चर्चा र अध्ययन गर्दा हाम्रो समाज, भूगोल, व्यापार, संस्कृति, विकास, श्रम र रोजगारी, पर्यटन आदि विविध क्षेत्र र पक्षबाट विश्लेषण गर्न सकिन्छ।

नेपालले संवैधानिक र कानुनी तथा राजनीतिक क्षेत्रमा आधुनिक विश्वले अपनाएका मूल्य र मान्यता जस्तै कानुनी र राजनीतिक संविधानवादका अवधारणा र मान्यतालाई लागु गर्दै आएको छ। उदार र व्यक्तिगत स्वतन्त्रतालाई उच्च महत्त्व दिने लोकतान्त्रिक–गणतान्त्रिक संविधानमा उदारवादी, पुँजीवादी र समाजवादी संविधानवादका प्रमुख आधारभूत विषयहरू समावेश गरिएको छ।

मुलुकले आर्थिक क्षेत्रमा फड्को मार्न कूटनीति माध्यमबाट समेत मुलुकलाई अघि बढाउन भूमिका खेल्नुपर्ने बाध्यता छ। यसबाट व्यापार, सूचना र प्रविधि तथा अन्तर्राष्ट्रिय रोजगारीको क्षेत्रमा बढी सफलता प्राप्त गर्नुपर्ने अवस्था छ। मुलुकको संविधान, लोकतान्त्रिक प्रणाली, बृहत् स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता र २१औँ शताब्दीअनुसारको राष्ट्रिय स्वतन्त्रताको अनुभूति गर्न सक्ने कूटनीतिका बहुआयामिक पाटाहरू परिचालन गर्नु आवश्यक छ।

कूटनीति आफ्नो देशको व्यापक हित र सुरक्षाका लागि विदेशमा गरिने अनेकौँ नीतिको प्रमुख नीति हो। युद्ध र द्वन्द्वको माध्यमबाट नभई भद्र, सभ्य, नरम, मूल्य र सौहार्दपूर्वक आफ्नो मुलुकको हितको सुरक्षा गरी मुलुकको व्यापक फाइदा र आवश्यकता परिपूर्ति गर्न सहयोग गर्ने माध्यम कूटनीति हो।

विश्व इतिहासमा राज्यहरूको अवधारणा विकास भएसँगै कूटनीति र कूटनीतिक अवधारणा पनि विकास र विस्तार हुँदै आएको देखिन्छ। आठौँ शताब्दीअघि नै ग्रिक राज्यहरूमा कूटनीतिक अभ्यास गरिएका थिए। राज्यहरू आफ्नो हक र हितको सुरक्षा र आवश्यकता परिपूर्ति गर्ने विषयमा सार्वभौम हुन्छन् भन्ने मान्यताको विकास भएसँगै अन्तरदेशीय र अन्तर्राष्ट्रिय कूटनीतिको विकास र विस्तार हँुदै आएको देखिन्छ।

–सिलवाल अधिवक्ता हुन्।

प्रकाशित: १९ वैशाख २०८२ ०९:११ शुक्रबार

# Aalekh # Nagarik # Masu Pasal # Diplomatic relations