'तपाईंहरूलाई गाईजात्राको हार्दिक शुभकामना।'
गाईजात्राको दिन दिउँसो साढे १२ बजे काठमाडौंको ठमेलस्थित हिमालयन जाभामा हास्यव्यंग्यका दिग्गज जोडी 'मह' (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) सँग हामी भेटिरहेका थियौं।
'तपाईंहरूलाई पनि शुभकामना। यो फूल उपहार छ,' रेस्टुरेन्ट सञ्चालकले आफ्नो टेबल सजाउन राखेको फूल हामीतिर सार्दै मदनकृष्णले भने।
हरिवंश पनि के कम ? 'फूल उहाँको तर्फबाट, फूलदानी मेरो तर्फबाट।' उनले थपे, 'गाईजात्राको शुभ उपलक्ष्यमा सबै नेपालीले गाईको शुद्ध दुध, दही, घिउ खान पाऊन्। कोही नरोऊन्। सबैले पुरै वर्ष हाँसीहाँसी बिताऊन्।'
यति भन्दा दुवै शान्त र गम्भीर थिए। हामी भने उनीहरूको बोली र हाउभाउले खित्का छाडिरहेका थियौं। कुशल हास्यव्यंग्यकारको विशेषतै यही हो, आफू गम्भीर रहेर दर्शक/स्रोता/पाठकलाई हासाउने। त्यही भएर सबै राम्रा लेखक सफल हास्यव्यंग्यकार हुँदैनन्। यो साहित्यको एउटा अलग्गै विधा हो, जसमा लेखनसागै प्रस्तुतिले ठूलो भूमिका खेल्छ। यसमा समसामयिक वस्तुस्थितिमाथि तिखो प्रहार गर्ने लेखनकला मात्र भएर पुग्दैन - सुन्ने, पढ्ने र हेर्नेहरूको नाडी छामेर उनीहरूलाई पेट मिचिमिची हासाउने खुबी पनि चाहिन्छ। मह जोडीमा यी दुवै गुण छन्।
पञ्चायती व्यवस्थाको बन्द राजनीतिक तथा सामाजिक माहौलमा स्वतन्त्र अभिव्यक्तिको माध्यम बन्यो, यो जोडी। र, अहिले पनि आफ्नो सरल प्रस्तुतिद्वारा सामाजिक विसंगति केलाएर सरकार र जनताका आँखा उघार्ने काममा उत्तिकै दत्तचित्त भएर लागेकै छन्। गाईजात्राको अवसरमा नागरिकका लागि गुणराज लुइँटेल र सुदीप श्रेष्ठले लिएको अन्तर्वार्ताबाट मह जोडीका साझा अभिव्यक्तिः
नागरिकः गाईजात्राको सांस्कृतिक विशेषता के हो ?
महः मृत्यु सहज कुरा हो। आत्माले एउटा खोल फेरेर अर्को खोल ओढ्ने माध्यम भनेकै मृत्यु हो। त्यसैले, रोएर बस्नुभन्दा हाँस्न सिक्नुपर्छ भन्ने सन्देश गाईजात्रा पर्वले बोकेको छ। जानेहरू त गइगए, अब उनीहरूका लागि रोई-रोई दिनहुँ मर्नुभन्दा हाँसेर बाँच्नुपर्छ भन्ने गाईजात्राले सिकाउँछ। यो पितृलाई सम्झने दिन पनि हो। मृतक परिवारको घाउमा मल्हम लगाउने अवसर हो।
यसको साहित्यक विशेषता नि ?
हाम्रो विचारमा गाईजात्रा भनेको एकमात्र साहित्यिक पर्व हो, जुन हास्यव्यंग्य विधामा लक्षित छ। राणाकालदेखि नै आजको दिनबाट कृष्ण अष्टमीसम्म मनमा लागेका कुरा निस्पिmक्री बोल्न पाइन्छ। त्यसैले, यो स्वतन्त्र अभिव्यक्तिको अवसर हो।
अभिव्यक्तिका लागि गाईजात्रा कुर्नुपर्ने पहिलेजस्तो माहौल त अहिले छैन नि ?
पहिले मनमा लागेका कुरा पोख्न गाईजात्राकै अवसर पर्खनुपथ्र्यो। अहिले त्यस्तो छैन। तपाईं जुनसुकै बेला जहाँ पनि बोल्न पाइरहनुभएको छ। लेख्न पाइरहनुभएको छ। सायद त्यही भएर अहिले हाम्रो हास्यव्यंग्य छाडा हुँदै गएको छ। पहिले राजनीतिक र सामाजिक विषयमा व्यंग्य हुन्थ्यो, अहिले नाइटोमुनिका कुरामात्र बढी उठ्छन्।
हामी आँफैले पनि हास्यव्यंग्यलाई सुरुदेखि नै एउटा 'आन्दोलन' का रूपमा प्रयोग गर्दै आयौं। हाम्रो यो आन्दोलनमा टायर बाल्नुपरेन, मान्छे मार्नुपरेन, बन्द गर्नुपरेन। सबैलाई हासाई-हासाई, सबैको मन जितेर, चित्त बुझाएर हामीले आन्दोलन गर्यौं। त्यसैले, हास्यव्यंग्य साहित्य भनेको सुन्दर र आदर्श समाज स्थापनाका लागि गरिने सफा आन्दोलन हो। र, यसको सफलता हेर्नुस्, हामीले क्यासेट-क्यासेटबाट, रंगमञ्चबाट, अक्षरबाट दुई/चार वटा सिस्टम त फाल्यौं नि ! अहिलेसम्म भएका राजनीतिक परिवर्तनहरूमा हास्यव्यंग्य कलाकारहरूले छेडेको आन्दोलनको पनि त अप्रत्यक्ष भूमिका छ नि, छैन ?
कस्ता थिए ती आन्दोलनका दिनहरू ?
पञ्चायती व्यवस्था हुँदासम्म गाईजात्राको हास्यव्यंग्य धेरै हदसम्म नियन्त्रित हुन्थ्यो। आठ/दस वटा प्रहसनमध्येबाट राजालाई देखाउने कार्यक्रम छानिन्थ्यो। पटकपटक सेन्सर पास गराउनुपर्ने। सबभन्दा पहिला स्क्रिप्ट, त्यसपछि प्रस्तुति सेन्सर गर्ने, प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव, अञ्चलाधीशले हेर्ने। पालैपालो सबैले हेरेर ओके गरेपछि बल्ल राजाको अगाडि प्रदर्शन गर्न पाइने। प्रहसनमा दरबारलाई कुनै पनि कोणबाट छुन पाइँदैनथ्यो। प्रधानमन्त्रीलाई सम्म अलिअलि केही कुरा भन्न पाइन्थ्यो। प्रधानमन्त्री, मन्त्रीहरूमाथि व्यंग्य गरेको सुनेर राजाहरू मरिमरि हाँस्थे।
हामीले २०३७ सालतिर 'यमलोक' देखाउँदा बीपी कोइरालालाई पनि साहित्यकारका रूपमा आमन्त्रण गरिएको थियो। उहाँले पहिलोचोटि हाम्रो प्रहसन हेर्नुभएको सायद त्यही बेला हो। त्यो प्रहसनमा हामीले 'मोडल डेमोक्रेसी' भनेर उहाँलाई नै भन्न खोजेका थियौं। 'म नेपालको प्रजातन्त्र, मरेर आएको।' यस्तो संवादले त्यो प्रहसनलाई त्यतिखेर निकै लोकपि्रय बनाएको थियो।
प्रहसनको स्क्रिप्ट सेन्सर कसरी हुन्थ्यो ?
सबभन्दा पहिला हामी स्क्रिप्ट लेखेर प्रशासन कार्यालयलाई बुझाउँथ्यौं। उनीहरूले पास गरेपछि मञ्चन गर्दा पनि केही तोडमोड गरे कि भनेर हेर्न आउँथे। तोडमोड नगर्ने त कुरै भएन। स्क्रिप्टमै व्यंग्य राखेर देखाउँदा सब काटिने डर हुन्थ्यो। त्यसैले, हामी एकैचोटि मञ्चन हुँदा नै आफ्ना कुराहरू राख्थ्यौं। त्यसका लागि पहिलो प्रदर्शनीमा सम्पूर्ण कार्यक्रम रेकर्ड गराउँथ्यौं। भोलिपल्ट कार्यक्रम हेरेपछि प्रशासनले आपत्ति जनाउँथ्यो, रोक लगाउँथ्यो, तर हामीलाई के मतलब ? हामीले त्यतिखेरसम्म आफ्नो कार्यक्रम क्यासेटमार्फत् जनताका घरघरमा पुर्याइसकेका हुन्थ्यौं। व्यापक क्यासेट बिक्री भए हाम्रा। त्यतिखेर सामान्य जनताका घरमा टिभी हुन्थेन। टेपरेकर्डर हुन्थ्यो। र, जसका घरमा टेप हुन्थ्यो, त्यहाँ हाम्रो प्रहसनको क्यासेट पुगेकै हुन्थ्यो। यसले हामीलाई आर्थिक फाइदा पनि भयो। त्यही क्यासेट बेचेर हामीले काठमाडौंमा घर बनायौं। हामीलाई घरका इँटा क्यासेटको चाङजस्तो लाग्छ र हामी त्यही चाङमा उभिएका छौं, सुतिरहेका छौं।
२०३९/४० सालतिर पोखरामा 'कक फाइट' प्रदर्शन गर्दाको एउटा संस्मरण छ। त्यसमा एउटा संवाद थियोः
'पञ्चनारायणजी तपाईं कति सालमा जन्मेको ?'
'२०१७ साल।'
प्रमुख जिल्ला अधिकारीले पञ्चायतलाई व्यंग्य गरेको भनेर यो संवादमा आपत्ति जनाउँदै कार्यक्रम बन्द गरायो (राजा महेन्द्रले संसदीय व्यवस्था भंग गरी २०१७ साल पुस १ गते पञ्चायती व्यवस्था लागू गरेका हुन्)। हामीलाई '२०१७ साल भन्दैनौं' भनेर कागज गर्न लगाइयो। हामी कागज गरेपछि पनि २०१७ साल नै भन्छौं भनेर बसिरहेका थियौं। तर, ऊ भोलिपल्ट पनि कार्यक्रम हेर्न आयो। अनि, हामीले त्यही संवाद यसरी भन्यौं ः
'पञ्चनारायणजी तपाईं कति सालमा जन्मेको ?'
'२०१६ र २०१८ सालको बीचमा।'
यसमा पनि उसले आपत्ति जनायो।
'तपाईंले २०१७ साल भन्दिना भनेर कागज गरेको होइन ?' उसले भन्यो। हामीले पनि भन्दियौं, 'हामीले २०१७ साल कहाँ भनेका छौं त। २०१६ र २०१८ सालको बीचमा भन्दिना भनेर त कागज गरेका छैनौं नि।'
त्यसपछि उसले त्यो कार्यक्रममै प्रतिबन्ध लगायो।
पछि विराटनगरमा पनि यस्तै किचलो झिकेर कार्यक्रम गर्न दिइएन।
रसरंग कार्यक्रमको एउटा घटना पनि छ। त्यसका लागि एकचोटि 'बिजी डिजी' भन्ने कार्यक्रम बनाएका थियौं। अहिले हेर्दा खासै व्यंग्य देख्दैनौं। खाली एकजना हाकिमको क्यारिकेचर गरेर ऊ कस्ता-कस्ता काममा व्यस्त रहन्छ भन्ने देखाएका थियौं। तर, त्यही कार्यक्रम पनि सुरुमा देखाउन दिइएन। पछि रसरंगका लागि अर्को कुनै कार्यक्रम नै नभएपछि त्यही बिजी डिजी देखाउने निर्णय भयो। यसले योभन्दा बढी व्यंग्य गर्न हामीलाई बाटो खोल्यो।
प्रजातन्त्र आएपछि यसमा केही सुधार आयो होला नि ?
पञ्चायतको समयमा निर्धक्क बोल्ने वातावरण थिएन। हामीले नै बोल्ने वातावरण बनाउनुपथ्र्यो। २०४६ पछि बोल्ने वातावरण बन्यो। त्यसपछि सरकार र यहाँको सिस्टमलाई व्यंग्य गर्न गाईजात्रा नै कुनुपर्ने अवस्था रहेन। त्यतिखेर बोलेको कुराले त्यति स्वाद दिन पनि छोड्यो। त्यही भएर हामी अहिले व्यंग्यसागै कलात्मक प्रस्तुतितर्फ ध्यान दिइरहेका छौं। जस्तो, 'सालिक' प्रहसनमा साउन्ड इफेक्ट्स, स्टेज डेकोरेसनजस्ता विषयमा हामीले निकै ध्यान दियौं। हङकङमा यो प्रहसन लिएर जाँदा न्युरोडको जुद्ध सालिकजस्तै मूर्ति बनाएर लगेका थियौं। र्फकंदा फिर्ता ल्याउन सकिएन।
२०४६ पछि आएको अर्को परिवर्तन टेलिभिजन क्रान्ति पनि हो। यसले एकैचोटिमा हजारौं, लाखौं दर्शकले कार्यक्रम हेर्न पाउने भए। रेडियो र रंगमञ्चको प्रभावकारिता घट्यो। त्यही भएर हामी पनि त्यसतर्फ लाग्यौं। तर, सेन्सरमा प्रजातन्त्रपछि पनि कमीचाहिँ आएन। सुरुमा सरकारी टेलिभिजन मात्र भएकाले त्यसमा व्यंग्यले खासै स्थान पाएन। सरकारले आफ्नो पक्ष मजबुत राख्न कार्यक्रममा कडा सेन्सर जारी राख्यो। राजनीतिक सन्देश दिन सकिएन। हामी सामाजिक जागरणका सन्देशतिर ढल्कनुको मुख्य कारण यो पनि हो।
२०४६ पछि राजनीतिक व्यंग्य नगर्नुको कारण यही मात्र हो त ?
अर्को कारण पनि छ। बहुदलका नेताहरूलाई हामी इज्जत गर्छौं। उनीहरूमा हामीले प्रजातन्त्र र देशको भविष्य देखेका छौं। उनीहरूको विकल्प पनि छैन। त्यसैले व्यंग्य गर्न गाह्रो छ। उनीहरूको इज्जत गए, प्रजातन्त्रको इज्जत जान्छ। उनीहरू असफल हुँदा हामी पनि असफल हुन्छौं। अझै पनि मान्छेहरू अहिलेको अस्तव्यस्त सामाजिक-राजनीतिक अवस्था देखाउँदै हाम्रो खिसी गर्छन्। 'तिमीहरूले चाहेको बहुदल यही हो त' भन्दै जिस्क्याउँछन्। बहुदलवादी नेताहरूप्रतिको यही झुकावका कारण हामीले अलि कडा रूपमा व्यंग्य गर्न सकेनौं जस्तो लाग्छ। प्रजातन्त्रका अभिभावकलाई कसरी बदनाम गर्ने ? आफूले अभिभावक मानेको मान्छेलाई व्यंग्य गर्न त गाह्रो हुन्छ नि।
अहिले व्यंग्य साहित्यको स्थिति कस्तो देख्नुहुन्छ ?
हास्यव्यंग्यका दर्शक/स्रोता बढेका छन्। टेलिभिजन च्यानलहरूमा हास्य कार्यक्रमको संख्या बढ्नुले यही देखाउँछ। तर, राजनीतिक व्यंग्यमा हामी पछाडि परेका छौं। टेलिभिजनमा यस्ता प्रस्तुतिहरू आउन सकेका छैनन्। बढी हल्काफुल्का कार्यक्रममा हामी केन्दि्रत भइरहेका छौं। दर्शकहरूले पनि त्यस्तै कार्यक्रम मन पराइरहेका छन् जस्तो लाग्छ।
अन्य साहित्यको दाँजोमा व्यंग्य साहित्यको स्थिति कस्तो छ ?
अधिकांश साहित्यकार हास्यव्यंग्यकारलाई साहित्यको चकटीमा राख्नै चाहादैनन्। हाम्रो काम पनि साहित्य नै हो भन्ने कुरा उनीहरू स्वीकार गर्दैनन्। यो पनि साहित्य नै हो, मञ्चन गर्न मिल्ने साहित्य। हामी पनि अरू साहित्यकारजस्तै शब्दका केस्राकेस्रा छाँटेर लेख्छौं। त्यसलाई सच्याउँछौं। फेरि सच्याउँछौं। रंगमञ्चमा लैजानुअघि रिहर्सल गछौं। तबमात्र त्यो साहित्य अक्षरबाट प्रहसनका रूपमा मञ्चन हुन्छ। तर, उनीहरू हाम्रो प्रदर्शनी मात्र देख्छन् र साहित्य विधाबाट अलग राख्न खोज्छन्।
तर, साहित्यलाई रंगमञ्चमा लैजाँदा यसको व्यावसायिकतामा सघाउ पुग्छ। आज लेखक भन्नेबित्तिकै दुःखी मान्छे भन्ने छाप परेको छ। सबैले आफ्नो साहित्यलाई रंगमञ्चको स्वरूप दिने हो भने पैसा नभएर छट्पटिनु पर्दैन। अरू साहित्यकार आफ्नो लेखन सिर्जनालाई रंगमञ्चको स्वरूप दिन सक्छन्। हामीचाहिँ रंगमञ्चबाट पुस्तकतिर आउन खोजिरहेका छौं। हाम्रा सबै प्रहसनको पाण्डुलिपि तयार हुँदैछ। त्यसलाई किताबका रूपमा निकाल्ने सोच छ।
व्यंग्य साहित्य सिर्जना गर्दा केमा ध्यान दिनुपर्छ ?
विषय उही हुन्। हामीले पनि यही समाजबाट आफूले देखेभोगेकै विषय उठाउने हो। अरू साहित्यकारका विषय पनि आकासबाट झर्ने होइनन्। तर, प्रस्तुतिको भिन्नता छ। हास्यव्यंग्य भन्नासाथ तपाईंले विषयवस्तुलाई अलि फरक ढंगले सोच्नुपर्छ। अफट्रयाक हास्यव्यंग्यको विशेषता हो- अरू सुल्टोबाट सोच्छन्, हामी उल्टोबाट। अरूले जस्तै लेखे त को हाँस्छ ? अरूको हाँसो र मनोरञ्जनमै हाम्रो सफलता टिकेको छ। हासाउने भन्दैमा फेरि जे पायो त्यही भनेर हासाउने कुरा पनि भएन। विषयवस्तुको छनौट त गम्भीर हुनैपर्यो। यसका लागि हास्यव्यंग्य लेखकहरू आफै उट्पट्याङ हुनुपर्छ। अरू सबै विद्वान् छन्, हामीचाहिँ मुर्ख छौं भनेर देखाउनुपर्छ। जुनसुकै विषयलाई पनि उल्टोबाट सोच्ने र उल्टैबाट भन्ने तरिका अपनाउनुपर्छ। तर दर्शकले चाहिँ बुझ्नुपर्यो है !
जस्तो, यमलोककै कुरा गरौं न। त्यसमा हामीले भनेका थियौं, 'नेपालमा न्याय छैन, कहाँ गयो, कहाँ गयो भन्या त यहाँ आइपुग्या रै'छ।'
'म विकास, मरेर आएको।'
'यहाँको हिजोको त्यहाँ पोहोर, यहाँको अस्तिको त्यहाँ परार ... ३६ साल, ३६ साल ... साल-सालको हामीलाई मतलब छैन, हामीलाई त सिर्फ कालसँग मतलब छ।'
यसमा त्यतिखेर हामीले नेपालकै समसामयिक विषय उठाएका थियौं। नेपालमा न्याय छैन, विकास छैन, ३६ सालको घटना- यस्ता प्रसंग अलि उल्टो ढंगले प्रस्तुत गरेका थियौं। न्याय भनेको भौतिक रूपमा मरेको देखिँदैन। तर, हामीले नेपालको त्यही न्याय मरेर यमलोक पुगेको प्रसंग उठायौं। जनताले त्यसलाई सजिलै बुझिहाले।
'अंशबण्डा' प्रहसनको कुरा। त्यसमा एउटा संवाद छ ः 'नेपाली वर्णमालाबाट अ भन्ने अक्षर झिकिपाऊँ।'
'अ भन्ने अक्षर झिकेपछि अक्षरलाई के भन्ने, क्षर भन्ने ? अक्षरलाई क्षर, अस्थायीलाई स्थायी, अन्यायलाई न्याय।'
अंशबण्डामै अर्को प्रसंग पनि छ। त्यसमा दाजुभाइको सम्पत्ति भागबण्डा लगाउँदा एकजनाको भागमा राष्ट्र बैंक पर्छ। अनि ऊ भन्छ, 'राष्ट्र बैंक पो मेरो, त्यहाँको पैसा त सबै उसैको नाममा छ नि।'
देशको न्यायप्रणाली, आर्थिक स्थितिमा छेड हानिएका यस्ता प्रसंग अहिले पनि उत्तिकै सान्दर्भिक छन्। यस्तै प्रस्तुतिले हास्यव्यंग्यलाई बढी यथार्थ बनाउँछ।
अचेल तपाईंहरू सामाजिक काममा बढी देखिनुहुन्छ नि ?
साँचो हो। यसको कारण छ। २०४६ अघि तत्कालीन व्यवस्थाले हामीलाई विपक्षीका रूपमा लियो भने प्रतिबन्धित विपक्षी राजनीतिक दलका नेताहरूले आफ्नो साथीका रूपमा। यसले हाम्रो सामाजिक जिम्मेवारी बढेको थियो। प्रजातन्त्रपछि पनि जनताले हामीसँग बढी नै अपेक्षा गर्न थाले। यी सब हेर्दा हामीलाई एउटै विषयमा सीमित नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्दै जानुपर्छ भन्ने लाग्यो। र, हामीले त्यही गर्यौं।
अर्को कुरा, यस्ता सन्देशमूलक कार्यक्रमले आर्थिक उपार्जन पनि हुन थाल्यो। पहिले कार्यक्रम गर्दा घरबाटै पैसा लगाउनुपथ्र्यो, पछि अलिअलि पैसा बच्न थाल्यो। सामाजिक स्तरमा यसको प्रभाव पनि बढी देखियो। जस्तो, हामीले एचआइभी एड्सको विषयमा 'रात' सिरियल बनाउँदा धेरै कमलाई यो रोगबारे जानकारी थियो। महिलाहरू त एड्स भन्नेबित्तिकै लाजले रातोपिरो हुन्थे। रात सिरियल आएपछि यसबारे बहसको थालनी भयो।
कुष्ठरोगको विषयमा बनाएको 'ओहो' भन्ने टेलिफिल्म प्रसारणपछि १ लाख १० हजार जना व्यक्ति आफ्नो छाला जचाउन गए। त्यसमध्ये १४ हजार जनामा रोग फेला पर्यो।
नेपालमा संविधानसभाको चुनाव हुन्छ कि हुन्न भन्ने अन्योल रहेका बेला हामी यो विषयमा टेलिफिल्म बनाउने प्रस्ताव लिएर निर्वाचन आयोग गयौं। त्यतिखेर निर्वाचन आयुक्त भोजराज पोखरेलले 'हामी कुवा खोज्दै जानुपर्नेमा समुद्र नै हामीलाई खोज्दै आइपुग्यो' भनेर प्रतिक्रिया दिनुभएको थियो। त्यसपछि हामीले 'आमा' सिरियलमा यमलोकमा देवताहरूबीच संविधानसभाबारे छलफल भएको देखायौं। निर्वाचनको सफलतामा त्यो सिरियलको महत्वपूर्ण हात थियो भन्ने कुरा निर्वाचन आयोगले पनि स्वीकार गरेको छ।
शिक्षा क्षेत्रमा पनि उत्तिकै संलग्नता छ।
यसको सुरुवात जनआन्दोलन २०६२/६३ देखि भयो। गणतन्त्र प्राप्ति हाम्रो अन्तिम आन्दोलन हो भन्ने हामीलाई लाग्यो। गणतन्त्रभन्दा पर गएर जनगणतन्त्र ल्याउनु हाम्रो उद्देश्य होइन। हामीले जे भए पनि अहिलेकै प्रणालीलाई परिस्कृत तुल्याउँदै लैजानुपर्छ। त्यसैले, जनआन्दोलनको समयमा घाइतेको उपचारका लागि हामीले आफ्नो तर्फबाट एक लाख रुपैयाँ राखेर कोष खडा गर्यौं। यसले व्यापक प्रचार पायो। जतिले कोषमा रकम हाले, तिनले लोकतन्त्रको पक्षमा मत दिएका हुन् भन्ने हाम्रो बुझाइ छ। त्यतिखेर पाँच हजारजना घाइतेको उपचार यही कोषबाट भयो। मधेस आन्दोलनमा पनि कोषले धेरै घाइतेको उपचार गर्यो। पछि हामीले त्यही कोषबाट बाढीपहिरो पीडितको उद्धार र अन्य सामाजिक कार्य पनि गर्यौं। समता स्कुलका माध्यमबाट शिक्षा क्षेत्रमा हाम्रो संलग्नता त्यसैको निरन्तरता हो। आज यो स्कुलले धेरै राम्रो गरेको छ। अंग्रेजी बोर्डिङ स्कुलहरूले स्तरीय शिक्षा दिएका छन्। तर, सबैको त्यहाँ पढ्ने हैसियत हुन्न। त्यस्ता विद्यार्थीलाई स्तरीय शिक्षा दिलाउनु नै समताको उद्देश्य हो। हामी भाग्यमानी हौं। कमै मान्छेले मात्र यति महत्वपूर्ण काममा योगदान गर्ने अवसर पाउँछन्।
महका प्रहसनलाई पुस्तकका रूपमा प्रकाशन गर्ने तयारीबारे अलि विस्तृत रूपमा सुनौं न ?
खासमा यसको सुरुवात धेरै अघि भएको हो। एकचोटि जापानकी 'यामामोतो मायमी' हाम्रो आँखाबाट नेपालको सामाजिक र राजनीतिक अवस्थाबारे थेसिस लेख्न नेपाल आएकी थिइन्। उनले हामीसँग गफ गरेर किताबै लेखेकी छन्। त्यतिखेर उनले अध्ययनका सिलसिलामा सबै प्रहसन सारेर हाम्रो टेबलमा राखिदिँदै भनिन्, 'ल लिनुस्। यसबाट किताब निकाल्नुस्।' पछि 'महसन' नाममा हाम्रा केही प्रहसनका किताब पनि निक्ले। अहिलेको यो तयारी त्यसैको परिस्कृत र विस्तृत रूप हो। सबै प्रहसनलाई कागजमा उतारेर त्यसको सम्पादन गरी किताबको रूप दिन खोजिरहेका छौं।
भर्खरै सार्वजनिक भएको 'मह' कमिक्सबाट कस्तो प्रतिक्रिया पाइरहुनभएको छ त ?
यो एकदमै सरल र सामान्य कथावस्तुमा आधारित छ। खासै सन्देश छैन। साधारण पाठकले पनि बुझ्ने। अप्ठ्यारा विषय र छाडा कुरा छैनन्। त्यसैले, सबै वर्गका पाठकले मन पराउँछन् भन्ने लागेको छ।
अन्त्यमा, गाईजात्राको अवसरमा केही कुरा राख्न चाहनुहुन्छ ?
यो हास्यव्यंग्यमा आधारित संसारकै सबभन्दा पुरानो पर्व हो जस्तो लाग्छ। यसले आपसी भाइचारा र सद्भावको पनि प्रतिनिधित्व गर्छ।
एकचोटि हामी विदेश गइरहेका थियौं। एयरपोर्टमा एकजना प्रहरीले हामीलाई भने, 'दाइ, तपाईंहरू विदेशबाट र्फकनुस्, है ! तपाईं नभए त यो देश सुन्य हुन्छ।' हामीले पाएको यो माया यही हास्यव्यंग्य विधाकै उपज हो। र, हामी सबै हास्यव्यंग्यमा लागेका सर्जकका लागि गाईजात्रा एउटा ठूलो पर्व हो, सिर्जना अभिव्यक्तिको। तैपनि, दुःखको कुराचाहिँ यसपालि हलको समस्याले कार्यक्रम गर्न पाएनौं। बैशाखतिर महजात्रा लिएर आउँदैछौं। प्रतीक्षा गर्नुहोला।
प्रकाशित: २३ श्रावण २०६६ २१:३४ शुक्रबार


