पछिल्ला दुई वर्षमा अमेरिका र भारतबीचको सम्बन्ध पूर्ण रूपमा बदलिएको छ। यो आफैँमा निकै चकित पार्ने घाटना हो। दुई वर्षअघि मात्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई ह्वाइट हाउसमा निकै उत्साहजनक स्वागत गरिएको थियो।
अमेरिकी संसदमा उनको भाषणलाई तालीको गडगडाहटले स्वागत गरिएको थियो। अनेक हिसाबले विश्व विभाजित भइरहेको परिदृश्यमा भारत–अमेरिका एक विश्वासिलो साझेदार भएको सन्देश प्रवाह भएको थियो।
राष्ट्रपति जो बाइडनले दुई रणनीतिक कारणले मोदीलाई खुलेर स्वागत गरेका थिए। पहिलो, भारतले युक्रेनमा रूसको आक्रमणबारे स्पष्ट र कडा धारणा लियोस् भन्ने अमेरिका चाहन्थ्यो। दोस्रो कारण, भारतलाई चीनको बढ्दो प्रभावको सामना गर्ने गठबन्धनमा सामेल गराउनु थियो।
तर अहिले परिस्थिति पूरै फेरिएको छ। दुई वर्षअघि भारत अमेरिकाको केवल साझेदार नभएर एशियामा लोकतन्त्रको मजबुत स्तम्भको रूपमा चित्रित गरिएको थियो।
तर पछिल्लो व्यापार युद्धले अल्पकालमा भारतलाई नोक्सान पुर्याउला, तर यसबाट अमेरिका चीनविरुद्धको आफ्नो एक सशक्त साझेदार गुमाउन सक्ने देखिएको छ। ट्रम्पले भारतलाई ५० प्रतिशत भन्सार महसुल लगाउने घोषण गरेका छन्। भारत सरकारले यसलाई ‘अनावश्यक र तर्कहीन’ भनेको छ।
भारतीय निर्यात महासंघले अमेरिकाको यो निर्णयलाई ‘अत्यन्तै अचम्मलाग्दो’ भनेको छ। दिल्लीस्थित थिंक ट्यांक ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभका अनुसार भारतको अमेरिका तर्फको निर्यात ४०–५० प्रतिशतसम्म घट्न सक्छ।
उक्त संस्थाका संस्थापक अजय श्रीवास्तव, ‘भारतले संयम अपनाउनुपर्ने र धम्की वा अविश्वासको वातावरणमा संवाद सम्भव नहुने’ बताउँछन्।
बेजिङस्थित राजनीतिक विज्ञ प्राध्यापक हुआङ हुआ भन्छन्, ‘ट्रंपको भन्सार नीति दूरदर्शी छैन। यसले भारतलाई हानी गर्छ, तर अमेरिकालाई झनै बढी नोक्सान हुन्छ।’
उनी भन्छन्, ‘भारत र चीन मिलेर अमेरिकी दबाबको सामना गर्न सक्छन्।’
यसैविच, प्रधानमन्त्री मोदी शंघाई कोअपरेशन अर्गनाइजेशनको सम्मेलनमा चीन जान सक्ने अनुमान छ। यस्तो अवस्थामा राष्ट्रपति सि जिनपिङसँग एउटै मञ्च साझा गर्नुले भारत दबाबमा नझुक्ने मुलुक हो भन्ने सन्देश प्रावाहित हुनेछ।
अब ट्रम्पको दोस्रो कार्यकालमा भारतलाई ‘रेड कार्पेट’ स्वागतको अपेक्षा गर्न कठिन देखिन्छ। ब्राजिलपछि अब भारतमाथि पनि ५० प्रतिशत भन्सार दर लागु भएको छ।
ट्रम्प भन्छन्, ‘भारतले रूसी तेलको आयात निरन्तर जारी राखेकाले अमेरिका रूसलाई अलग राख्न असफल हुँदैछ।'
यता, भारतले संयमित प्रतिक्रिया दिएको छ। भारतीय विदेश मन्त्रालयले यस निर्णयलाई ‘अनुचित र आधारहीन’ भनेको छ।
ट्रम्पले राष्ट्रपति भएपछि घोषणा गरेका थिए कि २४ घण्टाभित्र युक्रेन–रूस युद्ध रोकिनेछ, तर सात महिना बित्दा पनि त्यस्तो भएन। अब भारतमाथि भन्सार महसुल थोपरेर त्यो असफलताबाट अन्यत्र ध्यान मोड्न खोजिएको विश्लेषकको भनाइ छ। पूर्व कूटनीतिज्ञ शरद सभरवाल भन्छन्, ‘ट्रम्पले अघिल्लो कार्यकालमा धेरै निर्णय हडबडमा गरे र फेरि फिर्ता लिए।’
प्राध्यापक हुआङ हुआ भन्छन्, ‘ट्रम्पको दबाबमा नपर्न भारत र चीनबीचको सम्बन्ध बलियो बनाउनु उपयुक्त हुनेछ। मोदीको सम्भावित चीन भ्रमणले त्यसतर्फ संकेत गर्न सक्छ।’
यसबिचमा भारतलाई थप चिन्तित बनाउनसक्ने विषय भनेको पाकिस्तानसँग अमेरिकाको बढ्दो नजिकपन हो।
पाकिस्तानका लागि भारतका पूर्व राजदूत सिभरवाल भन्छन्, ‘अहिले पनि अमेरिकाले पाकिस्तानसँग ‘लेनदेन आधारित’ सम्बन्ध बनाइरहेको देखिन्छ।’
त्यसो त, रक्षा, प्रविधि, शिक्षा र गुप्तचर क्षेत्रमा भारत–अमेरिका सम्बन्ध अझै बलियो छ। तर सम्बन्धको आधार सम्मान हो- र अहिले त्यही आपसी सम्मानको परीक्षा भइरहेको छ।
विश्लेषकका अनुसार यदि ट्रम्प यही बाटोमा हिँडिरहे भने उनी अमेरिका लागि एउटा यस्तो साझेदार गुमाउन सक्छन् जसले विश्व शक्तिको सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।
भारतले चीनप्रति झुकाव राखे पनि अथवा नराखेपनि, उ अब एउटा स्वतन्त्र र सन्तुलित धारणा लिन बाध्य हुनेछ- त्यतिबेला अमेरिकाको प्रभाव घट्न सक्छ।
अहिलेको अवस्थामा बल ट्रम्पको कोर्टमा छ। (बिबिसीबाट साभार)
प्रकाशित: २२ श्रावण २०८२ १२:१५ बिहीबार



