अन्तर्राष्ट्रिय

अमेरिका-इरान तनाव : ट्रम्पले वार्ताको संकेत दिएसँगै घट्यो तेलको मूल्य

फाइल तस्बिर

अमेरिका-इरान द्वन्द्वबिच मध्यपूर्वमा आपूर्ति चिन्ता केही कम भएपछि शुक्रबार कच्चा तेलको मूल्य घटेको छ।

साउदी अरेबियाले पाइपलाइनमा भएको क्षतिपछि एसियाली रिफाइनरहरूलाई वैकल्पिक मार्गबाट तेल आपूर्ति गर्न थालेपछि बजारमा दबाब केही कम भएको हो।

ब्रेन्ट क्रुड प्रतिब्यारेल करिब १०३ डलर र अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) करिब १०१ डलरमा कारोबार भइरहेको छ। दुवै मूल्य यसै साता करिब ११० डलर पुगेका थिए।

साउदी अरेबियाले ओमानको सोहर बन्दरगाह नजिक खाडीबाहिर जहाजबाट जहाजमा तेल सारेर एसियाली रिफाइनरहरूलाई थप कच्चा तेल उपलब्ध गराउन थालेको रिपोर्टपछि आपूर्ति संकटको चिन्ता कम भएको हो। 

साउदीको पूर्व-पश्चिम पाइपलाइनमा भएको क्षति मर्मतको काम पनि जारी रहेको बताइएको छ।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिकासँग सम्झौता गर्न चाहेको तर आफूले आवश्यक ठानेका सर्त स्वीकार गर्न अझै तयार नभएको बताएका छन्।

ट्रम्पले भने, ‘इरान सम्झौता गर्न चाहन्छ, तर मेरो विचारमा उनीहरू तयार छैनन्। हामी राम्रो सम्झौता गर्नेछौं, नत्र कुनै सम्झौता गर्नेछैनौं।’ इरानी अधिकारीहरूसँग प्रत्यक्ष कुराकानी भएको दाबी ट्रम्पको छ। तर तेहरानले यस्तो सम्पर्कको विवरण सार्वजनिक रूपमा पुष्टि गरेको छैन।

यसअघि ट्रम्पले अमेरिका युद्धको ‘आशावादी रूपमा अन्त्यतिर’ रहेको बताएका थिए। उनले इरानसँगको द्वन्द्व अन्त्य गर्न कूटनीतिक प्रयासको सम्भावना रहेको संकेत गरे पनि अमेरिकाले आवश्यक परे सैन्य कारबाही पुनः सुरु गर्न वा बढाउन सक्ने चेतावनी दिँदै आएको छ।

उता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले होर्मुजको जलमार्गमा टोगोको झण्डा भएको तेल ट्यांकरमाथि प्रहार गरेको बताएको छ। उक्त ट्यांकरले ‘अवैध मार्ग’बाट अघि बढ्न खोजेको इरानको दाबी छ।

यस घटनाले होर्मुजको जलमार्गबाट हुने तेल ढुवानीमा थप जोखिम बढाएको छ। मध्यपूर्वबाट विश्व बजारमा हुने तेल आपूर्तिका लागि यो महत्त्वपूर्ण जलमार्ग मानिन्छ। एजेन्सी

प्रकाशित: २ आश्विन २०८३ ०९:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App