अन्तर्राष्ट्रिय

कुटपिटबाट युगान्डाका फुटबलर डेभिड ओवोरीको मृत्यु

युगान्डाका चर्चित फुटबलर तथा एससी भिल्लाका कप्तान डेभिड ओवोरीको कुटपिटबाट मृत्यु भएको छ। २७ वर्षीय ओवोरीलाई राजधानी कम्पालाको मकिन्द्ये क्षेत्रमा घर फर्किने क्रममा आक्रमणकारी समूहको कुटपिटमा परेका थिए।  

प्रहरीका अनुसार मंगलबार राति केही व्यक्तिले ओवोरीको मोबाइल फोन तथा व्यक्तिगत सामान लुट्ने प्रयास गरेका थिए। उनले प्रतिकार गरेपछि आक्रमणकारीले ढुंगालगायतका वस्तुले प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गम्भीर घाइते भएका ओवोरीलाई उपचारका लागि स्वास्थ्य संस्थामा लगिए पनि उनको ज्यान बचाउन सकिएन।

ओवोरी एससी भिल्लाका कप्तानका साथै युगान्डाको राष्ट्रिय टोलीसँग आबद्ध खेलाडी थिए। उनी मिडफिल्डमा खेल्थे भने आवश्यक पर्दा रक्षापंक्तिमा समेत भूमिका निर्वाह गर्दै आएका थिए। उनले एससी भिल्लालाई घरेलु फुटबलमा महत्वपूर्ण सफलता दिलाउन योगदान गरेका थिए।

ओवोरीको असामयिक निधनपछि युगान्डाको फुटबल क्षेत्रमा शोक छाएको छ। क्लब, खेलाडी तथा समर्थकहरूले उनको निधनप्रति दुःख व्यक्त गर्दै घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।

घटनाले कम्पालामा बढ्दो हिंसात्मक अपराध र खेलाडी तथा सर्वसाधारणको सुरक्षामाथि समेत प्रश्न उठाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २१ श्रावण २०८३ १६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App