चिनियाँ राष्ट्रपति सी चिनफिङलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी बुधबार संयुक्त बेस एन्ड्रयूजमा आफैं स्वागत गर्ने भएका छन्।
अमेरिकी अधिकारीका अनुसार यो दुर्लभ स्वागत हुनेछ। एएफपीका अनुसार त्यसपछि बिहीबार ह्वाइट हाउसमा दुई नेताबिच बैठक हुनेछ।
उक्त भेटमा एआई, व्यापार, इरान र ताइवानलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ। दुवै देश प्रविधिमा अग्रता हासिल गर्ने प्रतिस्पर्धामा रहेकाले एआईसम्बन्धी जोखिम र नियमनबारे पनि छलफल हुने बताइएको छ।
सी-ट्रम्प भेटको तयारी भइरहेका बेला चिनियाँ विदेशमन्त्री वाङ यीले बिहीबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग फोनवार्ता गरेका छन्। उनीहरूले दुई देशबिचको उच्चस्तरीय संवाद र मध्यपूर्वको अवस्थालगायत विषयमा छलफल गरेका हुन्।
ट्रम्पले पत्रकारसँग आफूले सीसँग ‘लगभग सबै कुराका बारेमा छलफल गर्ने’ बताएका छन्। तर विज्ञहरूले भेटबाट ठूला सहमति हुनेभन्दा यसअघिको व्यापार युद्धविरामलाई निरन्तरता दिने विषयमा बढी ध्यान जाने बताए।
इरानसँगको अमेरिकी तनाव पनि भेटको महत्वपूर्ण विषय बन्नेछ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चिनियाँ उपप्रधानमन्त्री हे लाइफेङसँग शिखर बैठकअघि छलफल गर्ने कार्यक्रम छ।
व्यापारतर्फ शुल्क, कृषि सामग्रीको खरिद र केही निर्यात नियन्त्रणमा प्रगति हुन सक्ने बताइएको छ। हङकङका जेलमा रहेका प्रजातन्त्र समर्थक व्यवसायी जिमी लाइको रिहाइको विषय पनि छलफलमा उठ्न सक्ने अपेक्षा छ।
ताइवान पनि दुई देशबिचको संवेदनशील विषयका रूपमा रहनेछ। चीनले ताइवानलाई आफ्नो क्षेत्र दाबी गर्दै आएको छ भने अमेरिकाले त्यहाँको सुरक्षामा चासो राख्दै आएको छ।
भेटका क्रममा आगामी उच्चस्तरीय भेटघाटबारे पनि घोषणा हुन सक्नेछ। ट्रम्प र सी नोभेम्बरमा चीनको शेन्जेनमा हुने एपेक सम्मेलनमा भेट्ने अपेक्षा गरिएको छ।
डिसेम्बरमा अमेरिकामा हुने जी-२० शिखर सम्मेलनमा पनि सीलाई आमन्त्रण गर्ने तयारी छ। एजेन्सीको सहयोगमा
प्रकाशित: २ आश्विन २०८३ ०७:५९ शुक्रबार



