आज नोभेम्बरको दोस्रो बिहीबार करिब ३५ मिनेटको लागि दक्षिण कोरिया पूरै मौन रहने भएको छ। देशका विश्वविद्यालयहरूमा प्रवेश परीक्षाको शान्त वातावरणमा सम्पन्न होस् भन्ने उद्देश्यले यो अभूतपूर्व ‘राष्ट्रिय मौनता’ कायम गरिँदैछ।
कोरियाली समय अनुसार बिहान ८:४० बाट साँझ ५:४० बजेसम्म करिब ९ घण्टा सञ्चालन गरिने यो प्रवेश परीक्षाको सबैभन्दा महत्त्वपूर्ण भाग दिउँसो १:१० देखि १:३५ सम्म हुने अंग्रेजी सुनाई परीक्षा हो। परिक्षार्थीहरूलाई कुनै पनि प्रकारको सुनाई अवरोध नहोस् र मानसिक तयारीका लागि पर्याप्त समय मिलोस् भन्नका लागि दिउँसो १:०५ देखि १:४० बजेसम्म कोरिया लगभग श्वासप्रश्वास समेत रोकेर बसे जस्तै गरी मौन रहन्छ। यो ३५ मिनेटको अवधिमा सरकारले देशव्यापी रूपमा मौनता कायम गर्ने गरेको छ।
यस अवधिमा सबै विमानस्थलहरूले उडान र अवतरण रोक्नुको साथै अवतरणको तयारीमा रहेका विमानहरू आकाशमै चक्कर लगाएर करिब ३ किलोमिटर उचाइमा पर्खिन्छन्। त्यसैगरी बस र रेलहरूको गति घट्छन् भने हर्न समेत बजाउँदैनन्। साथै विकास निमार्णका ठूला कार्यहरू रोकिनुको साथै सेनाले तोप अभ्यास अस्थायी रूपमा स्थगित गर्छन्।
विश्वका कुनै पनि देशमा यस्तो ‘राष्ट्रिय मौनताको क्षण’ नहुने भएपनि दक्षिण कोरियामा यो विश्वविद्यालय प्रवेश परीक्षा केवल विद्यार्थीहरूको लागि मात्र होइन, कोरियाली समाज र संस्कृति कै लागि एउटा साझा दिवस बनेको छ। साधारण नागरिकदेखि राज्यसम्म सबैले विद्यार्थीहरूले शान्त र राम्रो वातावरणमा परीक्षा दिन सकून् भन्ने उद्देश्यले सन् १९९४ देखी ‘राष्ट्रिय मौनताको क्षण’ सुरु गरिएको हो। एजेन्सी
प्रकाशित: २७ कार्तिक २०८२ १०:१७ बिहीबार



