सिलिन्डर संकटको मुद्दालाई लिएर बिहीबार भारतको लोकसभा स्थगित भएको छ।
बिहान ११ बजे कारबाही सुरु हुने बित्तिकै विपक्षी सांसदहरूले नाराबाजी गर्न थालेपछि संसद् केहीबेरलाई स्थगित गरिएको दैनिक भास्करले उल्लेख गरेको छ।
सभामुख ओम बिर्लाले सांसदहरूलाई कारबाही सुरु गर्न आग्रह गर्दा विपक्षीले अस्वीकार गरेपछि दिउँसो १२ बजेसम्मका लागि स्थगित गरेको हो।
यसैबीच, राहुल गान्धीलगायत विपक्षी सांसदहरूले संसद परिसरमा सिलिन्डर संकटको विरोध गरेका छन्। उनीहरूले 'नरेन्द्र भी गायब, सिलिन्डर भी गायब' भन्ने नारा लगाएका छन्।
राहुल गान्धीले भने, 'प्रधानमन्त्रीले आत्तिनु पर्दैन भन्छन्। तर उनी आफैँ आत्तिएको देखिन्छ। उनी एपस्टाइन–अदानी प्रकरणका कारण आत्तिएका छन्। हिजो सदन भित्र प्रधानमन्त्रीको कुर्सी खाली थियो। उनी देशलाई नआत्तिन भनिरहेका छन् जबकि उनी आफैँ चिन्तित देखिएका छन्।'
प्रकाशित: २८ फाल्गुन २०८२ १२:०७ बिहीबार