अन्तर्राष्ट्रिय

इजरायलको चुनावमा नेतान्याहू अगाडि, सरकार गठनमा अरब दल निर्णायक बन्न सक्ने

इजरायलको चुनावी मतगणनामा बेन्जामिन नेतान्याहू समर्थक दलहरू अगाडि देखिएका छन्।

तर विपक्षी नेता गादी आइसेनकोटको समूहले पनि प्रतिस्पर्धा कायम राखेकाले नयाँ सरकार कसले बनाउने भन्ने अन्योल छ। अहिलेकै नतिजा कायम रहे सरकार गठनमा अरब दलहरूको समर्थन निर्णायक हुन सक्ने देखिएको छ।

स्थानीय समयअनुसार बिहान १०:०३ बजेसम्म ७२.४ प्रतिशत मतगणना सकिएको छ। आंशिक नतिजाअनुसार नेतान्याहू समर्थक समूहले ५४ सिट र आइसेनकोट नेतृत्वको समूहले ४८ सिट पाउने देखिएको छ। अरब दलहरूले भने १८ सिट पाउने अनुमान गरिएको छ।

इजरायली संसद् नेसेटमा १२० सिट छन्। सरकार बनाउन कम्तीमा ६१ सिटको समर्थन आवश्यक पर्छ। अहिलेसम्म कुनै पनि समूहले स्पष्ट बहुमत पाएको छैन। बाँकी मतगणना र दलहरूबिचको सहकार्यले सरकार गठनको अवस्था निर्धारण गर्नेछ।

यसैबिच, डेमोक्र्याट पार्टीका नेता यायर गोलानले आइसेनकोट नेतृत्वको समूहलाई अरब दलहरूसँग सहकार्य गरेर सरकार बनाउन आह्वान गरेका छन्।

‘नेतान्याहू हारे। मलाई १२० सम्म कसरी गणना गर्ने थाहा छ। ६५ भनेको ५५ भन्दा बढी हो। इजरायली लोकतन्त्र यसरी नै चल्छ,’ गोलानले सामाजिक सञ्जाल एक्समा लेखेका छन्। उनले यहूदी र अरब समुदायबिच विभाजन बढाउने राजनीति अन्त्य गर्दै सबै नागरिकलाई समेट्ने सरकार बनाउनुपर्ने बताएका छन्।

चुनावी नतिजाले इजरायलको अर्थतन्त्रमा समेत प्रभाव पारेको छ। सरकार गठनबारे अनिश्चितता बढेसँगै अमेरिकी डलरको तुलनामा इजरायली मुद्रा शेकेल ०.७ प्रतिशतले कमजोर हुँदै एक डलर बराबर ३.०७६५ शेकेलमा झरेको समाचारमा उल्लेख छ।

मतगणना जारी रहेकाले अन्तिम नतिजा परिवर्तन हुन सक्छ। सैनिकसहित केही मतदाताले खसालेका मत पछि गणना गरिनेछ।

प्रकाशित: ११ कार्तिक २०८३ १४:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App