अन्तर्राष्ट्रिय

पत्नी र तीन सन्तानको ह'त्यापछि आफैँलाई हाने गोली

अमेरिकाको फ्लोरिडामा बिहीबार एक व्यक्तिले आफ्नै परिवारका सदस्यहरूको हत्या गरेका छन्। उनले पहिले आफ्ना तीन साना सन्तानलाई गोली हानेर हत्या गरे। त्यसपछि पत्नीको हत्या गरी अन्त्यमा आफैँलाई पनि गोली हाने।

यस क्रममा घरबाट गरिएको ९११ (आपत्कालीन सेवा) मा आएको फोनमा एक बालकको आवाज सुनिएको थियो। उनी पटक–पटक ‘बुबा, मलाई गोली नहान्नुहोस्...बुबा, मलाई नमार्नुहोस्’ भन्दै गुहार मागिरहेका थिए। मारिएका बालबालिकाको उमेर एक, तीन र पाँच वर्ष थियो।

हिल्सबरो काउन्टीका शेरिफ चाड क्रोनिस्टरका अनुसार बिहीबार दिउँसो प्रहरीलाई परिवारको घरबाट ९११ मा फोन आएको थियो। फोनमा कसैले केही बोलिरहेको थिएन, तर कल भने खुला थियो।

त्यस क्रममा आपत्कालीन सेवा केन्द्रका कर्मचारीले एक पुरुषको आवाज सुने। उनले ‘माफ गर, साथी’ भनेको सुनिएको थियो। त्यसको केही समयमै गोली चलेको जस्तो ठूलो आवाज आएको थियो।

शेरिफका अनुसार केही बेरपछि फोनमा एक सानो बालकले ज्यान बचाउन गुहार मागेको सुनिएको थियो। प्रहरी घटनास्थल पुग्दा भने परिवारका सबै सदस्यको मृत्यु भइसकेको थियो।

शेरिफले ९११ मा फोन आएको करिब १० मिनेटपछि प्रहरी घर पुगेको बताए। घरभित्र एक बालक अचेत अवस्थामा भेटिएका थिए। प्रहरीले घरको मूल ढोका फुटाएर भित्र प्रवेश गर्दा निकै ढिलो भइसकेको थियो।

शेरिफका अनुसार उक्त परिवार करिब एक वर्षदेखि प्लान्ट सिटीस्थित घरमा बस्दै आएको थियो। यस अवधिमा उनीहरूको घरबाट प्रहरीमा कुनै उजुरी परेको थिएन। न त सहयोगका लागि कुनै फोन नै आएको थियो।

श्रीमान् र श्रीमती दुवैको आपराधिक पृष्ठभूमि पनि थिएन।

शेरिफले यस्तो घटना कसरी हुन सक्छ भन्ने बुझ्न कठिन भएको बताए। घटनाले प्रहरी कर्मचारी र ९११ मा आएको फोन सुन्ने आपत्कालीन सेवा केन्द्रका कर्मचारीलाई समेत गम्भीर मानसिक असर पारेको छ। उनीहरूलाई केही समय बिदा दिइएको छ भने आवश्यक मनोसामाजिक सहयोगसमेत उपलब्ध गराइएको छ।

यस वर्ष अमेरिकामा भएका गोलीकाण्डका चार ठूला घटना

१९ अप्रिल – श्रेभपोर्ट, लुइजियाना: एक पिताले आफ्ना सात सन्तानसहित आठ बालबालिकाको गोली हानेर हत्या गरेका थिए। घटनामा दुई महिला घाइते भएका थिए। प्रहरीले पिछा गरेपछि आरोपितलाई गोली हानेर मारेको थियो।

२३ अगस्ट – बिलिङ्स, मोन्टाना: एक व्यक्तिले घरमा परिवारसँग खाना खाइरहेका बेला आफ्ना आठ जना आफन्तको गोली हानेर हत्या गरेका थिए। मृत्यु हुनेमा चार बालबालिका पनि थिए। त्यसपछि उनले घरमा आगो लगाएर आफैँले पनि ज्यान दिएका थिए।

अक्टोबर – एरी, पेन्सिल्भेनिया: एक व्यक्तिले घरभित्र गोली चलाएर आठ जनाको हत्या गरेका थिए। मृत्यु हुनेमा दुई बालबालिका र एक गर्भवती महिला पनि थिए। त्यसपछि आरोपितले आफैँलाई गोली हानेका थिए।

१५ अक्टोबर – बेन्ड, ओरेगन: १६ वर्षीय किशोरले सिल्भर रेल इलिमेन्ट्री स्कुलमा गोली चलाउँदा तीन बालबालिका र एक शिक्षकको मृत्यु भएको थियो। घटनामा दुई जना घाइते भएका थिए। एक बालकका पिताले आक्रमणकारीलाई गोली हानेर रोकेका थिए।

प्रकाशित: ४ मंसिर २०८३ १३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App