बढ्दो महँगी नियन्त्रण गर्ने प्रयासस्वरूप जापानको केन्द्रीय बैंकले मुख्य ब्याजदर ३१ वर्षयताकै उच्च बिन्दुमा पुर्याएको छ।
बैंक अफ जापान (बीओजे) ले शुक्रबार अपेक्षाअनुसार ब्याजदर १ प्रतिशतबाट बढाएर १.२५ प्रतिशत पुर्याएको हो। यो सन् १९९५ पछि जापानमा कायम भएको सबैभन्दा उच्च ब्याजदर हो।
दशकौँदेखि अत्यन्त न्यून ब्याजदरको नीति अपनाउँदै आएको जापान पछिल्ला वर्षमा मुद्रास्फीति, कमजोर येन र श्रमशक्तिमा आएको कमीका कारण आर्थिक दबाबमा छ। यही परिस्थितिबीच बीओजेले सन् २०२४ देखि ब्याजदर बढाउँदै आएको छ।
बीओजेले सन् २०२४ मा नकारात्मक ब्याजदरको नीति अन्त्य गरेपछि पछिल्लो साढे दुई वर्षमा पटक–पटक ब्याजदर वृद्धि गरिसकेको छ। अन्य प्रमुख अर्थतन्त्रका केन्द्रीय बैंकहरूकै तुलनामा जापानको ब्याजदर लामो समयसम्म निकै न्यून रहँदै आएको थियो।
ब्याजदर बढ्दा सामान्यतया देशको मुद्राप्रति लगानीकर्ताको आकर्षण बढ्ने भएकाले मुद्रा बलियो हुनसक्छ। जापानले भने पछिल्लो समय कमजोर येनका कारण आयातित वस्तु तथा ऊर्जाको लागत बढ्ने चुनौतीसमेत सामना गरिरहेको छ।
बीओजेको पछिल्लो निर्णयअघि सार्वजनिक गरिएको सरकारी तथ्यांकले जापानमा मुद्रास्फीतिमा केही कमी आएको देखाएको थियो।
अगस्टमा कोर मुद्रास्फीति अघिल्लो महिनाको १.८ प्रतिशतबाट घटेर १.७ प्रतिशतमा झरेको थियो। यद्यपि, यो बीओजेको २ प्रतिशतको लक्ष्यको आसपास नै रहेको छ।
अन्तर्राष्ट्रिय मापदण्डमा जापानको मुद्रास्फीति दर निकै उच्च मानिँदैन। तर, दशकौँसम्म न्यून मुद्रास्फीति वा अपस्फीतिको सामना गरेको जापानका लागि पछिल्ला वर्षमा मूल्यवृद्धि महत्वपूर्ण आर्थिक चुनौती बनेको छ।
यस वर्ष मध्यपूर्वमा जारी इरान युद्धका कारण ऊर्जा आपूर्तिमा अवरोध उत्पन्न हुँदा विश्वव्यापी रूपमा तेल तथा ग्यासको मूल्य बढेको छ। स्ट्रेट अफ हर्मुजबाट हुने ढुवानी प्रभावित भएपछि ऊर्जा आयातमा निर्भर जापानमाथि पनि यसको असर परेको छ।
यसैबीच, येनको कमजोर अवस्थाले पनि जापानको अर्थतन्त्रमा दबाब बढाएको छ। अगस्टमा जापान र अमेरिकाले येनको तीव्र अवमूल्यन रोक्न विदेशी मुद्रा बजारमा संयुक्त हस्तक्षेप गरेको पुष्टि गरेका थिए।
जापानको अर्थ मन्त्रालय र अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले त्यतिबेला आवश्यक परे भविष्यमा पनि संयुक्त हस्तक्षेप गर्न सकिने संकेत दिएका थिए।
अमेरिकी ट्रेजरी सचिव बेसेन्टले जापानको मुद्रालाई समर्थन गर्न ब्याजदर बढाउन बीओजेमाथि दबाब दिँदै गभर्नर काजुओ उएदालाई मौद्रिक नीतिमा ‘सही काम गर्न’ आग्रह गरेका थिए।
जापानको पछिल्लो ब्याजदर वृद्धिले बढ्दो मूल्य नियन्त्रण, कमजोर येनलाई समर्थन तथा दशकौँदेखि कायम रहेको न्यून ब्याजदरको नीतिबाट बाहिरिने प्रयासलाई थप अघि बढाएको छ।
प्रकाशित: २ आश्विन २०८३ ११:१७ शुक्रबार



