इजरायलमा मंगलबार भएको राष्ट्रिय चुनावमा मतदाताको सहभागिताले दशकौंदेखिको रेकर्ड तोडेको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार साँझ ४ बजे (स्थानीय समय) सम्म ५५.७ प्रतिशत मतदाताले मतदान गरेका छन्। सन् १९७३ देखि प्रतिघण्टा मतदानको तथ्यांक राख्न थालिएयता यो समयको सहभागिता सबैभन्दा उच्च हो। सन् २०२२ को चुनावमा यही समयसम्म ४७.५ प्रतिशतले मात्र मतदान गरेका थिए।
तीन वर्षको युद्ध र अशान्तिपछि भएको चुनावमा ४० लाखभन्दा बढी मतदाताले मतदान गरिसकेका छन्। देशभर मतदान जारी रहँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सत्तारुढ लिकुड पार्टीले मतदानको समय बढाउन केन्द्रीय निर्वाचन समितिमा निवेदन दिएको छ।
शास र ओट्ज्मा येहुदित पार्टीले पनि उक्त निवेदनलाई समर्थन गरेका छन्। लिकुड र उसका सहयोगी दलले भने निवेदन दिनुको स्पष्ट कारण सार्वजनिक गरेका छैनन्।
तर, गादी आइसेनकोटको याशर पार्टीले मतदानको समय बढाउने प्रस्तावको कडा विरोध गरेको छ। पार्टीले मतदानको समय थप्नुपर्ने अवस्था देखाउने कुनै असामान्य घटना नभएको बताएको छ। साथै, नेतान्याहूले चुनावको निष्पक्षतामाथि प्रश्न उठाउने आधार तयार पार्न यस्तो प्रस्ताव ल्याएको आरोप पनि पार्टीले लगाएको छ।
यसअघि नेतान्याहूले दक्षिणपन्थी मतदातालाई मतदानमा सहभागी हुन आग्रह गरेका थिए। चुनावका क्रममा केही दलले मतदानमा अनियमितता भएको आरोप लगाए पनि केन्द्रीय निर्वाचन समितिले मतपत्रमा व्यवस्थित रूपमा धाँधली भएको प्रमाण नभेटिएको जनाएको छ। समितिका अनुसार राति १० बजे (स्थानीय समय) सम्म लाइनमा रहेका मतदाताले मतदान गर्न पाउनेछन्।
प्रकाशित: १० कार्तिक २०८३ २२:११ मंगलबार
-600x400.jpg)


