इरानले अमेरिकालाई आफ्नो सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ।
इरानले युद्ध र शान्तिबीचको अनिश्चित अवस्था स्वीकार नगर्ने स्पष्ट पार्दै कुनै पनि नयाँ आक्रमणको कडा प्रतिकार गर्ने जनाएको छ।
इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) का प्रवक्ता ब्रिगेडियर जनरल हुसेन मोहेबीले बिहीबार इरान सबै सम्भावित सैन्य परिस्थितिको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताए।
उनले पछिल्लो द्वन्द्वपछि इरानको सैन्य क्षमता विस्तार भएको र अमेरिकी सेनाका गतिविधिमाथि निरन्तर निगरानी भइरहेको दाबी गरे।
‘हामी न युद्धको अवस्था स्वीकार गर्छौं, न त युद्ध र शान्तिबीचको अनिश्चित अवस्था। युद्धको विषय एक पटक र सधैँका लागि टुङ्ग्याउनेछौँ। यसको निर्णय युद्धमैदानबाट हुनेछ वा अमेरिकाले इरानका सर्त स्वीकार गर्नुपर्नेछ’, उनले भने।
बाह्र दिने युद्धपछि इरानले हवाई प्रतिरक्षा प्रणालीलाई बलियो बनाएको र स्वदेशमै कम्तीमा तीनवटा नयाँ प्रणाली विकास गरेको उनले जानकारी दिए।
ती प्रणाली घरेलु आवश्यकताका लागि पर्याप्त हुनुका साथै निर्यातसमेत भइरहेको उनको दाबी छ। इरानले चार हजार ५०० किलोमिटरसम्मको क्षेप्यास्त्र पहुँच प्रदर्शन गरिसकेको उल्लेख गर्दै उनले अमेरिकी सैन्य अखडालाई आवश्यक परे लक्षित गर्न सक्ने बताए।
मोहेबीले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडा र पर्सियन खाडीमा अमेरिकी नौसैनिक उपस्थितिमा कमी आएको दाबी गरे।
उनका अनुसार युद्धअघि खाडीमा करिब ४० अमेरिकी युद्धपोत रहेकामा अहिले कुनै पनि छैनन्।
अमेरिकी विमानवाहक जहाज तथा अन्य युद्धपोतलाई क्षेत्रबाट ५०० देखि ७०० किलोमिटर टाढा राखिएको उनले बताए। अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणालीको भण्डारमा समेत कमी आएको उनको भनाइ छ।
अमेरिकाले पुनः आक्रमण गर्न सक्ने सम्भावनालाई इरानले गम्भीर रूपमा लिएको उल्लेख गर्दै उनले अमेरिकी सैनिक तैनाथी, विमान गतिविधि र सैन्य योजनामाथि निगरानी भइरहेको बताए।
‘हाम्रोविरुद्ध शत्रुले जस्तोसुकै कारबाही गरे पनि त्यसको जवाफ कम्तीमा तीन गुणा बढी हुनेछ’, उनले चेतावनी दिए।
इरानविरुद्ध आक्रमण गर्न आफ्नो भूभाग प्रयोग गर्न दिने कुनै पनि देश प्रतिशोधको निशानामा पर्न सक्ने उनले बताए। इरानी बाँध तथा नागरिक पूर्वाधारमाथि आक्रमण भए त्यसको पनि जवाफ दिइने उनको भनाइ छ।
अमेरिकाले स्थल आक्रमण वा हेलिकप्टरमार्फत छापा मार्ने सम्भावनालाई समेत उनले अस्वीकार गरे।
यसै वर्ष फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानका विभिन्न सहरमा संयुक्त आक्रमण गरेपछि इरानले इजरायल तथा मध्यपूर्वका अमेरिकी सैन्य अखडालाई क्षेप्यास्त्र र ड्रोनबाट लक्षित गरेको थियो।
अप्रिल ८ मा युद्धविराम लागू भए पनि त्यसपछि जुन १८ मा भएको समझदारीअनुसार आणविक कार्यक्रम र प्रतिबन्ध फुकुवासम्बन्धी अन्तिम सम्झौताका लागि तय गरिएको वार्तामा प्रगति हुन सकेको छैन।
बढ्दो तनावका बीच इरानले अहिलेको अवस्थालाई स्थायी शान्तिका रूपमा नलिएको जनाएको छ।एएनआई)
प्रकाशित: ४ मंसिर २०८३ १४:०७ शुक्रबार



