अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी इजरायल भ्रमणमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इजरायल गएका छन्। मोदी स्थानीय समय अनुसार दिउँसो पौने १ बजे बेन गुरियन विमानस्थलमा अवतरण गर्ने समाचार संस्था अलजजिराले जनाएको छ।

यो भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले इजरायली संसदमा पनि सम्बोधन गर्ने कार्यक्रम छ। परम्परागत रूपमा संसदको विशेष सत्रमा यसरी सम्बोधन गर्न दिने चलन छ। विपक्षीले मोदीको यो सम्बोधनमा सर्वोच्च अदालतका अध्यक्ष आइज्याक अमीतलाई निमन्त्रणा गर्न माग गरेका छन् तर बेन्जामिन नेतान्याहु सरकारले अमीतलाई बोलाएको छैन।

अमीतसँग नेतान्याहु सरकारको टकराव चलिरहेको छ। यस्तो अवस्थामा इजरायलका पूर्व प्रधानमन्त्री र प्रमुख विपक्षी नेता याएर लैपिडले मोदीको सम्बोधन बहिष्कार गर्ने घोषणा गरेका छन्।

वेष्ट बैंकमा इजरायलका गतिविधिलाई लिएर अरब र इस्लामिक देशहरूले कडा आलोचना गरिरहेको बेला प्रधानमन्त्री मोदीको इजरायल भ्रमण भएको छ।

प्रधानमन्त्री बनेपछि मोदीको यो दोस्रो इजरायल भ्रमण हो। यसअघि उनी सन् २०१७ मा इजरायल गएका थिए। सन् २०१७ मा मोदीको भ्रमण भारतीय प्रधानमन्त्रीको पहिलो इजरायल भ्रमण थियो। भारतीय प्रधानमन्त्री मोदीको भ्रमणपछि इजरायली समकक्षी बेन्जामिन नेतान्याहु २०१८ मा भारत पुगेका थिए।

प्रकाशित: १३ फाल्गुन २०८२ १२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App