अन्तर्राष्ट्रिय

भेनिस महोत्सव: गाजा युद्धमा मारिएकी पाँच वर्षीया हिन्दको कथा, जित्यो दोस्रो ठूलो पुरस्कार

गाजा युद्धको त्रासदीपूर्ण वास्तविकतामा आधारित ट्युनिसियाली निर्देशक कौथर बेन हानियाको वृत्तचित्र ‘द भ्वाइस अफ हिन्द रजब’ ले ८२ औं भेनिस फिल्म फेस्टिभलमा दोस्रो ठूलो पुरस्कार ‘सिल्भर लायन’ जितेको छ।

इजरायली हमलामा मारिएकी पाँच वर्षीया प्यालेस्टिनी बालिका हिन्द रजबको मार्मिक र वास्तविक कथा प्रस्तुत गर्ने यो फिल्मले विश्वको ध्यान पुनः गाजा संकटतर्फ तानेको छ।

यो वृत्तचित्र हिन्द र उनको परिवार चढेको गाडीमाथि इजरायली सेनाले गरेको आक्रमणको घटनामा केन्द्रित छ।

फिल्ममा प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीलाई हिन्दले गरेको घण्टौँ लामो फोन कलको वास्तविक अडियो रेकर्डिङ प्रयोग गरिएको छ। जसमा उनले आफू गोली लागेको गाडीमा एक्लै फसेको र डराइरहेको बताएकी थिइन्। पछि हिन्द र उनलाई उद्धार गर्न गएका दुई एम्बुलेन्स कर्मचारीहरू पनि मृत भेटिएका थिए।

बुधबार फिल्मको प्रिमियरमा २३ मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’ पाएपछि नै यसलाई पुरस्कारको प्रमुख दाबेदार मानिएको थियो। पुरस्कार ग्रहण गर्दै निर्देशक बेन हानियाले यो कथा हिन्दको मात्र नभई नरसंहार भोगिरहेको सम्पूर्ण जनताको भएको बताइन्।

उनले भनिन्, ‘सिनेमाले ती बालिकालाई फिर्ता ल्याउन सक्दैन, न त उनको पीडा मेटाउन सक्छ, तर यसले उनको आवाजलाई जीवित राख्न सक्छ र जबसम्म न्याय हुँदैन, त्यो आवाज गुन्जिरहनेछ।’

यस वर्षको भेनिस महोत्सवमा गाजा युद्धको मुद्दाले बलियो उपस्थिति जनाएको थियो। महोत्सवको सबैभन्दा प्रतिष्ठित ‘गोल्डेन लायन’ पुरस्कार जितेका अमेरिकी निर्देशक जिम जार्मुशले आफ्नो ज्याकेटमा ‘अब अति भयो‘ (Enough) लेखिएको ब्याज लगाएर इजरायलको निरन्तर आक्रमणको विरोध गरेका थिए।

त्यसैगरी, उत्कृष्ट अभिनेताको अवार्ड जितेका इटालियन कलाकार टोनी सर्भिल्लो र उत्कृष्ट निर्देशकको पुरस्कार जितेकी भारतीय फिल्म निर्माता अन्नपूर्णा रोयले पनि आफ्नो मन्तव्यमा गाजाको द्वन्द्वलाई उठाएका थिए।

निर्देशक रोयले ‘हरेक बच्चा शान्ति, स्वतन्त्रता र मुक्तिको हकदार हुन्छ, र प्यालेस्टाइन अपवाद होइन’ भन्दै प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता जनाइन्।

प्रकाशित: २२ भाद्र २०८२ १६:०४ आइतबार