अन्तर्राष्ट्रिय

नक्कली कन्डमको बिगबिगी : तस्करी गर्ने सञ्जालको पर्दाफास

एआई तस्बिर

युरोपेली संघले चीनबाट युरोप भित्र्याइएको दुई लाखभन्दा बढी नक्कली कन्डमको अवैध सञ्जाललाई सफलतापूर्वक पर्दाफास गरेको छ।

युरोपेली संघको ठगीविरोधी कार्यालय(ओएलएएफ)ले लामो समयको अनुसन्धानपछि रोमानिया, सर्बिया र स्पेनमा ती नक्कली कन्डम बरामद गरेको हो। अनुसन्धानबाट ती कन्डम चीनका एक आपूर्तिकर्तासँग सम्बन्धित रहेको पत्ता लागेको छ। तस्करहरूले भन्सार जाँचबाट बच्नका लागि प्रसिद्ध ब्रान्डको लोगो अंकित ती कन्डमलाई भित्र्याउँदा ‘खेलौना’ भनी गलत विवरण राखेका थिए।

उक्त कार्यालयका अनुसार युरोपमा कन्डमलाई चिकित्सा उपकरणको रूपमा वर्गीकरण गरिएको छ। युरोप भित्रिँदा यी वस्तुहरूले विशिष्ट स्वास्थ्य र सुरक्षा मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ। यसका लागि गुणस्तर प्रमाणीकरण र अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना अनिवार्य छ। तर, बरामद गरिएका यी कन्डमहरू परीक्षण नगरिएका, अनियन्त्रित र असुरक्षित रहेको पाइएको छ। कार्यालयको अनुसन्धानले ती कन्डमहरूले सूक्ष्मजीव प्रदूषण, चुहावट, र गुणस्तरका कुनै पनि मापदण्ड पूरा नगरेको पुष्टि गरेको छ।

कार्यालयका महानिर्देशक पेटर क्लेमेन्टले ती कन्डम स्वास्थ्यका लागि निकै खतरनाक रहेको बताए। उनले भने, ‘नक्कली कन्डमहरू खतरनाक छन्। तिनीहरू परीक्षण नगरिएका, अनियन्त्रित र असुरक्षित छन्। तिनीहरूले यौनजन्य सङ्क्रमण फैलाउन मद्दत गर्छन्। त्यसैले हाम्रो कार्यालयले यो अवैध व्यापार पछाडि रहेका सञ्जालहरूलाई लक्षित गरेको छ।’

ती कन्डमहरूको प्रयोगले उपभोक्तामा यौनजन्य सङ्क्रमणको उच्च जोखिम, अनियोजित गर्भधारण र असुरक्षित रसायनको सम्पर्कजस्ता गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने कार्यालयले जनाएको छ। ती नक्कली सामग्रीको बजार मूल्य दुई लाख युरोभन्दा बढी रहेको बताइएको छ।

चिनियाँ अधिकारीहरूसँगको समन्वयमा कार्यालयले अनुसन्धान प्रक्रिया अघि बढाउँदै यस ढुवानी पछाडिका मुख्य आपूर्तिकर्ताको पहिचान गरेको छ। यद्यपि, यो अवैध धन्दामा संलग्न व्यक्ति वा आपूर्तिकर्तामाथि भएको पछिल्लो कानुनी कारबाहीबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

कार्यालयले राष्ट्रिय अधिकारीहरू, अधिकार धारकहरू र अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर काम जारी राख्ने बताएको छ। यस्ता उदीयमान खतराहरूलाई पहिचान गर्न र नक्कली सामानहरूको अवैध आपूर्ति शृङ्खलालाई पूर्ण रूपमा विघटन गर्न कार्यालय सक्रिय रहेको जनाइएको छ। कार्यालयको यो कदमले युरोपेली नागरिकहरूको स्वास्थ्य सुरक्षामा पर्न सक्ने जोखिमलाई कम गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: २३ असार २०८३ २१:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App