अन्तर्राष्ट्रिय

नेपालमा हिमनदी भत्किँदा चीनमा विनाशकारी पहिरो, तीन दिनमा ताल फुट्ने जोखिम : चिनियाँ विज्ञ

नेपालको उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किँदा चीनको सिजाङ स्वायत्त क्षेत्रको ग्याइरोङ बन्दरगाहमा विनाशकारी पहिरो गएको चिनियाँ प्राकृतिक स्रोत मन्त्रालयका विज्ञले बताएका छन्।

बुधबार बिहान भएको घटनामा चीनतर्फ मात्रै बिहीबार बिहानसम्म ३ जनाको मृत्यु भएको छ भने ५५८ जना बेपत्ता छन्। बेपत्तामध्ये २६० जना विदेशी नागरिक छन्। दुई जनाको भने उद्धार गरिएको छ। सिन्ह्वाका अनुसार स्थानीय समयअनुसार बुधबार बिहान करिब १०:३० बजे नेपालतर्फबाट आएको पहिरो नेपाल-चीन सीमामा रहेको ग्याइरोङ बन्दरगाहसम्म पुगेको थियो। उक्त बन्दरगाह चीन र नेपालबिचको प्रमुख स्थलमार्गमध्ये एक हो।

नेपालतर्फ पनि हिमनदी भत्किएर आएको बाढी र पहिरोले ठुलो क्षति पुर्‍याएको छ। बिहीबारसम्म नेपालमा ९१० जना बेपत्ता रहेको विवरण सार्वजनिक भएको छ भने मृतकको संख्या ३५९ पुगेको छ। नेपाल र चीन दुवैतर्फ गरी एक हजार ४०० भन्दा बढी मानिस बेपत्ता भएका छन्।

चीनको प्राकृतिक स्रोत मन्त्रालयअन्तर्गत भूगर्भीय प्रकोप अनुसन्धान तथा अनुगमन केन्द्रका निर्देशक गुओ झाओचेङका अनुसार उच्च उचाइमा रहेको हिमनदीबाट हिउँ र बरफ खसेपछि त्यसले बाटोमा रहेका चट्टान, माटो तथा हिमनदीजन्य भग्नावशेषसमेत बगाएको थियो। तीव्र गतिमा बगेको उक्त भग्नावशेषको प्रवाह पछि ठुलो पहिरोमा परिणत भएको उनले बताए।

‘यो विपत्ति हिमनदी भत्किएर आएको भग्नावशेषको प्रवाहका कारण भएको हो,’ गुओले भने।

ग्लोबल टाइम्सका अनुसार हिमनदीबाट खसेको हिउँ र बरफ उच्च गतिमा तलतिर बग्दा बाटोमा रहेका थप भग्नावशेषलाई समेत आफूसँगै बगाएको थियो। त्यसपछि उक्त प्रवाह नदीको मार्ग हुँदै ग्याइरोङ बन्दरगाहसम्म पुगेको थियो।

विज्ञका अनुसार भग्नावशेषको प्रवाह करिब ५० मिटर प्रतिसेकेन्डको गतिमा बगेको थियो। अत्यधिक तीव्र गतिका कारण मानिसलाई सुरक्षित हुने समयसमेत नपाएको र यसको प्रभाव २० किलोमिटरभन्दा बढी क्षेत्रमा परेको उनले बताए।

गुओका अनुसार छिङहाई-सिजाङ पठारमा यस प्रकारका घटना विगतमा पनि भएका छन्। तर यस्ता घटना तुलनात्मक रूपमा दुर्लभ रहेको उनले बताए। हिमनदी ताल फुटेर आउने बाढीको तुलनामा हिमनदी भत्किएर आउने भग्नावशेषको प्रवाहमा बढी प्रभाव बल हुने र लामो दूरीसम्म पुग्न सक्ने उनी बताउँछन्।

उनले उच्च हिमाली क्षेत्रमा विपद् रोकथाम तथा न्यूनीकरणका क्रममा यस्ता चरम अवस्थालाई समेत ध्यानमा राखेर पूर्वतयारी गर्नुपर्नेमा जोड दिए।

पहिरोपछि नेपालतर्फ छोचेन खोला र पुरेपु त्साङपो नदीको संगम नजिकै ठुलो बाधा ताल बनेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। बिहीबार उक्त तालमा २० लाख घनमिटरभन्दा धेरै पानी जम्मा भएको छ। आगामी तीन दिनमा वर्षाका कारण थप करिब ३० लाख घनमिटर पानी तालमा थपिन सक्ने अनुमान गरिएको छ। त्यसैले ताल फुट्ने जोखिम उच्च रहेको चिनियाँ अधिकारीले बताएका छन्।

चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। सम्भावित ताल फुट्ने अवस्थाको अनुमान गर्न बाढीको प्रवाहसम्बन्धी सिमुलेसन र विश्लेषणसमेत भइरहेको छ। ताल फुटेमा ग्याइरोङ बन्दरगाहसहित नदी किनारका तल्लो क्षेत्रमा थप क्षति हुन सक्ने जोखिम रहेको बताइएको छ।

पहिरोपछि ग्याइरोङ क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ। स्थानीय सांस्कृतिक तथा पर्यटन अधिकारी र अन्य निकायको सहयोगमा ५५५ जना प्रभावित पर्यटकलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

चिनियाँ अधिकारीका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि आपत्कालीन उद्धार टोली, जनमुक्ति सेना, इन्जिनियरिङ टोली, दूरसञ्चारकर्मी र अन्य राहत टोली परिचालन गरिएको छ। हेलिकप्टर, ड्रोन, जीवन पत्ता लगाउने उपकरण र ठुला उत्खनन मेसिनलगायत उपकरण प्रयोग भइरहेको छ। लगातारको वर्षा, कठिन भौगोलिक अवस्था र थप पहिरोको जोखिमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

प्रकाशित: ११ भाद्र २०८३ २१:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App