अन्तर्राष्ट्रिय

भारत–क्यानडा सम्बन्धमा ‘नयाँ चरण’ सुरु: के–के छन् निर्णय?

भारत र क्यानडा बीचको व्यापक व्यापार सम्झौतासम्बन्धी वार्ता पछिल्ला १६ वर्षदेखि पटक–पटक अन्तिम चरणमा पुगे पनि टुंगो लाग्न सकेको थिएन। सन् २०२३ र २०२४ मा दुई देशबीच कूटनीतिक तनाव चर्किएपछि वार्ता पूर्णरूपमा बन्द भएको  रोकिएकोसम्झौतासम्बन्धी वार्ता अगाडी बढाउन दुई देश सहमत भएका हुन्। दुवै देशले यसै वर्षको अन्त्यसम्म सम्झौतालाई अन्तिम रूप दिने स्पष्ट समयसीमा तय गरेका छन्।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले वर्षको अन्त्यसम्म सम्झौता सम्पन्न गर्ने लक्ष्य राखिएको घोषणा गरेका छन्। यो लक्ष्य महत्वाकांक्षी भए पनि विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र आपूर्ति शृंखला विविधीकरणको आवश्यकताले प्रक्रियालाई तीव्र बनाउन सक्ने अनुमान गरिएको छ।  

दुवै देशले एआई जस्ता उदाउँदा प्रविधि, नयाँ बजार र वैकल्पिक आपूर्ति शृंखलामा सहकार्य विस्तार गर्ने तयारी गरेका छन्। यद्यपि खुला रूपमा उल्लेख नगरे पनि चीन र अमेरिकाजस्ता आर्थिक महाशक्तिमाथिको निर्भरता घटाउने साझा चाहना स्पष्ट देखिन्छ।  

सहमतिपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डिया–क्यानडा सीईओ फोरममा सम्बोधन गर्दै आजको घोषणासँगै दुई देशबीचको सम्बन्धमा “नयाँ अध्याय” सुरु भएको बताएका छन्। 

उनका अनुसार विश्व अर्थतन्त्र अनिश्चितता र दबाबको अवस्थामा रहेको बेला भारत र क्यानडा जस्ता दुई सशक्त लोकतान्त्रिक राष्ट्रबीचको सहकार्य झन् महत्वपूर्ण बनेको छ। उनले दुवै देशलाई विश्वकै ठूला अर्थतन्त्रहरूमध्ये एक बताउँदै लोकतन्त्र, विविधता र विकासका आधारमा “प्राकृतिक साझेदार” भएको उल्लेख गरे।  

मोदीले दुवै पक्षले “सामूहिक दृष्टिकोण” अगाडि बढाउने संयुक्त निर्णय गरेको जानकारी दिँदै आर्थिक सहकार्य अझ गहिरो बनाउने संकेत दिएका छन्।

संयुक्त पत्रकार सम्मेलनमा मोदीले क्यानडासँगको युरेनियम आपूर्ति सम्झौतालाई “ऐतिहासिक (ल्यान्डमार्क)” भनेका छन्।  

उनले नवीकरणीय ऊर्जा, अन्तरिक्ष क्षेत्र र नवप्रवर्तन साझेदारीमा सहकार्य बढाउने घोषणा गरे। “क्यानडा–भारत नवप्रवर्तन साझेदारीमार्फत हामी विचारलाई विश्वव्यापी समाधानमा रूपान्तरण गर्नेछौं,” उनले भने।  

विशेषज्ञहरूका अनुसार यदि निर्धारित समयसीमाभित्र सम्झौता सम्पन्न भयो भने यसले द्विपक्षीय व्यापार, लगानी र प्रविधि हस्तान्तरणमा उल्लेखनीय वृद्धि ल्याउन सक्छ। 

के–के निर्णय भए?

भारत र क्यानाडाबीच लामो समयदेखिको कूटनीतिक तनावपछि आज सम्बन्ध पुनःस्थापना र सुदृढीकरणतर्फ महत्वपूर्ण कदम चालिएको छ। दुवै देशले आर्थिक र रणनीतिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने व्यापक प्याकेज सार्वजनिक गरेका छन्।  

-व्यापार सम्झौता तीव्र बनाउने सहमति  

माेदी र कार्नीले व्यापक आर्थिक साझेदारी सम्झौताका लागि वार्ता द्रुत गतिमा अघि बढाउने सहमति जनाएका छन्। वर्षको अन्त्यसम्म सम्झौता टुंग्याउने लक्ष्य राखिएको छ। साथै, सन् २०३० सम्म द्विपक्षीय व्यापारलाई करिब ५० अर्ब डलरसम्म पुर्‍याउने महत्वाकांक्षी लक्ष्य निर्धारण गरिएको छ। 

-युरेनियम आपूर्ति र महत्वपूर्ण खनिज सहकार्य

क्यानडाको कम्पनी केमिकोले भारतलाई दीर्घकालीन रूपमा युरेनियम आपूर्ति गर्ने सम्झौता गरेको छ। यसलाई ऊर्जा सुरक्षाको दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ। त्यसैगरी, दुवै देशले महत्वपूर्ण खनिज, स्वच्छ ऊर्जा र कृत्रिम बुद्धिमत्ता क्षेत्रमा नयाँ सहकार्य ढाँचा तयार गर्ने घोषणा गरेका छन्। 

-शिक्षा क्षेत्रमा सहकार्य विस्तार

क्यानडामा ठूलो संख्यामा भारतीय विद्यार्थी अध्ययनरत रहेको सन्दर्भमा शिक्षा पनि वार्ताको प्रमुख विषय बन्यो। दुवै सरकारले शैक्षिक साझेदारी विस्तार गर्ने, विद्यार्थी तथा अनुसन्धानकर्ताको आदान–प्रदान सहज बनाउने र शैक्षिक योग्यता पारस्परिक मान्यता प्रणाली बलियो बनाउने योजना सार्वजनिक गरेका छन्। 

-रक्षा र सुरक्षा संवाद पुनःसञ्चालन

दुई देशले संरचित रक्षा संवाद पुनः सुरु गर्ने र समुद्री तथा समग्र सुरक्षा सहकार्यलाई सुदृढ बनाउने निर्णय गरेका छन्। विश्लेषकहरूका अनुसार यो सहकार्य केवल व्यापारमै सीमित नरही रणनीतिक रूपमा पनि गहिरो हुने संकेत हो।

-‘नयाँ चरण’ को सुरुआत

नेताहरूले हालको वार्तालाई कूटनीतिक तनावपछिको “नयाँ चरण” को सुरुआतका रूपमा वर्णन गरेका छन्। ऊर्जा सुरक्षा, आपूर्ति शृंखलाको स्थायित्व र अनिश्चित वैश्विक परिस्थितिमा स्थिरता कायम गर्ने साझा लक्ष्यमा दुवै देश एकमत देखिएका छन्।  

विशेषज्ञहरूका अनुसार यदि यी प्रतिबद्धताहरू व्यवहारमा उतारिए भने भारत–क्यानडा सम्बन्ध आगामी वर्षहरूमा उल्लेखनीय रूपमा मजबुत बन्न सक्छ।

प्रकाशित: १८ फाल्गुन २०८२ १६:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App