शनिबार बिहानदेखि गाजामा इजरायली सेनाको आक्रमणबाट कम्तीमा ६२ जना प्यालेस्टिनीहरू मारिएको अस्पताल स्रोतले अल जजिरालाई जानकारी दिएका छन्। मारिनेहरूमध्ये ३८ जना अमेरिकी तथा इजरायलको समर्थनमा सञ्चालित गाजा ह्युमानिटेरियन फाउन्डेसनद्वारा सञ्चालित राहत वितरण केन्द्रमा सहयोगको खोजीमा पुगेका व्यक्तिहरू थिए।
इजरायलले केही क्षेत्रमा दैनिक रूपमा ‘सहायता आपूर्तिका लागि लडाइँमा अस्थायी रोक’ गर्ने घोषणा गरेको एक सातापछि फेरि यस्तो हत्याकाण्ड भएको हो। संयुक्त राष्ट्रसङ्घ मानवअधिकार कार्यालयका अनुसार, जुलाई २७ मा अस्थायी रोक लगाउने घोषणा भए पनि बुधबार र बिहीबार मात्रै १०५ जना प्यालेस्टिनीहरू राहत खोज्दा मारिएका थिए।
शुक्रबारसम्मको तथ्यांकअनुसार, कम्तीमा १ हजार ३ सय ७३ जना प्यालेस्टिनीहरू राहत लिन खोज्दा मारिएका छन्, र गाजा स्वास्थ्य मन्त्रालयका अनुसार ९३ बालबालिकासहित १६९ जना मानिस भोक र कुपोषणका कारण मरेका छन्। गाजाका स्थानीय बासिन्दाहरूले इजरायली सैनिकहरू सहायता वितरण केन्द्रको आसपासमा जान खोज्ने व्यक्तिमाथि जानाजानी गोली चलाएको आरोप लगाएका छन्।
अन्तर्राष्ट्रिय आलोचना बढेपछि इजरायलले जोर्डन, युएई, इजिप्ट, स्पेन, जर्मनी र फ्रान्सबाट गाजामा हवाई सहायता गिराउने अनुमति दिएको छ। तर संयुक्त राष्ट्रसङ्घीय राहत एजेन्सी लगायतका संस्थाहरूले यी सहायता अपर्याप्त भएको बताएका छन् र सडकमार्फत नियमित आपूर्ति खुलाउने माग गरेका छन्। एजेन्सी
प्रकाशित: १८ श्रावण २०८२ ०९:१९ आइतबार



