अन्तर्राष्ट्रिय

न्यूयोर्क मेयर चुनाव : ट्रम्पको गिरफ्तारी धम्कीविरुद्ध ममदानीको जवाफ-‘हामी यो स्वीकार्दैनौं’

न्यूयोर्क सहरको मेयर पदका डेमोक्र्याटिक उम्मेदवार जोहरान ममदानीले राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण टिप्पणीको कडा जवाफ दिएका छन्। 

ट्रम्पले ममदानीले आप्रवासन र भन्सार प्रवर्तन (आइसीई) को छापामारी रोक्ने प्रतिबद्धता व्यक्त गरेका कारण उनलाई पक्राउ गर्ने धम्की दिएका थिए। ममदानीले यो कदमलाई ‘अमेरिकी लोकतन्त्रविरुद्धको आक्रमण’ र ‘न्यूयोर्कवासीहरूलाई तर्साउने प्रयास’ भन्दै कडा जवाफ फर्काएका हुन्।

गत साता डेमोक्र्याटिक प्राइमरी चुनावमा पूर्व गभर्नर एन्ड्रयू कुओमोलाई पराजित गरेका ३३ वर्षीय डेमोक्र्याटिक समाजवादी उम्मेदवार ममदानीले आफूलाई ‘ट्रम्पको सबैभन्दा ठूलो दुःस्वप्न’ बताउँदै आएका छन्। 

उनले प्राइमरी चुनाव जितेपछि दिएको भाषणमा ‘नकाबधारी आइसीई एजेन्टहरूलाई हाम्रा छिमेकीहरूलाई निर्वासन गर्नबाट रोक्न’ आफ्नो अधिकार प्रयोग गर्नेछु भन्ने वाचा गरेका थिए। ट्रम्पले ममदानीलाई ‘पूर्ण कम्युनिस्ट पागल’ को संज्ञा दिएर झूटो आरोप पनि लगाएका छन्। 

उनका अनुसार युगान्डामा जन्मेका ममदानी अवैध रूपमा अमेरिकामा बसिरहेका छन्। युगान्डामा जन्मेका ममदानी सात वर्षको उमेरमा अमेरिका पुगेका थिए। सन् २०१८ मा उनी अंगीकृत अमेरिकी नागरिक बनेका हुन्।

मंगलबार (स्थानीय समयानुसार) फ्लोरिडाको ‘एलिगेटर अल्काट्राज’ आप्रवासी हिरासत केन्द्रमा पत्रकार सम्मेलनमा ट्रम्पले ममदानीलाई पक्राउ गर्ने र न्यूयोर्कका लागि संघीय कोष रोक्ने धम्की दिएका थिए। जवाफमा ममदानीले सामाजिक सञ्जालमा लेखे, ‘राष्ट्रपतिले मलाई पक्राउ गर्ने धम्की दिएका छन्, किनकि मैले आइसीईलाई हाम्रो सहरमा आतंक मच्चाउन दिने छैन। हामी यो धम्की स्वीकार्दैनौं।’

ट्रम्पको कठोर आप्रवासन नीतिले अमेरिकाभर विरोध निम्त्याएको छ। गत जुनमा न्यूयोर्कका नियन्त्रक ब्राड ल्यान्डरलाई म्यानहट्टन अध्यागमन अदालतमा हिरासतमा लिइएको थियो। त्यहाँ आइसीईले अदालतमा उपस्थित आप्रवासीहरूलाई पक्राउ गरिरहेको थियो। लस एन्जलसमा हजारौंले आइसीई छापाको विरोधमा प्रदर्शन गरेपछि ट्रम्पले राष्ट्रिय गार्ड परिचालन गरिएको थियो। 

ममदानीले ट्रम्प प्रशासनसँग न्यूयोर्कवासीको हितमा काम गर्न तयार रहे पनि निर्वासन नीतिको कडा प्रतिरोध गर्ने बताएका छन्। अमेरिकी सञ्चारमाध्यम एनबीसीको ‘मिट द प्रेस’ मा उनले भनेका थिए, ‘म कम्युनिस्ट होइन। ट्रम्प मेरो नीति र लडाइँबाट ध्यान हटाउन चाहन्छन्। म ती न्यूयोर्कवासीका लागि लड्छु, जसलाई उनले धोका दिए।’

नोभेम्बर ४ मा हुने न्यूयोर्क सहरको मेयर चुनावमा ममदानीले स्वतन्त्र उम्मेदवार एरिक एडम्स, कुओमो र रिपब्लिकन कर्टिस स्लिवासँग प्रतिस्पर्धा गर्नेछन्। यदि निर्वाचित भए ममदानी न्यूयोर्कको पहिलो मुस्लिम मेयर हुनेछन्। एजेन्सी

प्रकाशित: १८ असार २०८२ ०८:१० बुधबार

#DonaldTrump #ZohranMamdani #NewYorkCitymayor