अन्तर्राष्ट्रिय

जेलेन्स्कीपछि ट्रम्प र पुटिनबिच २ घण्टा छलफल, युद्धविराम कति सम्भव?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेका छन्।

रुस र युक्रेन युद्धको विषयमा ट्रम्प र पुटिनबिच करिब २ घण्टा छलफल भएको थियो। पुटिनले वार्तालाप धेरै राम्रो भएको बताए। उनले भने, 'यदि सही सम्झौता भएमा, रुस र युक्रेनबीच केही समयको लागि युद्धविराम सम्भव छ।'

रुसी समाचार एजेन्सी तासका अनुसार पुटिनले युक्रेनसँग शान्ति सम्झौताको मस्यौदा तयार रहेको बताए। द्वन्द्वको वास्तविक कारण हटाउनु पर्छ।

जेलेन्स्की र ट्रम्पबिच केही मिनेट मात्र कुराकानी भएको थियो, जसको विस्तृत जानकारी अझै सार्वजनिक गरिएको छैन।

ट्रम्पसँग कुरा गरेपछि पुटिनले मिडियासँग कुरा गरेका छन्। पुटिनले भने, 'रुस सम्झौता गर्न तयार छ।' यद्यपि, यी कस्तो प्रकारका सम्झौताहरू हुने छन् भन्ने कुरा अझै स्पष्ट छैन।

पुटिनसँग कुरा गरेपछि ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरे। उनले भने, 'मेरो पुटिनसँग दुई घण्टा कुराकानी भयो। रुस र युक्रेनले युद्धविराम र अझ महत्त्वपूर्ण कुरा, युद्धको पूर्ण अन्त्यको लागि तुरुन्तै वार्ता सुरु गर्नुपर्छ।'

ट्रम्पले भने, 'रुस र युक्रेनबीच तुरुन्तै वार्ता सुरु हुनेछ। मैले युक्रेनी राष्ट्रपति जेलेन्स्की र धेरै युरोपेली नेताहरूलाई फोन गरेर यसबारे जानकारी गराएको छु। पोपले वार्ता आयोजना गर्न इच्छुक रहेको बताएका छन्।' एजेन्सी

प्रकाशित: ६ जेष्ठ २०८२ ०७:४६ मंगलबार

#donald trump #Zelenski #Putin