नेपालमा पछिल्ला वर्षमा आत्महत्या सार्वजनिक स्वास्थ्य र सामाजिक दुवै दृष्टिले गम्भीर चुनौतीका रूपमा देखिएको छ। प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ को जेठ मसान्तसम्म देशभर २० हजार नौ सय ४७ आत्महत्याका घटना दर्ता भएका छन्। तथ्यांकले अधिकांश घटनामा झुन्डिएर आत्महत्या गरिएको देखाएको छ भने प्रदेशगत रूपमा कोसीमा सबैभन्दा धेरै र कर्णालीमा सबैभन्दा कम घटना दर्ता भएको पाइएको हो।
कर्णाली प्रदेशमा आत्महत्याका घटना कम देखिनुको एउटा कारण भौगोलिक विकटता, कम जनघनत्व तथा तुलनात्मक रूपमा कम जनसंख्या रहेको हुन सक्ने प्रहरी अधिकारीहरूको विश्लेषण छ। यद्यपि कम संख्या देखिनु मात्र पर्याप्त उपलब्धि नभई प्रत्येक घटना आफैंमा गम्भीर मानवीय क्षति भएकाले रोकथाममा निरन्तर ध्यान दिनुपर्ने अधिकारकर्मी तथा मनोविमर्शकर्ता शर्मिला बिसीले बताइन्।
प्रहरीका अनुसार आत्महत्याको जोखिम विशेषगरी १८ देखि २५ वर्ष उमेर समूहमा बढी देखिएको छ। यो उमेर समूह जीवनको संक्रमणकालीन चरण भएकाले शिक्षा, रोजगारी, पारिवारिक अपेक्षा, सम्बन्ध, भविष्यप्रतिको अन्योल र मानसिक तनावले जोखिम बढाउन सक्ने देखिन्छ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता (डिआइजी) अबिनारायण काफ्लेका अनुसार नेपालमा आत्महत्याका प्रमुख कारणमा मानसिक स्वास्थ्य समस्या, पारिवारिक कलह तथा सम्बन्ध विच्छेद, आर्थिक समस्या, बेरोजगारी, ऋणको बोझ, प्रेम सम्बन्धमा असफलता, शैक्षिक दबाब, लागुऔषध तथा मदिरा दुव्र्यसन, दीर्घकालीन रोग र आकस्मिक आवेगजस्ता पक्ष प्रमुख रूपमा देखिएका छन्। यी कारण एउटै व्यक्तिमा एकभन्दा बढी रूपमा समेत देखिन सक्ने भएकाले आत्महत्या कुनै एक कारणले मात्र नहुने बताइन्छ।
आर्थिक वर्ष २०८०/८१ मा नेपालभर सात हजार सात सय ९९ आत्महत्याका घटना दर्ता भएका थिए। प्रदेशगत तथ्यांक हेर्दा कोसीमा सबैभन्दा धेरै १ हजार ५ सय ५८ र कर्णालीमा ३ सय २६ घटना दर्ता भएका थिए। त्यसै वर्ष मधेसमा १ हजार २ सय ९४, बागमतीमा ९ सय ६९, गण्डकीमा ६ सय ५५, लुम्बिनीमा १ हजार ३ सय २ र सुदूरपश्चिममा १ हजार १ सय ६२ घटना दर्ता भएका थिए।
आर्थिक वर्ष २०८१/८२ मा देशभर आत्महत्याका ६ हजार ८ सय ६६ घटना दर्ता भए। यो वर्ष पनि प्रदेशगत रूपमा कोसी १ हजार ४ सय ५२ घटनासहित पहिलो स्थानमा रह्यो भने कर्णालीमा ३ सय ३ घटना दर्ता भए। लुम्बिनीमा १ हजार ३ सय ८, मधेसमा १ हजार २ सय ६१, बागमतीमा ८ सय २७, गण्डकीमा ६ सय ३१ र सुदूरपश्चिममा ५ सय ७९ घटना दर्ता भएका थिए।
चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म मात्रै देशभर ६ हजार २ सय ८२ आत्महत्याका घटना प्रहरी अभिलेखमा समावेश भइसकेका छन्। प्रदेशगत रूपमा कोसीमा १ हजार ३ सय ८४, मधेसमा १ हजार १ सय ६९, लुम्बिनीमा १ हजार १ सय ७६, बागमतीमा ७ सय ५३, गण्डकीमा ५ सय २९, सुदूरपश्चिममा ५ सय ५९ तथा कर्णालीमा २ सय ७४ घटना दर्ता भएका छन्। तथ्यांकले यस वर्ष पनि प्रदेशगत प्रवृत्ति अघिल्ला वर्षकै जस्तै रहेको देखाउँछ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) जयराज सापकोटाले आत्महत्या न्यूनीकरणका लागि प्रहरीले समुदायसँग सहकार्य गर्दै गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए। आत्महत्याका घटना बढ्दै गइरहेकाले विद्यालय, स्थानीय तह, अभिभावक, स्वास्थ्य संस्था तथा समुदायलाई जोडेर मानसिक स्वास्थ्यबारे खुला संवाद, समयमै परामर्श र जोखिममा रहेका व्यक्तिको पहिचानमा जोड दिनुपर्ने अधिकारकर्मी सविना विकले बताइन्।
मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने विज्ञहरूका अनुसार आत्महत्या रोकथामका लागि प्रहरी प्रयास मात्र पर्याप्त नहुने भएकाले परिवार, विद्यालय, स्थानीय सरकार, स्वास्थ्य संस्था, सामाजिक संघसंस्था तथा समुदायबिच समन्वय आवश्यक हुने बताइन्छ।
प्रकाशित: ३० असार २०८३ ११:५० मंगलबार