चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै चार दिनदेखि अनसनमा रहेका डा. गोविन्द केसीका मागका विषयमा सरकारी वार्ता टोली र डा. केसी पक्षबीच औपचारिक वार्ता सुरु भएको छ।
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. हेमराज पाण्डेको कार्यकक्षमा औपचारिक छलफल सुरु भएको हो।
सरकारका तर्फबाट वार्ता टोलीमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा र शिक्षा सचिव चूडामणि पौडेल सहभागी छन्। डा. केसीका तर्फबाट डा. पवन थापा र डा. अमृत जैसी वार्तामा सहभागी छन्।
अहिले औपचारिक छलफल जारी रहेको डा. जैसीले जानकारी दिए। यसैगरी, वार्तामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य पुकार बम पनि सहभागी छन्।
वार्तामा डा. केसीले अघि सारेका मागबारे छलफल भइरहेको छ। दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा दरबन्दीसहित ३०० शय्याको अस्पताल सञ्चालन हुनुपर्ने, स्वार्थ बाझिने गरी भएका उपकुलपति र रजिस्ट्रारको नियुक्ति बदर गरिनुपर्ने तथा चालु शैक्षिक सत्रभित्रै एमबीबीएसलगायतका मेडिकल शिक्षाका कार्यक्रम सञ्चालन हुनुपर्ने मुख्य तीन माग रहेको डा. जैसीले जानकारी दिए।
डा. केसीले बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिरमा २४औँ सत्याग्रह सुरु गरेका थिए। स्वास्थ्यमा जटिलता आएपछि शनिबार उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो।
प्रकाशित: १० श्रावण २०८३ १४:३६ आइतबार

-600x400.jpg)

