कर्णाली प्रदेश अस्पतालमा कार्यरत छात्रवृत्ति तथा करार चिकित्सकहरूले सेवा–सुविधा र प्रोत्साहन भत्ताका विषयमा स्पष्ट निर्णय नभएको भन्दै ‘पेन डाउन’ को घोषणा गरेका छन्।
स्वास्थ्य सेवा व्यवस्थापकलाई सम्बोधन गर्दै बुझाइएको पत्रमा कर्णाली प्रदेशमा कार्यरत छात्रवृत्ति तथा करार चिकित्सकका लागि उपलब्ध गराइने प्रोत्साहन भत्ता तथा सेवा सुविधाका विषयमा लामो समयदेखि ध्यानाकर्षण गराउँदा पनि ठोस निर्णय नभएको उल्लेख गरिएको छ।
पत्रमा अस्पष्ट नीति र अन्योलग्रस्त वातावरणमा सेवा प्रवाह गर्न असमर्थ भएको भन्दै असोज १ गते देखि सम्पूर्ण कामकाज रोकी ‘पेन डाउन’ गर्ने जानकारी गराइएको छ।
चिकित्सकहरूले कर्णालीको दुर्गम क्षेत्रमा कार्यरत चिकित्सकप्रति न्यायोचित र स्पष्ट निर्णय नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
आन्दोलनका कारण सेवाग्राही वर्गमा पर्न जाने असुविधाप्रति उनीहरूले क्षमायाचना समेत गरेका छन्।
आन्दोलन घोषणा गर्नेमा डा. सागर ढकाल, डा. बिक्की कुँ. गुप्ता, डा. नवीन बटाला, डा. सुनील सिंह, डा. सुरज प्रसाद साह, डा. धुरोज गुरुङ र पारस पोखरेल रहेका छन्।
चिकित्सकहरूले आफूहरूका माग सम्बोधन गरी सेवा–सुविधाका विषयमा स्पष्ट निर्णय गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
प्रकाशित: १ आश्विन २०८३ १३:०३ बिहीबार