स्वास्थ्य

जेन-जी क्लिनिकमा बिरामी न्यून, सेवा भने निरन्तर

सरकारद्वारा जेन्जी आन्दोलनका घाइतेलाई छिटो र सहज उपचार उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएका “जेन्जी क्लिनिक” हरूमा पछिल्लो समय सेवा लिन आउने विरामीको संख्या अत्यन्त न्यून देखिएको छ। यद्यपि, यी क्लिनिकहरू चौविसै घण्टा सञ्चालनमा भने निरन्तर रहेका छन्।

वीर अस्पतालस्थित जेन्जी क्लिनिकमा हाल एकाध मात्र विरामी आउने गरेका छन्। यस्तै अवस्था महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पनि देखिएको छ। टिचिङ अस्पतालका आकस्मिक विभाग प्रमुख डा. रमेश महर्जनका अनुसार, कहिलेकाहीँ मात्र घाइतेहरू उपचारका लागि आउने गरेका छन्। उनका अनुसार केही विरामी फलोअपका लागि आउने भए पनि अन्य अवस्थामा उल्लेख्य उपस्थिति छैन।

वीर अस्पतालका आकस्मिक कक्ष प्रमुख डा. सुरेश नेपालले पनि पछिल्लो समय जेन्जी घाइतेहरूको संख्या घट्दै गएको बताए। उनका अनुसार आउनेमध्ये धेरैजसो विरामी अन्य स्वास्थ्य समस्याका कारण आउने गरेका छन्। “विरामी कम आए पनि सेवा भने सात महिनादेखि निरन्तर सञ्चालनमा छ,” उनले भने। मानसिक स्वास्थ्य सेवाका लागि पनि केही विरामी आउने गरेका छन्।

राष्ट्रिय ट्रमा सेन्टरका सामाजिक सेवा इकाइ इन्चार्ज क्रतुराज अर्यालका अनुसार दैनिक दुईजना जति मात्र जेन्जी घाइते उपचारका लागि आउने गरेका छन्। “सुरुमा करिब २५ प्रतिशत घाइते फलोअपमा आउने गर्थे, अहिले त्यो संख्या निकै घटेको छ,” उनले बताए। उनका अनुसार अहिले आउनेहरूमा गम्भीर चोट लागेका, अंग गुमाएका वा शरीरमा गोलीका छर्रा भएका विरामीहरू रहेका छन्।

जेन्जी क्लिनिकमा सेवा लिनका लागि सम्बन्धित आन्दोलनका घाइते कार्ड अनिवार्य हुने व्यवस्था छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अर्को निर्णय नभएसम्म यी क्लिनिकहरू सञ्चालनमा रहने जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार आगामी दिनमा घाइतेहरूको वर्गीकरण गरेर मात्रै सेवा व्यवस्थापन गरिने तयारी भइरहेको छ। “सबैलाई निःशुल्क सेवा दिँदा राज्यलाई भार पर्न सक्छ, त्यसैले गम्भीर घाइतेलाई मात्र दीर्घकालीन सेवा दिने व्यवस्था गरिनेछ,” उनले स्पष्ट पारे।

सामान्य चोटपटक लागेर निको भइसकेकाहरूले भने यो सेवा उपयोग गर्न नपाउने, तर विभिन्न आन्दोलनमा गम्भीर घाइते भएका व्यक्तिहरूले आजीवन निःशुल्क उपचार पाउने व्यवस्था गरिने संकेत मन्त्रालयले दिएको छ।

प्रकाशित: १० चैत्र २०८२ १८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App