स्वास्थ्य

महामारी रोकथामका लागि सरकारका ६ बुँदे योजना सार्वजनिक

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सम्भावित महामारी नियन्त्रणका लागि ६ बुँदे योजना सार्वजनिक गरेका छन्। 

मनसुनजन्य संक्रमण, रोग र छिमेकी मुलुकमा कोभिडजस्ता महामारी देखिएको कुरालाई मध्यनजर गर्दै समयमै रोकथाम र प्रतिकार्यका लागि भन्दै विभिन्न निर्णय गरिएको कुरा उनले एक्समार्फत जानकारी गराएका हुन्। 

१) अब महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार सम्भावित महामारी हुने स्थानको पहिचान गरी सरसफाइ र शुद्ध पानीको प्रयोग र व्यवस्थापनका लागि आवश्यक तयारी गर्नेछ ।

२) शुद्ध पानीको प्रयोगका लागि स्थानीय तहसम्मै प्रभावकारी सूचना सामग्री सम्प्रेषणका लागि समेत राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले काम थाल्नेछ ।

३) सबै स्थानीय तहका द्रुत प्रतिकार्य समूहसँग भर्चुअल बैठक गरेर आवश्यक जानकारी संकलन तथा तयारी अघि बढाइनेछ।

४) सातै प्रदेशमा स्वास्थ्यजन्य विपद् नियन्त्रणका लागि तालिमप्राप्त व्यक्तिको विवरण अद्यावधिक गरेर आवश्यकताअनुसार खटाउने व्यवस्था गरिनेछ ।

५) राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र तथा राष्ट्रिय/प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रसँग आवश्यक समन्वय गरी आवश्यक तयारी तथा प्रतिकार्यका कामहरू समेत अघि बढाइनेछ ।

६) संक्रामक रोग ऐन २०२० लाई बदलिँदो परिस्थिति तथा आवश्यकताअनुसार संसोधन गर्नका लागि समेत स्वास्थ्य सेवा विभागले एक साताभित्र आवश्यक तयारी गरेर मन्त्रालयमा पेश गर्नेछ ।

उनले महामारीको स्थिति नियन्त्रणबाहिर जान नदिन सबै आवश्यक सहयोगका लागि प्रतिबद्ध भएको समेत स्पष्ट पारेका छन्। 

प्रकाशित: १४ जेष्ठ २०८२ १२:२० बुधबार

#Pradip Poudel #NagarikNews