शिक्षा

आठराई त्रिवेणीको शिक्षा ऐन : विद्यालय गाभ्नेदेखि तह घटाउनेसम्म

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले मुख्य ६ तथा सहायक तीनवटा परिस्थति बनेमा विद्यालय एक आपसमा गाभ्न वा तह घटाउन वा स्तरवृद्धि गर्न सकिने प्रावधान ल्याएको छ।

आठराई त्रिवेणी गाउँपालिकाको शिक्षा ऐन २०७८ लाई गत असार २४ गतेको पाँचौँ संशोधन गर्दै पालिकाले दुई वा दुईभन्दा बढी विद्यालयलाई एक आपसमा गाभी एउटै विद्यालय कायम गर्न सकिने समेतको प्रावधान ल्याएको हो। पालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन)ले हस्ताक्षर गरी संशोधनसहित लागू भएको शिक्षा ऐनमा विद्यालय गाभ्नुपर्ने अवस्थामा पनि हाल सञ्चालित बाल विकास कक्षा भने सम्बन्धित स्थानमा रहने उल्लेख गरिएको छ।

संशोधित ऐनमा विद्यालय कस्तो अवस्थामा गाभ्न सकिने भन्ने स्पष्ट उल्लेख छ। जस अनुसार विद्यालयमा तोकिए बमोजिमको पूर्वाधार नरहेको, विद्यालयमा सञ्चालित कक्षाहरूमा ऐनले तोकिए अनुसार भन्दा कम विद्यार्थी भएको अवस्थामा विद्यालय एक आपसमा गाभ्न सकिने छ।

ऐन अनुसार कक्षा ०–८ सञ्चालित विद्यालयहरूमा न्यूनतम् ४५ जना, कक्षा ०–५ सञ्चालित विद्यालयहरूमा न्यूनतम् ३० जना र कक्षा ०–३ सम्म सञ्चालित विद्यालयहरूमा न्यूनतम् २० जना विद्यार्थी हुनु अनिवार्य छ। यस्तो अवस्थामा विद्यालय एक आपसमा गाभ्न ऐनले बन्देज गर्ने छैन। तर, माध्यमिक तह र भौगोलिक विकटता भएको क्षेत्रमा सञ्चालित आधारभूत तहको विद्यालय गाभ्नलाई भने कार्यपालिकाले फेरि छुट्टै कार्यविधि बनाउनुपर्ने ऐनमा उल्लेख छ।

दुई वा दुईभन्दा बढी विद्यालयको परिसर एक आपसमा जोडिएको अवस्थामा, दुई वा दुई विद्यालयबिचको पैदल दूरी ३० मिनेटभन्दा कम रहेको अवस्थामा र दुई वा दुईभन्दा बढी विद्यालय व्यवस्थापन समितिले विद्यालय गाभ्न संयुक्त निवेदन दिएमा विद्यालय एक आपसमा गाभ्न सकिने गरी २०७८ साल वैशाख ११ गते जारी भएको पालिकाको शिक्षा ऐनलाई समय सापेक्ष पाँचौँ संशोधन गरेको हो।

विद्यालयको कक्षा थप गर्नका लागि सम्बन्धित विद्यालयले शैक्षिक सत्र सुरु भन्दा कम्तीमा ३ महिना अगावै गाउँ शिक्षा समितिमा आवेदन दिनुपर्ने भएको छ। विद्यालय गाभ्ने आधारहरूका सर्तहरू पर्याप्त भए पनि गाभ्ने आधार औचित्यपूर्ण नदेखिएमा पालिकाको शिक्षा शाखाको सिफारिसमा कार्यपालिकाले विद्यालयको माथिल्लो तह वा कक्षा घटाउन सक्ने अधिकार समेत ऐनमा प्रबन्ध गरिएको छ।

ऐनमा पालिकाका सामुदायिक विद्यालयको प्रत्येक कक्षामा शहरी क्षेत्रमा ४५ र ग्रामीण क्षेत्रमा ३० विद्यार्थी हुनुपर्ने प्रावधान रहेको छ। संस्थागत विद्यालयको प्रत्येक कक्षामा सामान्यता न्यूनतम् २२,अधिकतम् ४४ र औसतमा ३३ विद्यार्थी हुनुपर्ने प्रावधानमा ऐनमा उल्लेख गरिएको छ।

प्रकाशित: ३१ असार २०८२ १३:३५ मंगलबार

#NepaliNews #NagarikNews