शिक्षा

जापानमा नेपाली पाठ्यक्रम

जापानमा नेपाली समुदायको जनसंख्या तीव्र रूपमा बढेसँगै त्यहाँ नेपाली पाठ्यक्रममा आधारित विद्यालय सञ्चालन र विस्तार पनि हुँदै गएको छ। नेपाली भाषा र संस्कृति सिकाउने तथा नेपालको शिक्षा प्रणालीसँग नयाँ पुस्तालाई जोडिराख्ने उद्देश्यले स्थापना भएका यस्ता विद्यालयहरूले प्रवासी नेपाली समुदायमा छुट्टै पहिचान बनाइरहेका छन्।

जापानका विभिन्न सहरमा नेपाली पाठ्यक्रम वा नेपाली भाषा तथा संस्कृति समेटेर शिक्षा प्रदान गर्ने विद्यालय सञ्चालनमा छन्। तीमध्ये एभरेस्ट इन्टरनेसनल स्कुल जापान (इआइएसजे) नेपाली पाठ्यक्रममा शिक्षण–सिकाइ क्रियाकलाप सञ्चालन गर्ने प्रमुख विद्यालयमध्ये एक हो। यस विद्यालयले नेपाल सरकारबाट नेपाली पाठ्यक्रम सञ्चालनको मान्यता प्राप्त गरी नेपाली तथा अन्तर्राष्ट्रिय दुवै शैक्षिक प्रणालीलाई समेटेर प्रवासी नेपाली समुदायका सन्तानलाई पढाउँदै आएको छ।

यही साउन १३ गते गुरुपूर्णिमाका दिन नागरिककर्मी उक्त विद्यालयमा पुग्दा विद्यार्थीहरू नेपाली संस्कृति अनुसार गुरुहरूलाई गच्छेअनुसार उपहार दिएर सम्मान गरिरहेको अवस्थामा भेटिएका थिए। नेपालीसँगै जापानी मूलका विद्यार्थी पनि विद्यालयमा अध्ययनरत देखिनुले नेपाली कला–संस्कृतिले विदेशीलाई समेत आकर्षित गरेको देखिन्थ्यो।

नेपालका विद्यालयमा आयोजना गरिने विभिन्न प्रतियोगिताजस्तै यस स्कुलका विद्यार्थीले पनि गुरुमा समर्पित कविता प्रतियोगितामा सहभागिता जनाएका थिए। उनीहरू नेपालीमै कुराकानी गर्ने, कविता वाचन गर्ने र कक्षाकोठाको सिकाइ पनि नेपाली भाषामै गरिरहेका थिए। दृश्य हेर्दा नेपालकै कुनै विद्यालयमा पुगेको आभास हुन्थ्यो। विद्यार्थीहरूले नागरिककर्मीलाई समेत गुरुपूर्णिमाको अवसरमा उपहार दिएका थिए। त्यसले नेपालीहरूको भावनात्मक सम्बन्ध र संस्कारलाई झल्काउँथ्यो।

त्यस विद्यालयमा कक्षा २ मा भर्ना भएका रोचक पाठक अहिले त्यही नै कक्षा १२ मा अध्ययनरत छन्। काठमाडौंमा कक्षा १ मा अध्ययन गर्दागर्दै छाडेर अभिभावकसँगै जापान आएका उनी एभरेस्टमा नेपाली पाठ्यक्रम अध्ययन गर्न पाउँदा निकै खुसी छन्। ‘स्कुलमा नेपाली साथीसँग बसेर पढ्ने अवसर पाउँदा नेपाली संस्कृति र संस्कार सिक्ने अवसर पाएको छु,’ भविष्यमा आइटी इन्जिनियर बन्ने सपना लिएका रोशनले नागरिकसँग भने, ‘जापानीसँग भन्दा पनि नेपालीसँग बसेर पढ्दा रमाइलो लाग्छ।’

पछिल्लो समय आफ्ना अभिभावकसँगै जापानमा बस्दै आएका विकल्प गुरुङले एभरेस्टमा कक्षा १२ मा भर्ना भएर पढाइलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए। उनले पोखराको मदरल्यान्ड स्कुलमा कक्षा ११ सम्म अध्ययन गरेका थिए। जापान आएपछि उनी यसै वर्ष कक्षा १२ मा भर्ना भएका हुन्। ‘मलाई त आफ्नो पढाइ अलपत्र पो पर्ने हो कि भन्ने ठुलो चिन्ता थियो,’ नेपाल र जापान दुवै देशको अध्ययन अनुभव हासिल गरिरहेका विकल्प भन्छन्, ‘तर नेपाली पाठ्यक्रममै आधारित एभरेस्ट स्कुलमा कक्षा १२ मा भर्ना भएर पढाइलाई निरन्तरता दिन पाउँदा ढुक्क भएँ। नेपाली स्कुलमै पढ्न पाउँदा नेपाली पाठ्यक्रम र संस्कारसँग जोडिरहन पाइएकोमा खुसी छु।’

कक्षा १२ की स्नेहा न्यौपाने आफू जापानमा रहेर पनि नेपाली पाठ्यक्रममा आधारित एभरेस्ट स्कुलमा पढ्ने अवसर पाएकोमा निकै हर्षित छन्। कक्षा ६ देखि अध्ययन गरिरहेकी स्नेहाले जापान र नेपाल दुवैको शिक्षण–सिकाइको अनुभव लिएकी छन्। ‘पाठ्यक्रम उस्तै छ तर जापानको एभरेस्ट स्कुलमा म्युजियम, विश्वविद्यालय, दूतावास, बगैंचा लगायत स्थानमा भ्रमण गराई व्यावहारिक ज्ञान हासिल गराइन्छ। यो निकै रमाइलो हुन्छ,’ स्नेहाले भनिन्, ‘नेपालमा मैले कक्षा ६ सम्म पढ्दा यसमा कमी रह्यो।’

एभरेस्ट स्कुलमा किन्डर गार्टेनदेखि कक्षा १२ सम्म ६०० को हाराहारीमा विद्यार्थी अध्ययनरत रहेको संस्थापक अध्यक्ष भूपालमान श्रेष्ठले बताए। उनका अनुसार किन्डर गार्टेन जापानी शिक्षा प्रणालीमा आधारित छ। किन्डर गार्टेनमा तीनदेखि पाँच वर्ष उमेर समूहका बालबालिका अध्ययनरत छन्।

 जापानी शिक्षण प्रणालीअनुसार तीन वर्ष उमेरका लागि नर्सरी, चार वर्षका लागि एलकेजी र पाँच वर्षका लागि युकेजी तोकिएको छ। ‘नेपाल सरकारको शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त स्कुल भए पनि किन्डर गार्टेनमा जापान सरकारले सब्सिडी (सरकारी अनुदान) दिन्छ। यसकारण बालबालिकाको उमेर हदबन्दी अनिवार्य छ,’ अध्यक्ष श्रेष्ठले नागरिकसँग भने, ‘सबै बालबालिकालाई जापानी चाइल्ड केयरसहित अन्य देशका शिक्षकले खेलकुद र नाचगानका माध्यमबाट शिक्षण–सिकाइ गराउनुहुन्छ। किताबमा आधारित शिक्षण–सिकाइ हुँदैन।’

उनले जापान सरकारले किन्डर गार्टेनमा अध्ययन गर्ने निजी विद्यालयका बालबालिकाको समेत शिक्षण खर्च बेहोर्ने बताए।

संस्थापक श्रेष्ठका अनुसार उनी नेपालबाट जापान आएर एउटा कम्पनीमा कार्यरत थिए। जापानमा नेपाली समुदायको संख्या विस्तार हुँदै जाँदा यहाँ बस्ने नेपाली अभिभावकका बालबालिकालाई नेपाली पाठ्यक्रममा आधारित शिक्षा आवश्यक रहेको महसुस भएपछि साथीभाइसँग छलफल गरी उनी विद्यालय खोल्न जुटेका थिए। ‘जापानमा नेपालीहरूको संख्या विस्तार हुँदै गएपछि नेपाली पाठ्यक्रममा आधारित विद्यालयको आवश्यकता महसुस भयो,’ अध्यक्ष श्रेष्ठले विगत सम्झिए, ‘नेपालबाट पढ्दापढ्दै बिचमै पढाइ छाडेर जापान आउने र जापानमा पढ्दापढ्दै बिचमै पढाइ छाडेर परिवारसहित नेपाल फर्किने बच्चाहरूको पढाइ निरन्तरताका लागि विद्यालय स्थापना आवश्यक भयो।’

उनले थपे, ‘जापानी स्कुलमा अंग्रेजी कोर्स हुँदैन, जापानी कोर्स मात्र हुन्छ। यसकारण यो समस्या समाधान गर्न मैले अंग्रेजी र नेपाली माध्यममा पढाइ हुने गरी स्कुल खोलें। अर्को जापानमै जन्मेका बच्चालाई नेपाली भाषा, संस्कृति र पठनपाठनसँग जोड्न विद्यालय खोल्नु अत्यन्त आवश्यक थियो।’

नेपाली पाठ्यक्रम अंग्रेजीमा पनि पढाइने भएकाले यी विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा जुनसुकै देशमा पनि अध्ययन गर्ने बाटो खुल्ने विद्यालयको भनाइ छ। सन् २०१५ मा नेपालको शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर तथा पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त गरी जापानमा कक्षा सञ्चालन गरिएको हो।

स्थानीय पाठ्यक्रमका रूपमा जापानी भाषा पढाइने गरिएको अध्यक्ष श्रेष्ठले बताए। उनले जापानमा अपुग शिक्षक नेपालबाट मगाउने गरिएको बताए। ‘जापानमा खुला प्रतिस्पर्धामा शिक्षक आह्वान गरेर नियुक्त गर्छौं। अपुग शिक्षक नेपालबाट पनि झिकाउँछौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘हाल ८२ शिक्षक–कर्मचारीमध्ये दुई जना नेपालबाट आउनुभएको छ। अरू जापानमै रहेका नेपाली शिक्षक हुनुहुन्छ।’

सन् २०२० मा पहिलो एसइईमा सहभागिता जनाएको हो। यो विद्यालयबाट हालसम्म ६ ब्याचले एसइई दिइसकेका छन्। चार ब्याच कक्षा १२ उत्तीर्ण भइसकेका छन्। विद्यालयले सधैं उत्कृष्ट नतिजा दिँदै आएको जनाइएको छ।

 एसइई र कक्षा १२ को प्रश्नपत्र नेपालको राष्ट्रिय परीक्षा बोर्डबाटै आउने गरेको प्रिन्सिपल विष्णुप्रसाद भट्टले बताए। विशेषगरी नेपाली मूलका साथै अन्य देशका बालबालिका पनि यहाँ अध्ययनरत रहेको उनले जानकारी दिए। शिक्षकतर्फ नेपाली शिक्षकसँगै भारत, फिलिपिन्स, सिंगापुर, बेलायतलगायत देशका रहेको प्रिन्सिपल भट्टले सुनाए। ‘जापानी भाषा पढाउन जापानी शिक्षक हुनुहुन्छ,’ उनले भने।

प्रिन्सिपल भट्टका अनुसार जापानको एभरेस्ट नेपाल सरकारको शिक्षा मन्त्रालयबाट वदेशी भूमिमा मान्यता प्राप्त विश्वकै एक मात्र नेपाली विद्यालय हो। यस विद्यालयले जापान सरकारको शिक्षा मन्त्रालयबाट पनि मान्यता प्राप्त गरेको छ,’ प्रिन्सिपल भट्टले नागरिकसँग भने, ‘एसइई र कक्षा १२ को अनुगमन तथा नियमन जापानस्थित नेपाली दूतावासले गर्छ। परीक्षाका उत्तरपुस्तिका दूतावासमार्फत नेपाल पठाइन्छ। नतिजा प्रकाशन नेपालमै हुन्छ। शैक्षिक प्रमाणपत्र दूतावासमार्फत नेपालबाट जापान आइपुग्छ।’

 जापान सरकारले पनि जापानी हाई स्कुलको मापदण्ड पुगेको विद्यालयका रूपमा मान्यता दिएको यस विद्यालयमा क्याम्ब्रिजका कोर्ससमेत पढाइन्छ। ‘अब नेपालीसँगै अरू पाठ्यक्रम जस्तै ए–लेभल, आइबी पनि पठनपाठन गराउने तयारीमा छौं,’ प्रिन्सिपल भट्टले भने, ‘हाम्रो स्कुलमा पढेका बच्चा जापानबाहिर पनि जान सक्ने भएकाले पढाइको कन्टेन्ट जापानको तुलनामा बढी छ। व्यावहारिक र सैद्धान्तिक दुवै शिक्षण–सिकाइ पद्धतिमा आधारित शिक्षा हामीले दिँदै आएका छौं।’

जापानको टोकियोलगायत विश्वका अन्य विश्वविद्यालयमा पनि यहाँका विद्यार्थी अध्ययन गर्न सक्ने गरी एभरेस्टले पठनपाठन गराइरहेको उनले बताए। ‘मल्टिमिडिया, स्मार्ट बोर्ड, अनलाइन, आइटी कक्षा यहाँ सञ्चालनमा छन्,’ उनले भने, ‘विदेशी गेस्ट लेक्चररहरूले पनि अनलाइनबाटै कक्षा लिने भएकाले विद्यार्थीले अन्तर्राष्ट्रिय एक्सपोजर पाउने अवस्था छ।’

विद्यालयले नेपाली र अंग्रेजी माध्यममा नियमित कक्षा सञ्चालन गर्नुका साथै नेपाली भाषा, सामाजिक अध्ययन, नैतिक शिक्षा तथा सांस्कृतिक कार्यक्रमलाई पाठ्यक्रममा समेटेको छ। सप्ताहान्त कक्षामा जापानी विद्यालयमा अध्ययनरत नेपाली मूलका बालबालिकालाई अतिरिक्त रूपमा नेपाली भाषा तथा संस्कृति सिकाउने व्यवस्था गरिएको छ।

जापान महँगो र साँघुरो स्थान भएकाले बालबालिकाका लागि विद्यालयभित्रै खेलकुद मैदानको व्यवस्थापन चुनौतीपूर्ण रहेको प्रिन्सिपल भट्टले बताए। नेपालीहरूको आयआर्जनलाई ध्यानमा राखेर शुल्क निर्धारण गरिएको उनको भनाइ छ।

शिशु कक्षामा सरकारले शुल्क बेहोर्ने भए पनि अन्तर्राष्ट्रिय स्तरको निजी विद्यालयको शुल्क अभिभावक आफैंले तिर्नुपर्ने हुन्छ। प्रिन्सिपल भट्टका अनुसार खेलकुद मैदानका लागि सार्वजनिक स्थान लिएर पनि व्यवस्थापन गरिएको छ।

‘जापानमा भारत, इन्डोनेसिया, कोरिया, श्रीलंकालगायत देशका विद्यालय पनि छन्। सम्बन्धित देशका सरकारले ती विद्यालयलाई आर्थिक सहयोग गरेका छन्,’ उनले भने, ‘तर नेपाल सरकारले नेपालबाहिर खोलिएका विद्यालयका लागि नीति निर्माण गर्न एउटा सहयोग डेस्क स्थापना गर्नुपर्छ। नीतिनियम, पाठ्यक्रम लगायतमा सहजता गर्न शिक्षा मन्त्रालय र जापानस्थित दूतावासमा छुट्टै हेल्प डेस्क स्थापना हुनुपर्छ।’

यसका अतिरिक्त जापानका टोकियो, सैतामा, कानागावा, आइची, ओसाकालगायत क्षेत्रमा नेपाली समुदायले सप्ताहान्त कक्षा तथा नेपाली भाषा विद्यालय पनि सञ्चालन गर्दै आएका छन्। ती संस्थाले नेपाली भाषा, संस्कृति, इतिहास र परम्परागत मूल्यहरूको शिक्षा दिँदै आएका छन्।

जापानमा हजारौं नेपाली परिवार स्थायी वा दीर्घकालीन रूपमा बसोबास गर्न थालेपछि त्यहाँ जन्मिएका वा बाल्यकालमै पुगेका बालबालिकामा नेपाली भाषा प्रयोग घट्दै गएको अभिभावकहरूको अनुभव छ। धेरै बालबालिकाले जापानी भाषा सहज रूपमा सिके पनि नेपाली भाषा पढ्न–लेख्न कठिनाइ हुने अवस्था देखिएपछि नेपाली पाठ्यक्रम सञ्चालनको आवश्यकता महसुस गरिएको हो। यसले नेपाल फर्किएर अध्ययन गर्नुपर्ने अवस्था आए विद्यार्थीलाई नेपाली शिक्षा प्रणालीमा समायोजन हुन सहयोग पुग्ने विश्वास गरिएको छ। नेपाली पाठ्यक्रम वा नेपाली भाषा शिक्षासम्बन्धी विद्यालय तथा कक्षाहरू मुख्यतः टोकियो महानगर क्षेत्र, सैतामा, चिबा, कानागावा, आइची (नागोया), ओसाका, गुन्मा, फुकुओकालगायत नेपालीको उल्लेख्य बसोबास रहेको क्षेत्रमा सञ्चालन भइरहेका छन्।

यस्ता छन् चुनौतीहरू

विदेशमा खोलिने विद्यालयहरूसामु चुनौतीहरू पनि अनेकौं छन्। यस्ता विद्यालयले शिक्षक अभाव झेल्नुपर्छ। नेपालबाट पाठ्यपुस्तक ल्याउने समस्या पनि ठुलो छ। यस विद्यालयले आर्थिक स्रोतको सीमितता, जापानी कानुनी प्रक्रिया, पर्याप्त भवन तथा पूर्वाधार व्यवस्थापनजस्ता चुनौतीको सामना गरिरहनुपरेको छ।

 नेपाली समुदायको आर्थिक सहयोग र अभिभावकको सहभागितामा विद्यालय सञ्चालन भइरहे पनि दीर्घकालीन स्थायित्वका लागि नेपाल र जापान दुवै देशका सम्बन्धित निकायको सहयोग आवश्यक रहेको विद्यालय सञ्चालकहरूको भनाइ छ।

(जापानबाट फर्केपछि)

प्रकाशित: २० श्रावण २०८३ ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App