शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले देशका विभिन्न आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति तय गरेको छ। मन्त्रालयले मंगलबार सूचना जारी गर्दै असार १३ गतेदेखि १५ गतेसम्म अन्तर्वार्ता सञ्चालन हुने जनाएको हो।
मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, राजर्षिजनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सबै उम्मेदवारहरूको प्रस्तुतीकरण शिक्षा मन्त्रालयमै हुने जनाइएको छ।
शिक्षा मन्त्रालयका अनुसार हाल देशभरका १५ विश्वविद्यालय उपकुलपति वा रजिष्ट्रारविहीन अवस्थामा निमित्तको भरमा सञ्चालन भइरहेका छन्, जसले शैक्षिक प्रशासन र दीर्घकालीन योजना कार्यान्वयनमा असर पारिरहेको छ।
यसअघि गत जेठ २२ गते मन्त्रालयले आठ विश्वविद्यालयका लागि उपकुलपति पदमा आवेदन दिएका उम्मेदवारमध्ये ७७ जनाको नाम समेटिएको अल्पसूची सार्वजनिक गरेको थियो।
सिफारिस समितिले अल्पसूचीमा परेका उम्मेदवारबारे सरोकारवाला निकाय र सर्वसाधारणबाट राय–सुझाव समेत संकलन गरिसकेको छ। अब अन्तर्वार्ता र प्रस्तुतीकरणपछि नयाँ उपकुलपति नियुक्ति प्रक्रिया टुंगो लाग्ने अपेक्षा गरिएको छ।
प्रकाशित: २ असार २०८३ १८:४८ मंगलबार



