शिक्षा

पढाइ माग गर्दै क्याम्पसमा तोडफोड

कलेन्द्र सेजुवाल, सुर्खेत, फागुन २- पढाइ सञ्चालन गर्न माग गर्दै सोमबार बिहान विद्यार्थीले वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा तोडफोड गरेका छन्। उनीहरुले क्याम्पसको प्रशासनिक र शैक्षिक भवनमा ढुङ्गा हानेर सिसा फोडेका छन्।  
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आधार क्याम्पसको रुपमा रहेको बहुमुखी क्याम्पसमा चार विद्यार्थी संगठनले पठनपाठन बन्दको घोषणा गरेपछि विद्यार्थी त्यसको विरोधमा उत्रिएका हुन्। पढाइ सञ्चालन माग गरेर स्वस्फूर्त रुपमा प्रदर्शनमा उत्रिएका विद्यार्थीले क्याम्पस प्रशासन र आन्दोलनकारीको विरोधमा नाराबाजी गरेका थिए। 'आन्दोलनकारी विद्यार्थीका मागबारे हामीलाई केही भन्नु छैन,' प्रशासनिक भवनमा ढुङ्गा हान्दै गरेका एक विद्यार्थीले भने, 'तर पढाइ बन्द गर्ने अधिकार कसैलाई पनि छैन।' उनले महँगो शुल्क तिरेर भर्ना भएकोले जुनसुकै सर्तमा पढ्न पाउनु पर्ने माग गरे।
अनेरास्ववियू, नेक्राविसंघ, अखिल छैटौँ र नेकपा-माओवादीनिकट अखिल क्रान्तिकारीले एक साताअघि पठनपाठन बन्द घोषणा गरेका थिए। त्यसयता करिब दुई हजार विद्यार्थी अध्ययनरत क्याम्पसको पठनपाठन ठप्प छ। यसमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी पनि प्रभावित भएका छन्।
विद्यार्थीले क्याम्पस प्रमुख लीलाधर तिवारीसँग पढाइ सुरु गर्न माग गरिरेहेको अवस्थामा तिवारी स्वयं आइतबार काठमाडौं हिँडेपछि विद्यार्थीहरु आक्रोशित भएका हुन्। क्याम्पसका शिक्षकहरु क्याम्पस प्रमुख तिवारीले समस्या समाधान गर्नुको साटो काठमाडौं हिँडेपछि अनिश्चितता बढेको बताउँछन्। 'यस्तो बेला क्याम्पस प्रमुखले यहीँ बसेर पढाइ सुरु गराउन पहल गर्नुपर्थ्यो,' पब्लिक क्याम्पस प्राध्यापक संघ क्याम्पस इकाईका कार्यवाहक सभापति अमर रोकायाले भने, 'जिम्मेवार मान्छे काठमाडौं भागेर समस्याको समाधान कसरी हुन्छ?' उनले काठमाडौंमा रहेका विश्वविद्यालयका पदाधिकारीलाई पनि यथाशक्य सुर्खेत आई समस्या समाधानमा लाग्नु पर्ने बताए।
आन्दोलनकारी विद्यार्थीहरु भने अध्ययन सुरु गर्ने मनस्थितिमा छैनन्। अनेरास्ववियू जिल्ला अध्यक्ष डम्बर गरङ्जाले विश्वविद्यालयले आफ्ना माग पुरा नगर्दासम्म आन्दोलन फिर्ता नलिने बताए। पढाइ सुरु हुनुपर्ने माग राखेर तोडफोडमा नउत्रिन उनले विद्यार्थीलाई आग्रह गरे। 'विश्वविद्यालयले हाम्रा माग सम्बोधन नगर्दासम्म पठनपाठन सुरु हुँदैन,' उनले भने, 'क्याम्पसमा ढुङ्गामुढा गरेर समस्याको समाधान हुँदैन।'
बहुमुखी क्याम्पसका स्ववियू सचिव एवं नेविसंघ नेता झलक भण्डारीले आन्दोलनकारी चार विद्यार्थी संगठन र क्याम्पस प्रमुखको गैरजिम्मेवारीको कारण विद्यार्थीहरु आक्रोशमा उत्रिएको बताए। 'हामीले पठनपाठन बन्द हुनु हुँदैन भनेर समस्या समाधानको लागि पहल गरिरहेका थियौं,' उनले भने, 'तर पठनपाठन बन्दलाई नै सम्पूर्ण समस्याको समाधान ठान्ने प्रवृत्तिले क्याम्पसमा अराजक स्थिति बढ्यो।' विद्यार्थीलाई तोडफोडमा नउत्रिन आग्रह उनले गरे।

प्रकाशित: १ फाल्गुन २०६९ १२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App