शिक्षा

गाउँपालिकाले दैनिक खाजा खर्च र भत्ता दिन थालेपछि शिक्षकमा नयाँ उत्साह

जुम्लाको कनकासुन्दरी गाउँपालिकाले शिक्षकहरूलाई दैनिक ५० रुपैयाँ खाजा खर्च उपलब्ध गराइरहेको छ। गत वर्षको असारदेखि शिक्षकलाई खाजा खर्च दिन थालिएको हो। 

गाउँपालिकाभित्रका विद्यालयमा अध्यापन गराउने शिक्षक, कार्यालय सहयोगी र कर्मचारीलाई खाजा खर्चको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताए। आचार्यले भने, ‘सबै विद्यालयका प्रधानाध्यापकलाई प्रशासनिक भत्ता व्यवस्था गरिएको छ। माध्यमिक तहमा ५०० रुपैयाँ, आधारभूत तहमा २५० र प्राथमिक तहमा २०० रुपैयाँ प्रशासनिक खर्च उपलब्ध गराइएको छ।’ 

कनकासुन्दरी गाउँपालिकामा २७ वटा विद्यालय छन्। ४३३ जना शिक्षक र कर्मचारी छन्। उनीहरू सबैले खाजा खर्च पाइरहेका छन्। २७ जना प्रधानाध्यापकले प्रशासनिक खर्च पाउँछन्। शिक्षकको मनोबल उच्च राख्न खाजा खर्चको व्यवस्था गरिएको अध्यक्ष आचार्यले बताए। ‘जबसम्म गुणस्तरीय शिक्षा प्रदान गर्न सकिँदैन, तबसम्म दक्ष जनशक्ति उत्पादन गरेर अघि बढ्न सकिँदैन,’ उनले भने, ‘शिक्षकमा उत्साह बढोस् भनेर यो व्यवस्था गरेका हौँ।’ विद्यार्थीले दिवा खाजा खाए पनि शिक्षकले दिनभर खाली पेट पढाउनुपर्ने बाध्यता थियाे। साेहीकारण गाउँपालिकाले खाजा खर्चको व्यवस्था गरेको हो।  

विद्यालयमा गुणस्तर कायम गर्न पटकपटक अनुगमन हुने गरेको गाउँपालिकाको शिक्षा शाखा प्रमुख जीवनबहादुर रोकाया बताउँछन्। उनले भने, ‘पहिलो चरणको अनुगमनमा शिक्षकले पनि समस्या भोगिरहेको देखिएपछि गाउँपालिकाले खाजा खर्च दिने गरेको हो।’ ‘पहिले शिक्षक विद्यालय नजाने, ४५ मिनेट पनि नपढाउने समस्या थियो। हरेक बस्तीमा अभिभावक शिक्षा दियौँ। शिक्षकलाई खाजा खर्चको व्यवस्था गर्यौँ,’ रोकायाले भने, ‘अहिले पहिलेभन्दा निकै सुधार देखिएको छ।’ अनुगमनमा ७ जना शिक्षक निगरानीमा थिए। उनीहरूलाई गाउँपालिकाले स्पष्टीकरण सोधेपछि अहिले नियमित छन्। पहिले मनलाग्दी बिदा बस्ने लतले विद्यालयमा नियमित उपस्थिति कम थियो। अहिले शिक्षक र प्रधानाध्यापकले बिदा स्वीकृत नभएसम्म बिदा बस्न पाउँदैनन्। 

कनकासुन्दरी गाउँपालिकाले १० वर्षे शिक्षा रणनीति योजना बनाएको छ। यो वर्ष शिक्षा क्षेत्रमा विनियोजित २५ लाख रुपैयाँमध्ये ७५ प्रतिशत बजेट क्षमता विकास तालिममा खर्चिएको छ। ७ वटा विद्यालयमा स्मार्टबोर्ड जडान गरिएको छ। ७ जना आईटी शिक्षक नियुक्त गरिएको गाउँपालिकाले जनाएको छ। अहिले कनकासुन्दरीका शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा छन्। विद्यालयमा शिक्षकको नियमित उपस्थिति रहेको शिक्षकहरू बताउँछन्।

कनकासुन्दरी मावि लुड्कुका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्रप्रसाद उपाध्यायले प्रोत्साहनस्वरूप दिइएको भत्ताको प्रशंसा गरे। उनले भने, ‘यो उदाहरणीय कार्य हो, जुम्लाका ८ वटै स्थानीय तहमध्ये पहिलो कार्य भएको छ।’ यस्तै, कनकासुन्दरी गाउँपालिका (४) भैलेपाटा आधारभूत विद्यालयका प्रधानाध्यापक नन्दकुमारी बोहोराले शिक्षकले तलबबाहेक अन्य सेवा सुविधा नपाउने अवस्थामा खाजा खर्चले सम्मान गरेको बताइन्। ‘हामी खुसी छौँ,’ उनले भनिन्। 

प्रकाशित: १५ वैशाख २०८२ ०९:३२ सोमबार