विविधतामा एकता नै नेपाली समाजको सदियौंदेखिको वास्तविक चिनारी हो। हिमालदेखि तराई–मधेससम्म, पूर्वदेखि पश्चिमसम्म फैलिएको यो देश अनेकौं जाति, भाषा, धर्म, संस्कृति र परम्पराको साझा फूलबारी हो। यही विविधताको सुन्दर समन्वयले नेपाली संस्कृति निर्माण गरेको छ। यही विशेषताले नेपाललाई विश्व समुदायमा विशिष्ट पहिचान दिएको छ। त्यसैले कुनै एक स्थानमा देखिएको सांस्कृतिक वा धार्मिक विचलनलाई सम्पूर्ण समाजको चरित्रका रूपमा व्याख्या गर्नु न्यायोचित एवं राष्ट्रहितमा हुँदैन। नेपाली समाज विभाजनको होइन, सहअस्तित्व र सद्भावको आधारमा अगाडि बढ्नु हो।
संस्कृति केवल चाडपर्व, भेषभूषा वा परम्पराको संग्रह मात्र होइन, यो हाम्रो परिचय हो, पहिचान हो र सामूहिक अनुभूति पनि हो। हामी कसरी बोल्छौं, कसरी सोच्छौं र कसरी बाँच्छौं भन्ने कुरा संस्कृतिले निर्धारण गर्छ। त्यसैले संस्कृति जीवित रहनु भनेको हाम्रा सांस्कृतिक मूल्यहरू जीवित रहनु हो। दसैं, तिहार, तिज, बुद्ध पूर्णिमा, छठ, इद, उधौली, उभौली, ल्होसार, गौरा, माघी, सिरुवा, क्रिसमसलगायतका सबै पर्व नेपाली संस्कृतिका साझा सम्पदा हुन्। यी पर्व कुनै एक समुदायका मात्र होइनन्, समग्र नेपाली समाजका सांस्कृतिक सम्पत्ति हुन्। यिनको संरक्षण र सम्मान गर्नु नै नेपाली राष्ट्रिय एकताको जगलाई थप बलियो बनाउनु हो।
संस्कृतिका नाममा हुने विभेद, बहिष्कार वा असमान व्यवहार संस्कृति होइन, विकृति हो। लिंग, वर्ग, रङ, भूगोल, जाति वा धर्मका आधारमा हुने कुनै पनि भेदभावले संस्कृतिलाई समृद्ध बनाउँदैन। नेपालको संविधानले समानता, धार्मिक स्वतन्त्रता, सामाजिक न्याय र समावेशी लोकतन्त्रलाई सुनिश्चित गर्दै यस्ता विभेदको अन्त्य गर्ने स्पष्ट मार्गनिर्देशन गरेको छ। त्यसैले संस्कृतिको संरक्षणसँगै त्यसभित्र रहेका विभेदकारी अभ्यासहरूको सुधार पनि समान रूपमा आवश्यक छ। न्यायपूर्ण समाजको निर्माण त्यतिबेला मात्र सम्भव हुन्छ, जब संस्कृति मानव मर्यादा र समानताको पक्षमा उभिन्छ।
वास्तवमा कुनै पनि धर्मले मानिसलाई विभाजन गर्न सिकाउँदैन। सबै धर्मले प्रेम, करुणा, सहिष्णुता र मानवताको सन्देश दिन्छन्। विभेद धर्म र संस्कृतिको नाममा सीमित मानिसभित्र हुने संकीर्ण सोचले जन्माउँछ। त्यसैले एउटा धर्म वा संस्कृतिलाई दोष दिएर अर्को धर्म वा संस्कृतिलाई माथि उठाउने प्रयास नेपाली समाजको मौलिक चरित्रसँग मेल खाँदैन। हाम्रो सभ्यता परस्पर सम्मानता, सहअस्तित्व र विविधताको स्वीकारमा आधारित छ। यही विशेषता नै नेपालको सांस्कृतिक शक्ति हो।
आजको विश्वले पनि यही सन्देश दिन्छ। हामी बाँचेको पृथ्वी साझा छ, हाम्रा भावना साझा छन् र अन्ततः हाम्रो मानवता पनि साझा छ। विश्वव्यापीकरणको युगमा समाजहरू झन् बढी अन्तरसम्बन्धित हुँदै गएका छन्। यस्तो अवस्थामा जातीय, धार्मिक वा सांस्कृतिक संकीर्णताले कुनै पनि समाजलाई समृद्ध बनाउन सक्दैन। नेपाली समाजले पनि यही मान्यतालाई व्यवहारमा उतार्न सक्नुपर्छ।
यसको प्रेरणादायी उदाहरण नेपालगन्ज उपमहानगरपालिका–११ इदगाह रोडमा बसोबास गर्ने हिन्दु परिवारकी पदमा श्रेष्ठ र मुस्लिम समुदायका रिजाउल मुस्तफा मन्जरीको अन्तरधार्मिक विवाहलाई लिन सकिन्छ। २०६९ फागुनमा सम्पन्न भएको यो विवाह केवल दुई व्यक्तिको सम्बन्ध मात्र थिएन, धार्मिक–सांस्कृतिक सहिष्णुता र सामाजिक सद्भावको सशक्त सन्देश पनि थियो। उनीहरूले तीन वर्षसम्म एकअर्काको धर्म र संस्कृतिलाई बुझ्ने प्रयास गरे, परिवारको विश्वास जिते र समाजको सम्मान गर्दै सम्बन्धलाई विवाहमा परिणत गरे। उनीहरू समाजबाट भागेर होइन, समाजलाई नै साक्षी राखेर विधिवत् मागी विवाहमा बाँधिए। यस घटनाले दिएको सन्देश स्पष्ट छ– समझदारी, संवाद र सम्मानका माध्यमबाट फरक धार्मिक तथा सांस्कृतिक समुदायबिच पनि बलियो सम्बन्ध निर्माण गर्न सकिन्छ।
यही दृष्टान्तलाई आजको उत्तरआधुनिक समाजले मार्गदर्शनका रूपमा लिन आवश्यक छ। समाज अब कुनै एक जाति, भाषा वा धर्मको केन्द्रमा होइन, सबैको समान सहभागिता र सम्मानको आधारमा अघि बढ्नुपर्छ। समावेशी समाज भनेको केवल कानुनी व्यवस्था होइन, व्यवहारमा पनि सबै समुदायले समान अपनत्व महसुस गर्ने वातावरण हो। त्यसका लागि शिक्षा, सञ्चार, राजनीतिक नेतृत्व र नागरिक समाज सबैले सहिष्णुता र सद्भावको संस्कृतिलाई प्रवर्धन गर्नु आवश्यक छ। भर्खरै सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा केही देखिएको धार्मिक–सांस्कृतिक विचलन सद्भाव भत्काउने विकृति थियो, जुन अब शान्तितर्फ उन्मुख भएको छ। कुनै पनि विवादको समाधान संवाद, संयम र कानुनी प्रक्रियाबाट खोजिनु नै सभ्य समाजको पहिचान हो।
हामी सबैभन्दा पहिला मान्छे हौं अनि नेपाली हौं। हाम्रो राष्ट्रिय पहिचान कुनै एक जाति, भाषा वा धर्मले निर्धारण गर्दैन, ती सबैको साझा योगदानले निर्माण गर्छ। यही विविधतामा एकताको भावना नै नेपालको सबैभन्दा ठुलो सम्पत्ति हो। त्यसैले कुनै पनि प्रकारको धार्मिक वा सांस्कृतिक असहिष्णुतालाई स्थान नदिई परस्पर सम्मान, समानता र सहअस्तित्वलाई राष्ट्रिय संस्कृतिका रूपमा स्थापित गर्नु आजको आवश्यकता हो। विविधतामा एकता केवल नारामा सीमित नभई व्यवहारमा पनि प्रतिविम्बित हुन सके मात्रै नेपाली समाज अझ सुन्दर, सभ्य र समुन्नत बन्नेछ। यही मार्गले राष्ट्रिय एकता बलियो हुनेछ र नेपालको भविष्य सुरक्षित र समृद्ध बन्नेछ।
प्रकाशित: १९ श्रावण २०८३ ०६:०४ मंगलबार