युवाहरूलाई उद्यमशीलतामा आकर्षित गर्दै देशको आर्थिक विकासमा जोड्ने उद्देश्यले चौथो नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन आयोजना हुने भएको छ।
नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) को संयुक्त आयोजनामा उक्त सम्मेलन आगामी भदौ ३० गते काठमाडौंमा हुनेछ।
सम्मेलन आयोजनाका लागि मंगलबार राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सन् २०१९ देखि परिषद् र इन्स्टिच्युटले निरन्तर रूपमा यो सम्मेलन आयोजना गर्दै आएका छन्।
समझदारी कार्यक्रममा बोल्दै परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले नयाँ पुस्ता (जेनजी) लाई उद्यमशीलतामा आकर्षित गर्ने, सरकारले ल्याएका नीतिगत व्यवस्थाको प्रवर्द्धन गर्ने तथा स्टार्टअप उद्यमहरूलाई वित्तीय सहजीकरण गर्न सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे।
उनले भने, ‘युवाहरूलाई उद्यमी बन्न प्रोत्साहित गर्नु र उनीहरूका लागि सहज वातावरण निर्माण गर्नु हाम्रो मुख्य लक्ष्य हो।’
यस्तै, एनबीआईका कार्यकारी अध्यक्ष एवं सम्मेलन मूल आयोजक कमिटीका संयोजक विशाल गैरेले सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदार निकायले युवा उद्यमशीलतामा गरेका प्रयासहरूको समीक्षा गर्दै भावी रणनीति बनाउन सम्मेलनले मार्गनिर्देश गर्ने बताए।
उनका अनुसार, सम्मेलनमा देशभरबाट उद्यमी बन्न चाहने युवा, स्थापित युवा उद्यमी, लगानीकर्ता र उच्चपदस्थ सरकारी अधिकारीसहित करिब ५०० प्रतिनिधिको सहभागिता रहनेछ।
‘युवा उद्यमशीलताः नीति, कार्यक्रम र कार्यान्वयन’ भन्ने मूल नाराका साथ आयोजना हुने सम्मेलनको समुद्घाटन प्रधानमन्त्रीले गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा पूर्वप्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री, दातृ निकायका प्रतिनिधि तथा निजी क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको पनि सहभागिता रहने आयोजकले जनाएको छ।
सम्मेलनमा युवाका लागि वित्तीय पहुँच, सरकारी तथा कर नीति, स्टार्टअप कार्यक्रम, सफल उद्यमीहरूको अनुभव आदानप्रदान (स्टोरी सेयरिङ), र सामूहिक छलफल जस्ता विषयमा सत्रहरू सञ्चालन हुनेछन्। यसले युवा उद्यमीहरूको क्षमता अभिवृद्धि र उनीहरूको उद्यम विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने आयोजकको विश्वास छ।
प्रकाशित: १३ श्रावण २०८२ १९:५७ मंगलबार