पूर्वअर्थमन्त्री रामेश्वर खनालले उद्योगी व्यवसायीको घर र कार्यस्थलमा छापा मार्ने काम सही नभएको बताएका छन्।
सोमबार बिहान विराटनगरस्थित प्रतिष्ठित औद्योगिक घराना देवनारा समूहका सञ्चालक प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले छापा मारेको थियो। करिब साढे ५ घण्टासम्म खानतलासी गरे पनि प्रहरीले रित्तो हात फर्कनुपरेको घटनालाई लिएर विभिन्न कोणबाट टिप्पणी भइरहेको छ।
राज्यले उद्यमी-व्यवसायीलाई सुरक्षा प्रदान गर्नुपर्नेमा प्रहरी प्रशासनको आडमा आतंकित पार्न खोजिएको भन्दै आलोचना भइरहेका बेला पूर्वअर्थमन्त्री खनालले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका हुन्। उनले भनेका छन् ‘उद्यमी-व्यवसायीको घर, कार्यस्थलमा छापा मार्ने काम गतिलो होइन!’
यो पनि पढ्नुहोस्
व्यापारिक घराना देवनारा समूहको घर र अफिसमा प्रहरीको छापा
प्रहरीले अवैध नगद सञ्चित, हुन्डी र चाँदीको कारोबार तथा कर छलीको आशंकामा सो खानतलासी चलाएको स्रोतले बताए पनि प्रहरी प्रशासनले आधिकारिक रूपमा केही खुलाएको छैन। खानतलासीपछि व्यवसायी मुन्दडाले प्रहरीले घरका सबै कोठा र भकारीसम्म चेक गरे पनि केही नभेटेको र आफूहरूलाई सफाइ दिएर गएको बताएका छन्।
प्रकाशित: १८ श्रावण २०८३ २०:२५ सोमबार



