अर्थ

टेलिकमले बदल्यो अन्तर्राष्ट्रिय कलको पल्स, अब सबै देशमा ६० सेकेन्ड

नेपाल टेलिकमले आफ्नो फोन तथा मोबाइल सेवाबाट गरिने अन्तर्राष्ट्रिय कलको पल्स अवधि ३० सेकेन्डबाट बढाएर ६० सेकेन्ड कायम गरेको छ। नयाँ व्यवस्थाअनुसार आजदेखि विश्वका सबै देशमा गरिने अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको पल्स अवधि लागू भएको हो।

नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले नेपाल दूरसञ्चार प्राधिकरणको गत भदौ २४ गतेको निर्णय र स्वीकृतिका आधारमा पल्स अवधि परिवर्तन गरिएको बताए।

दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम प्राप्त स्वीकृतिअनुसार अब सबै देशका दूरसञ्चार सेवा प्रदायकको सञ्जालमा कल गर्दा ६० सेकेन्डको पल्सका आधारमा शुल्क गणना हुनेछ।

यसअघि २०८२ फागुन १ गतेको निर्णयअनुसार प्राप्त स्वीकृतिका आधारमा ५८ देशमा ६० सेकेन्डको पल्स अवधि लागू गरिएको थियो। अब बाँकी देशमा समेत आजदेखि नयाँ व्यवस्था लागू हुने टेलिकमले जनाएको छ।

टेलिकमले हाल विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकसँग अन्तर्राष्ट्रिय कल गर्न विभिन्न पहुँच सङ्केत (एक्सेस कोड) को व्यवस्था गरेको छ।

अन्तर्राष्ट्रिय कल गर्दा सुरुमा सम्बन्धित पहुँच सङ्केत र त्यसपछि देशको सङ्केत राखेर सेवा प्रदायकको नम्बर डायल गर्नुपर्ने व्यवस्था छ।

विभिन्न देशमा अन्तर्राष्ट्रिय कल गर्दा लाग्ने दररेटबारे नेपाल टेलिकमको आधिकारिक वेबसाइटमार्फत जानकारी लिन सकिने टेलिकमले जनाएको छ।

प्रकाशित: ८ मंसिर २०८३ १६:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App