प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लागेको छ।
सोमबार बजार खुले लगत्तै नेप्सेमा चार प्रतिशतको वृद्धि देखिएपछि २० मिनेटका लागि कारोबार रोकिएको नेप्सेले जनाएको छ। बजार खुलेको एक मिनेटभित्रै नेप्से परिसूचकमा १०८ दशमलव ६० अङ्कको वृद्धि देखिएको हो।
हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’ सम्बन्धी व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ।
त्यस्तै, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गरिने व्यवस्था रहेको छ।
प्रकाशित: २५ फाल्गुन २०८२ ११:१३ सोमबार



