अर्थ

पोखराको पर्यटन: आन्तरिक पाहुना बने व्यावसाय धान्ने आधार

कम्तिमा ४० प्रतिशत हिस्सा आन्तरिक पाहुनाको

पोखरामा विदेशी पाहुना अभाव हुन थालेपछि झन्डै अढाई दशक अघि पोखराले बल्ल आन्तरिक पाहुना अभाव महसुस गर्न थालेको हो। पोखरामा अढाई दशक अघिसम्म आन्तरिक पाहुनाको हिस्सा बढिमा पाँचप्रतिशत थियो, त्यो बेला विदेशी पाहुनाको मात्र बाहुल्यता रहन्थ्यो।  

आन्तरिक पाहुना पोखरा नआउने र पर्यटन व्यावसायीले पनि आइहालेका आन्तरिक पाहुनालाई त्यो बेला खासै महत्व दिँदैनथे। विदेशी पाहुनालाई मात्र पर्यटक सम्झने अवस्था त्यो बेला थियो। जसोतसो पोखरा आइपुगेका स्वदेशी पाहुना पनि लेकसाइडको साटो सहरभित्रै अन्यत्रका होटलमा रात बिताउँथे।  

आन्तरिक पर्यटकले पर्यटकीय क्षेत्र लेकसाइडलाई उत्तिसारो चिनेका पनि थिएनन। पाहुनाले त चिनेनन् नै, व्यावसायीले पनि वास्ता नगर्दा पोखरा झरेका पाहुना लेकसाइड पुग्नको साटो पृथ्वीचोकतिरका होटलमा बस्थे। त्यो बेलासम्म न त होटलले पाहुना चिनेका थिए, न पाहुनाले नै लेकसाइडका होटल चिनेका थिए। पृथ्वीचोकका होटलमा बास बस्ने, अनि फेवातालमा डुंगा सयर गर्ने र बास बस्न फेरि पृथ्वीचोक नै फर्किने त्यो बेलाका पाहुनाको भ्रमण तालिका रहन्थ्यो।  

द्वन्द्वका कारण विदेशीको आगमन कमजोर रहेको र स्वदेशी पाहुना पनि अभाव हुँदा व्यावसायी त्यो बेला व्यावसाय धान्न नसकेर अत्तालिने पनि गरेका थिए। पाहुनाको त्यही अभावलाई टार्नका लागि व्यावसायीले एउटा उपाय सोचे। आन्तरिक पाहुनाका लागि ‘जाउँ है पोखरा’ अभियान चलाउने र बढि भन्दा बढि आन्तरिक पाहुनालाई पोखरा घुम्न बोलाउने व्यावसायीको त्यही उपाय नै अहिले पर्यटन क्षेत्र धान्ने सबैभन्दा बलियो आधार बनेको छ। विदेशी पाहुनाको अभाव आन्तरिक पाहुनाले पुरा गरिदिएपछि बल्ल व्यावसायी पनि आन्तरिक पाहुनातिर आकर्षित भएका हुन्।

‘आन्तरिक पाहुना नै अहिलेको हाम्रो व्यावसाय चलाउने मुख्य आधार बनेको छ। आन्तरिक पाहुनाका कारण पर्यटन क्षेत्र चलायमान बनेको छ। आन्तरिक पाहुनाले नै पर्यटन क्षेत्रको साख जोगाएको छ,’ होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन, ‘अहिले आन्तरिक पाहुना पनि आउन थालेका छन। व्यवासायीले पनि आन्तरिक पाहुनालाई महत्व दिएर पोखरा घुम्न बोलाउन थालेका छन।’

व्यावसायीका अनुसार अहिले पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पाहुनाको हिस्सा कम्तिमा ४० प्रतिशत पुगेको छ। आन्तरिक पाहुनाको यो हिस्सा कुनैबेला त बढेर ७० प्रतिशतसम्म पनि पुग्छ। 

‘सिजनका बेला ७० प्रतिशत हिस्सा आन्तरिक पाहुनाले ओगट्छ। अफसिजनमा १५/२० प्रतिशतसम्म पनि झर्छ,’ उनले भने, ‘पोखराको पर्यटन क्षेत्रको औसतमा करिब ४० प्रतिशत हिस्सा आन्तरिक पाहुनाले ओगटेका छन्। आन्तरिक पाहुना आउन पाएनन भने पर्यटन क्षेत्रले ठूलो मार खेप्छ।’

व्यावसायीका अनुसार आन्तरिक पाहुनालाई पोखरा आउनका लागि खासै ठूलो अवसर चाहिँदैन। सामान्य अवस्थामा दुईदिन सार्वजनिक बिदा परेमा पनि पोखराले आन्तरिक पाहुना पाइहाल्ने उनीहरुले बताए। ‘कुनै ठूलो कार्यक्रम गरेर पाहुना बोलाउनु पर्दैन। सामान्य तरिकाले लगातार दुईदिन बिदा परेको खण्डमा पनि पाहुना आउँछन,’ सुवेदीले भने, ‘वर्षैपरि आन्तरिक पाहुना आउँछन। लामो बिदामा त झनै परिवारसहित नै आउँछन्।’ पर्यटन क्षेत्रले अप्ठेरो खेपेको बेलाका सारथी नै आन्तरिक पाहुना हुने गरेको उनले बताए। ‘भूकम्प, नाकाबन्दी, कोरोनापछिको अप्ठेरो लगातयका समयमा आन्तरिक पाहुना नै व्यावसाय धान्ने आधार बनेको हो,’ उनले भने।

उनका अनुसार आन्तरिक पाहुनाको त्यही हिस्सा बढाउन मुलुकका विभिन्न सहरमा पुगेर पाहुनालाई पोखरा घुम्न बोलाउँदै जाउँ है पोखरा अभियान थालिएको हो। अभियान थाल्दा पाँचप्रतिशतको आगमन अहिले बढेर औसतमा ४० प्रतिशत आन्तरिक पाहुनाको हिस्सा बनेको र यसलाई बढाउन प्रयास गरिरहेको उनले बताए। 

‘जाउँ है पोखराकै कारण पोखराले आन्तरिक पाहुना बढेका हुन। त्यसमा दुइमत छैन। आन्तरिक पाहुना अहिले पोखराको पर्यटन क्षेत्र टिकाउने आधार बनेको छ,’ उनले भने। आन्तरिक पाहुनाको त्यही आगमन बढाउन अहिले पर्यटन क्षेत्रले मुलुकका विभिन्न सहरमा पुगेर पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्ने गरेका छन्। व्यवासायीले यो पटक पूर्वी नेपालमा यो अभियान चलाए।

व्यावसायीका अनुभवमा अहिले पोखरामा आन्तरिक पाहुनाको आगमन बाह्रैमास हुन्छ। कुनै न कुनै बहानामा पोखरामा आन्तरिक पाहुना आउने गरेका छन्। अझ पहुँचमा सहज हुदैजाँदा त्यो आगमन दर हरेक वर्ष बढेको बढ्यै रहेको उनीहरुले बताए। सानादेखि ठूला आकारका होटल समेत अहिले आन्तरिक पाहुनाको रोजाइमा पर्ने गरेको उनले बताए। ‘आन्तरिक पाहुना खर्चिला पनि छन्। पर्याप्त रकम आन्तरिक पाहुनाले खर्च गर्ने भएकोले पर्यटनले लाभ लिएको हो,’ अध्यक्ष सुवेदीले भने।  

पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने पनि पोखरामा आन्तरिक पाहुना भित्रिएको कारणले पर्यटनले साथ पाएको बताए। ‘होटल र रेस्टुरेन्ट मात्र नभई यहाँका सबै पर्यटकीय प्रडक्टले आन्तरिक पाहुना पाएका छन्। आन्तरिक पाहुना भित्रिएकोले नै अफसिजनको बेलामा यहाँँको पर्यटन क्षेत्र धानिएको हो,’ उनले भने। उनका अनुसार अहिले पोखराको पर्यटन क्षेत्रले ५० प्रतिशतसम्मको हिस्सा आन्तरिक पाहुनाले ओगटेका छन्।  

‘आन्तरिक पाहुनाको आगमन सधैं एकैनासको नभएपनि यहाँको करिब ५० प्रतिशत व्यावसाय आन्तरिक पाहुनाको कारण चलायमान बनेको छ। कुनैबेला त आन्तरिक पाहुनाको आगमन निकै नै उकालो लागेको हुन्छ,’ उनले भने, ‘आन्तरिक पाहुना खर्चिला पनि हुन्छन।’ लामिछानेले पोखराको आन्तरिक पर्यटनलाई चलायमान बनाउनका लागि नै हरेक वर्ष बोर्डले पर्यटन क्षेत्रसँग सहकार्य गरेर पर्यटन प्रवर्द्धनमा सहभागि हुने गरेको छ।  

‘जाउँ है पोखरा’ अभियान पोखराका लागि सबैभन्दा बलियो आधार बनेको छ। जसले आन्तरिक पाहुनालाई पोखरा भित्र्याउन सघाएको छ,’ लामिछानेले भने, ‘पर्यटन क्षेत्रका लागि आन्तरिक पाहुनाले गुन नै लगाएका छन्। पर्यटन क्षेत्र जब अप्ठेरो परेको हुन्छ, त्यो बेला आन्तरिक पाहुनाको साथ पाउँदा पर्यटन क्षेत्र चलायमान बन्ने गरेको छ।’ पोखराका होटल र रेस्टुरेन्ट मात्र नभई पोखराका साहसिक पर्यटकीय गन्तव्य पनि अहिले आन्तरिक पाहुनाकै भरमा चलेका छन्। त्यसबाहेक पोखरा आसपासका पर्यटकीय गन्तव्य पनि आन्तरिक पाहुनाले भरिभराउ हुँदा त्यसको लाभ समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्रले लिएको उनले बताए।

प्रकाशित: १४ चैत्र २०८२ १४:२९ शनिबार

पोखराको पर्यटन आन्तरिक पाहुना