अर्थ

युवालाई हैन उत्पादनलाई निर्यात गरौँ : अध्यक्ष ज्ञवाली

महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले युवाहरूलाई विदेश पठाउनुभन्दा उत्पादनलाई निर्यात गर्न सके मुलुकले समृद्धि हासिल गर्न सक्ने बताएकी छन्। सुमिडिमा सिल्क प्यालेसले आयोजना गरेको सन किस्ड प्रदर्शनीको शनिबार उद्घाटन गर्दै ज्ञवालीले परम्परागत तथा मौलिक उत्पादन तयार गर्न महिला उद्यमी सक्षम भइसकेको बताइन्।

‘महिलाहरू आफन्तलाई विदेश पठाउनुभन्दा आफूले गरेको उत्पादनलाई निर्यात गर्न चाहन्छन्,’ उनले भनिन्, ‘यसका लागि मुलुकभरका महिलाहरूले आ–आफ्नो ठाउँबाट योगदान गर्न थालिसकेका छन्।’ उनले राज्यले सोचे जति सहयोग नगरे पनि महिलाहरू आफ्नै बलबुताबाट अगाडि बढिरहेको बताएकी छन्।

यस्ता प्रदर्शनीले नेपालीमा आशाको सञ्चार गर्ने अध्यक्ष ज्ञवाली बताइन्। ‘बजारीकरणमा राज्यले सोचजति सहयोग नगरे पनि महिला दिदीबहिनीहरू अगाडि बढी रहनु भएको छ,’ उनले भनिन्, ‘यसले समाजमा आशाको सञ्चार गरेको छ।’

महिला उद्यमशीलतालाई अगाडि बढाउन महासङ्घ २२ वर्षदेखि निरन्तर लागिपरेको बताउँदै उनले पछिल्लो समय राज्यसँग निकट रहेर नीति निर्माणमा सहयोग पुर्‍याउन सफल भएको उनले बताइन्। ‘अहिले हामी उद्यमीको पक्षमा वकालत गर्दै उनीहरूलाई आवश्यक पर्ने लोनलाई सहजीकरण गर्न लागिपरेका छौँ,’ उनले भनिन्, ‘यसले गर्दा नयाँ व्यवसाय सुरु गर्नेलाई उत्साह बढाउने काम गरेको छ।’ उद्यमले आम्दानी मात्र नभएर मुलुकमा आशाको सञ्चार समेत गर्ने उनले बताइन्।

कार्यक्रममा नेपालका लागि युएईका राजदूत अब्दुला सइद, कतारका राजदूत मिसाल मोहम्मद अलि अल अन्सारी, पाकिस्तानका राजदूत अबरार एच हासमी श्रीलङ्काकी पूर्व राष्ट्रपतिकी राजापक्षेकी पत्नी सरान्ती राजापक्षेलगायतका अतिथिको सहभागिता रहेको थियो।

प्रकाशित: २९ असार २०८२ ०९:४२ आइतबार

#Sobha Gyawali #NagarikNews #NepaliNews