अर्थ

७१ अर्बका आइपिओ लाममा

कमजोर वित्तीय विवरण, प्रिमियम मूल्य निर्धारणमा चलखेल, लक-इन अवधि सकिएपछि सेयर बिक्री गर्ने प्रवृत्ति र संस्थागत सुशासनको अभावले प्राथमिक सेयर बजारमाथि प्रश्न उठ्न थालेकाले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक सेयर (आइपिओ) निष्कासनमा कडाइ गरेको छ।

आइपिओ निष्कासनलाई कम्पनीहरूले पुँजी जुटाउने महत्त्वपूर्ण माध्यमका रूपमा प्रयोग गर्दै आएको अवस्थामा कम्पनीहरूमा देखिएको बेथिति नियन्त्रणका लागि त्यस्तो कडाइ गरिएको हो।

आइपिओ निष्कासन गरेका कतिपय कम्पनीमा वित्तीय पाको अभाव, कमजोर संस्थागत सुशासन, प्रवर्द्धकहरूको स्वार्थ र नियामकीय अनुगमनको प्रभावकारितामाथि प्रश्न उठ्न थालेपछि सेबोनले आइपिओ निष्कासनको कडा मापदण्ड बनाएको छ। ११७ कम्पनीका ७१ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीका आइपिओ आवेदन प्रक्रियामा रहेको सेबोनले जनाएको छ।

विभिन्न कम्पनीका करिब साढे ७१ अर्ब रुपैयाँ बढी आइपिओ प्रतीक्षामा रहेको सेबोनका सूचना अधिकारी तोलाकान्त न्यौपानेले बताए। ‘विगतमा भन्दा आइपिओ निष्कासनको मापदण्ड सुधार गरेका छौं,’ न्यौपानेले भने, ‘योग्यता नपुग्दासम्म आइपिओ निष्कासनको अनुमति पाइँदैन।’ आइपिओ निष्कासनका लागि परेका आवेदनलाई पहिलोपटक प्रक्रियागत अवस्थाका आधारमा ६ चरणमा वर्गीकरण गरेको छ।

सेबोनले आइपिओ निष्कासनका लागि प्राप्त आवेदनलाई प्रक्रियागत अवस्थाका आधारमा ६ चरणमा वर्गीकरण गरेको छ। बोर्डको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै ७६ कम्पनी पहिलो चरणमा छन् भने दुई कम्पनी अन्तिम समीक्षा चरणमा पुगेका छन्। अन्तिम चरणमा पुगे पनि कम्पनीले आइपिओको अनुमति पाउँछन्।

आइपिओ निष्कासन प्रक्रियाको छैटौं तथा अन्तिम समीक्षा चरणमा आशुतोष इनर्जी लिमिटेड र कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड छन्। यी दुई कम्पनीले कुल २९ लाख कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन्। आशुतोष इनर्जीले १२ लाख कित्ता र कान्तिपुर फर्मास्युटिकल्स ल्याबले १७ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका हुन्। आशुतोष इनर्जीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल र कान्तिपुर फर्मास्युटिकल्स ल्याबको मुक्तिनाथ क्यापिटल छन्। अन्तिम समीक्षा चरणमा पुग्दैमा आइपिओ निष्कासनको स्वीकृति प्राप्त भएको भने होइन। बोर्डले आवश्यक कागजात, वित्तीय विवरण र नियामकीय मापदण्डको परीक्षण पूरा गरेपछि मात्रै स्वीकृतिसम्बन्धी निर्णय गर्छ।

आइपिओ निष्कासन प्रक्रियाको पाँचौं चरणमा १० कम्पनी छन्। यी कम्पनीले बोर्डले उठाएका कैफियतको जवाफ तथा परिमार्जित कागजात बुझाइसकेपछि पेस गरेका विवरणको समीक्षा गरिरहेको सेबोनले जनाएको छ। यस चरणमा एनसी एग्रोटेक इन्डस्ट्रिज, सानीमा हाइड्रोपावर, आइएमई लिमिटेड, सिउरी न्यादी पावरलगायत कम्पनी छन्। उनीहरूले कुल पाँच करोड १९ लाख चार हजार ७०१ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन्।

त्यसैगरी चौथो चरणमा १९ कम्पनी छन्। यी कम्पनीले बोर्डले पठाएको कैफियतको जवाफ बुझाइसकेका छन्। यस चरणमा डिस मिडिया नेटवर्क, जगदम्बा स्टिल्स, सौर्य सिमेन्ट, ह्यास हस्पिटललगायत कम्पनी छन्। ती कम्पनीले कुल ११ करोड ९८ लाख ७८ हजार ५९५ कित्ता सेयर निष्कासनका लागि अनुमति मागेका छन्। तेस्रो चरणमा भने बोर्डले आवश्यक सुधार गर्न वा थप विवरण उपलब्ध गराउन कैफियत पठाएका चार कम्पनी छन्। 

महाशक्ति सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, ज्यास्मिन पेन्ट्स र लक्ष्मी टेक्नोप्लास्ट तेस्रो चरणमा छन्। पहिलो र दोस्रो चरणमा ८२ कम्पनी छन्। धेरै कम्पनी प्रारम्भिक चरणमै छन्। आइपिओ निष्कासनका लागि आवेदन प्राप्त भएको पहिलो चरणमा सबैभन्दा धेरै ७६ कम्पनी छन्। यस चरणमा मारुती सिमेन्ट, अम्बे स्टिल्स, रिद्धिसिद्धि सिमेन्टलगायत कम्पनी छन्। यी कम्पनीले कुल २८ करोड आठ लाख २२ हजार ३१३ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन्।

दोस्रो चरणमा ६ कम्पनीका आवेदनको प्रारम्भिक समीक्षा भइरहेको छ। यस सूचीमा आकामा होटल र अपेक्स मकालु हाइड्रोपावरलगायत कम्पनी छन्। यसरी पहिलो र दोस्रो चरणमा मात्रै ८२ कम्पनीका आवेदन प्रक्रियामा छन्। सेबोनले कम्पनीले पेस गरेका कागजात, वित्तीय विवरण, विवरणपत्र तथा प्रचलित कानुनी र नियामकीय मापदण्ड पूरा भए नभएको परीक्षण गरेर मात्रै आइपिओ निष्कासनको स्वीकृति दिने गरेको छ।

पछिल्लो समय आइपिओ निष्कासनसम्बन्धी मापदण्डमा समेत कडाइ गरिएको छ। आइपिओ निष्कासन गर्ने केही कम्पनीको वित्तीय पारदर्शिता, संस्थागत सुशासन र प्रवर्द्धकहरूको भूमिकामाथि प्रश्न उठ्दै आएको छ। निष्कासनअघि आकर्षक नाफा र उच्च प्रतिफलको सम्भावना देखाउने तर निष्कासनपछि वित्तीय अवस्था कमजोर हुने प्रवृत्तिले लगानीकर्ताको विश्वासमा असर पारेको छ।

प्रकाशित: १७ कार्तिक २०८३ ०९:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App