विद्युतको प्रयोग बढाउन र ग्यास खपतलाई घटाउने उद्देश्य सहित पोखरा महानगरपालिका–२२ ले आफ्नो वडाका बासिन्दालाई इन्डक्सन चुल्हो वितरण गर्न थालेको छ। त्यसको सुरुवात गत सोमबारदेखि भएको छ। पहिलो दिन वडाका २ सय ३४ घरधुरीका बासिन्दाका लागि चुल्हो वितरण गरिएको छ।
नागरिकलाई इन्डक्सन चुल्हो वितरण गर्नका लागि वडा कार्यालयले अघिल्लो आर्थिक वर्ष ३० लाख रुपैयाँ छुट्याएको थियो। त्यसबाहेक वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र उपभोक्ताको साझेदारीमा चुल्हो प्रदान गर्न थालिएको हो। पोखरा महानगरका प्रमुख धनराज आचार्यले चुल्हो वितरण सुरुवात गरेका थिए।
वडाध्यक्ष हिमलाल बरालका अनुसार यो महिना भित्र वडाभित्रका सबै घरधुरीमा इन्डक्सन चुल्हो वितरण गर्ने लक्ष्य राखिएको छ। वडाभित्र २२ सय घर रहेपनि करिब २ सय घरका बासिन्दाको स्थायी बसोबास पोखरा रहेकोले २ हजार घरमा मात्र चुल्हो आवश्यक पर्ने उनले बताए। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागत साझेदारीमा पहिलो चरणमा एकहजार चुल्हो ल्याइएको छ। त्यो मध्ये सोमबार २ सय ३४ थान बाडिएको छ। बाँकी थान केहीदिनमा वितरण हुने उनले बताए।
‘एकहजार थान चुल्होका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सघाएको हो। त्यसमा ३० प्रतिशत लागत स्थानीयको छ,’ उनले भने, ‘बाँकी एकहजार थानका लागि महानगरले छुट्याएको बजेटबाट खरिद गरेर वितरण गर्ने हो, त्यसमा पनि स्थानीयको साझेदारी त रहन्छ। अहिले त्यसको टेन्डर आव्हान भएको छ। केहीदिनमा चुल्हो आइपुग्ने र त्यसपछि वितरण गरिनेछ। भदौभित्र एकघर एक चुल्होका आधारमा वडाभित्रका सबै घरमा इन्डक्सन चुल्हो चल्न थाल्नेछ।’ स्वदेशमा उत्पादन भएको विद्युत खपत बढाउँदै अर्थतन्त्रलाई साथ दिन पनि इन्डक्सन चुल्हो संचालन जरुरी रहेको उनले बताए।
‘विद्युत स्वदेशकै उत्पादन हो। तर, ग्यास भने होईन। ग्यास बाहिरबाट किनेर ल्याउनुपर्छ,’ उनले भने, ‘स्वदेशी उत्पादनलाई हामीले प्राथमिकता दिनुपर्छ।’
वडाका कालाबाङ्, भुम्दी लगायतका विभिन्न ५ वटा टोलमा बसोबास गर्ने वडावासीलाई पहिलो चरणमा चुल्हो वितरण गरिएको वडा अध्यक्ष बरालले बताए। ‘पहिलो चरणमा चुल्हो आवश्यक परेका व्यक्तिले नाम दर्ता गराउन वडा कार्यालयले एकसाताको समय दिएको थियो। त्यसपछि पहिलो चरणमा काम थालेका हौ,’ उनले भने, ‘गाउँ भएपनि अहिले सबैको भान्सामा ग्यास सिलिन्डर छन। यहीबेला खाना पकाउने ग्यासको चरम अभाव छ। ग्यास नपाएको बेला इन्डक्सन चुल्हो पाएपछि नागरिकलाई सहज भएको छ।’
खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि नगरवासीलाई त्यसको विकल्पका रुपमा विद्युतीय चुल्हो प्रदान गरिएको महानगरका मेयर धनराज आचार्यले बताए। विद्युतीय चुल्होको प्रयोगले ग्यास अभावका बेला हुने समस्या र चिन्ता कम गर्नुका साथै स्वदेशमै उत्पादन हुने विद्युतको उपयोगलाई प्राथमिकता दिन सहयोग पुग्ने नगर प्रमुख आचार्यले बताए।
खाना पकाउन विद्युतीय उर्जाको प्रयोग बढाउँदै लैजान सके ग्यासमा हुने परनिर्भरता घटाउनुका साथै स्वदेशमै उत्पादन भएको विद्युतको खपत बढाउन सकिने सम्भावना रहेको उनको भनाई छ। महानगरपालिकाले वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै नगरवासीलाई सहज र भरपर्दो ऊर्जा उपलब्ध गराउने उद्देश्यले विद्युतीय चुल्हो वितरण गरिएको जनाएको छ।
पोखरा महानगरपालिकाको पञ्चवर्षीय नगर उर्जा योजना अनुसार सन् २०२९ सम्ममा महानगरपालिका भित्रका २५ प्रतिशत घरधुरीमा विद्युतीय चुल्होको पहुँच पुर्याउने लक्ष्य राखिएको छ। जर्मन अन्तर्राष्ट्रिय सहयोग नियोग (जीआईजेड), वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, विन्डपावर नेपाल र युरोपियन युनियनको सहयोगमा पोखरा महानगरपालिकाको शहरी योजना आयोगले तयार गरेको नगर उर्जा योजनाले विस २१०० (सन् २०४३) सम्म पोखरालाई कार्बन तटस्थ सहर बनाउने लक्ष्य राखेको पनि महानगरले बताएको छ।
पोखराको वर्तमान ऊर्जा उपभोगका हिसाबले खाना पकाउनका लागि प्राथमिक रुपमा प्रयोग भएका इन्धनमा एलपीजीको हिस्सा ८४.२५ प्रतिशत रहेको पनि महानगरले बताएको छ। त्यस्तै बायोग्यास ५.२५ प्रतिशत, काठ दाउरा १०.२७ प्रतिशत र विद्युतको मात्र ०.२३ प्रतिशत छ। घरायसीस्तरमा एलपीजीको निर्भरता ९८.४५ प्रतिशत पुगेको छ भने व्यावसायिक क्षेत्रमा यो आँकडा ८४.२५ प्रतिशत रहेको पनि महानगरको तथ्यांक रहेको छ।
प्रकाशित: ३ भाद्र २०८३ १७:५५ बुधबार
-600x400.jpg)


-600x400.jpg)