अर्थ

बिस्का जात्रा र नयाँ वर्ष लक्षित भक्तपुरमा महोत्सव हुने

नयाँ वर्ष २०८३ एवं ऐतिहासिक बिस्का जात्राको अवसर पारेर भक्तपुरको सल्लाघारीमा बृहत् ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ आयोजना हुने भएको छ।

आगामी चैत २६ गतेदेखि वैशाख ६ गतेसम्म चल्ने महोत्सवमा करिब ५ करोड रुपैयाँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डको संयुक्त आयोजनामा हुन लागेको यो १०औं संस्करणको महोत्सव हो।

बुधबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवका संयोजक दीपक थापाले स्थानीय उत्पादन, उद्योग र व्यापार प्रवर्द्धन गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य लक्ष्य रहेको जानकारी दिए।

महोत्सवमा उपत्यकासहित काभ्रे र सिन्धुपाल्चोकबाट करिब २ लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ।

उपभोक्तालाई दैनिक उपभोग्य वस्तु एउटै छानामुनि सहज रूपमा उपलब्ध गराउन महोत्सवमा १५० भन्दा बढी स्टलहरू राखिनेछन्।

स्टलहरूमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि सामग्री, हस्तकला, इलेक्ट्रोनिक्स, मोबाइल र अटोमोबाइललगायतका वस्तु प्रदर्शनी तथा बिक्रीमा रहनेछन्।

किनमेलसँगै महोत्सवलाई मनोरञ्जनात्मक बनाउन बालबालिकाका लागि विशेष खेलकुद, फुड फेस्टिभल र राष्ट्रिय कलाकारहरूको दैनिक सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसमेत रहनेछ।

महोत्सवको प्रवेश शुल्क विद्यार्थीका लागि ५० रुपैयाँ र सर्वसाधारणका लागि १०० रुपैयाँ तोकिएको छ।

विगत १२ वर्षदेखि आयोजना हुँदै आएको यो महोत्सव कोभिड महामारीका कारण दुई वर्ष स्थगित भएको थियो। महामारीपछिको सुस्त बजारलाई यस महोत्सवले नयाँ ऊर्जा दिने विश्वास आयोजकले लिएको छ।

प्रकाशित: १८ चैत्र २०८२ २०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App