अर्थ

एमसीसी: अमेरिकाले थप ५ करोड डलर अनुदान दिने, कुल बजेट १ खर्ब ६ अर्ब पुग्यो

नेपालको ऊर्जा क्षेत्रको पूर्वाधार विकासमा केन्द्रित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल सम्झौतामा संयुक्त राज्य अमेरिकाले आर्थिक सहायता रकम वृद्धि गरेको छ।

नेपाल सरकार र अमेरिकी सरकारको एमसीसी बिच भएको नयाँ समझदारी अनुसार अमेरिकाले परियोजनाका लागि थप ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने घोषणा गरेको हो।

उक्त घोषणासँगै एमसीसी सम्झौता अन्तर्गत परिचालन हुने कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ।

अब कुल बजेटमध्ये अमेरिकी सरकारको अनुदान हिस्सा ५५ करोड डलर हुनेछ भने नेपाल सरकारले यस परियोजनामा १९ करोड ७० लाख डलर बराबरको योगदान गर्नेछ।

थपिएको यो वित्तीय स्रोतले नेपालले प्राथमिकतामा राखेका विद्युत् प्रसारण लाइन तथा सडक मर्मत सम्बन्धी पूर्वाधारका कामलाई पूर्णता दिन र समयमै सम्पन्न गर्न मद्दत पुर्‍याउनेछ।

यस अतिरिक्त सहयोगको मुख्य उद्देश्य नेपालको ऊर्जा प्रणालीको सुदृढीकरण गर्ने र अन्तरदेशीय ऊर्जा व्यापारको अभिवृद्धिलाई सम्भव तुल्याउनु रहेको छ।

परियोजनाले नेपालको ऊर्जा ग्रिडको विश्वसनीयता बढाउनुका साथै बजार पहुँचमा सुधार गरी अन्तर्राष्ट्रिय ‘कनेक्टिभिटी’ मा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

दुई देशले लामो समयदेखि आर्थिक वृद्धि, ऊर्जा सुरक्षा र पारस्परिक समृद्धिलाई अघि बढाउन सहकार्य गर्दै आएका छन्। एमसीसी नेपाल सम्झौताले उच्च प्रभावयुक्त पूर्वाधार विकासमा केन्द्रित रहँदै, कुनै पनि ऋणको भार नपर्ने गरी पूर्णतः अनुदानमा आधारित सहायतामार्फत नेपालको विकासमा टेवा पुर्‍याएको छ।

प्रकाशित: ३ मंसिर २०८२ १५:०७ बुधबार