अर्थ

भारतीय पाहुना आगमनमा फड्को, मे महिनामा कीर्तिमानी तथ्यांक

.

पोखरा फेवातालमा रमाउँदै पाहुना। पोखरामा अहिले भारतीय पाहुनाको भीड छ। तस्बिरः सन्तोष/नागरिक

सन् २०२६ मे महिनामा नेपालमा हवाई माध्यमबाट भित्रिएका भारतीय पर्यटकको संख्या अहिलेसम्मकै बढि भएको छ। यो मे महिनामा मात्र सबैगरि ४० हजार ७ सय ८२ जना भारतीय पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। अहिलेसम्मको तथ्यांक अनुसार एकमहिना अवधिमा भित्रिएका भारतीय पाहुनाको संख्या यो नै सबैभन्दा बढी हो। स्थलमार्गबाट भित्रिएका भारतीय पाहुनाको आकार अझै बढि रहेको व्यावसायीले बताउने गरेका छन।

पर्यटन बोर्डको तथ्यांक अनुसार मे महिनामा नेपालमा सबैगरि १ लाख २ हजार ६ सय २६ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए। ती मध्ये झन्डै ४० प्रतिशत पाहुना भारतीय छन्। अघिल्लो वर्ष विभिन्न घटनाक्रमका कारण भारतीय पर्यटक नेपाल आउनबाट त्रसित भएका थिए। प्राकृतिक विपद् र दूर्घटना तथा आन्दोलनका कारण भारतीय पाहुनाको आगमन एकाएक प्रभावित भएको थियो। यो पटक भने त्यो आगमनमा एकाएक सुधार भएको व्यवासायीले बताएका छन्।  

सरकारी तथ्यांक अनुसार यसअघि नेपालमा २०२४ मे मा नेपालमा ३८ हजार १ सय ९८ जना भारतीय पाहुना भित्रिएका थिए। त्यसबाहेक २०२५ अगष्ट महिनामा नेपालमा ३५ हजार ५ सय ५ जना भारतीय पाहुना भित्रिएका थिए। २०२५ मे महिनामा जम्मा २८ हजार १ सय ६० भारतीय पाहुना नेपाल भित्रिएका थिए।  

‘यो पटक भारतीय पाहुनाको आगमनले समग्र पर्यटन व्यावसायीलाई उत्साही बनाएको छ। पोखरा र आसपासका क्षेत्रका होटलमा भारतीय पाहुनाको बाहुल्यता छ,’ होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन, ‘पोखरामा पछिल्लो दुईसातादेखि भारतीय पाहुनाको भीड बढेको छ। यसले पर्यटन क्षेत्रलाई निकै नै राहत दिएको छ।’

व्यावसायीका अनुसार अहिले पोखराका होटलको अकुपेन्सीमा करिब ६० प्रतिशत हिस्सा भारतीयको रहेको पराजुलीले बताए। उनका अनुसार पछिल्लो दुईसातादेखि पोखराका होटलको अकुपेन्सी करिब ९० प्रतिशत रहेको छ। अकुपेन्सी त्यो आकारमा उकास्न भारतीय पाहुनाको योगदान रहेको पनि उनले बताए।  

पर्यटन बोर्डको तथ्यांक अनुसार मे महिनामा नेपालमा सबैगरि १ लाख २ हजार ६ सय २६ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए। ती मध्ये झन्डै ४० प्रतिशत पाहुना भारतीय छन्।

‘हवाई माध्यमबाहेक पोखरामा स्थलमार्गबाट सहजै पाहुना आउन सक्ने भएकोले हवाई माध्यमबाट भन्दा बढि आगमन भएको छ। दिनमा कम्तिमा एकसय वटा साना आकारका गाडीमा भारतीय पाहुना भित्रिएको अनुमान छ,’ उनले भने, ‘ठूला आकारका बसमा आउने पाहुना पनि उत्तिकै छन। पोखरासम्मको पहुँच सहज यो पटक पोखराले अपेक्षा गरेभन्दा बढि आकारमा भारतीय पाहुना पाएको छ।’  

भारतीय पाहुना बोलाउन पोखराका पर्यटन व्यावसायीले हरेक वर्षजसो भारतीय सहरमा ‘चलिए पोखरा’ अभियान चलाउँदै आएको र त्यसको प्रभावस्वरुप पनि अहिले पाहुना बढेको उनले बताए। ‘नेपाल–भारत बोर्डर क्षेत्रमा प्रवर्द्धनात्मक गतिविधि गरेका थियौ। चलिए पोखराको त्यो अभियानले यो बेलामा पोखरा घुम्न जानुपर्छ भन्ने सन्देश प्रवाह हुँदा आगमन बढेको हो,’ उनले भने, ‘भारतीय सहरमा यतिबेला अधिक गर्मी भएकोले पनि पाहुनालाई पोखरा ल्याउन बल पुगेको छ।’ 

मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने मुख्य सिजन भएकोले पनि यो समयमा भरतीयको आगमन ह्वात्तै बढेको पराजुलीले बताए। उनका अनुसार पोखरामा मात्र नभई आसपासका पर्यटकीय क्षेत्रमा पनि भारतीय पाहुना खचाखच रहेको उनले सुनाए।  

पर्यटन बोर्ड पोखराका वरिष्ठ निर्देशक मणिराज लामिछाने पछिल्लो समय पोखरा आउने भारतीय पाहुनाको आकार ह्वात्तै बढेको बताउँछन्। उनका अनुसार तेस्रो मुलुक जाने भारतीय पर्यटक पनि अहिले सहजातले गर्दा नेपाल आइरहेका छन्। भारत सरकारले डलर सटहीमा गरेको कडाइ, नेपालमा भारतीय रुपैयाँ र क्युआर भुक्तानीको सुविधा, भिसा लगाउनु नपर्ने र आफ्नै गाडी लिएर आउन सकिने कारणले भारतीय पाहुनाका लागि नेपाल आकर्षक र सहजको गन्तव्य बनेको उनले बताए।  

‘भारतीय पाहुनालाई नेपाल आउन सहज छ। अहिले त स्थलमार्गको पहुँच पनि सहज बनेको छ। निजी गाडीमा छोटो समयमै आउन सकिने भएकोले पनि पोखरा त झनै भारतीय पाहुनाको रोजाईको गन्तव्य बनेको छ,’ उनले भने। 

उनका अनुसार भारतीय विद्यालयमा सामान्यतया गर्मी महिनाको बिदा ४० देखि ६० दिनसम्म हुने गर्छ। मे महिनाको मध्यदेखि जुनको मध्यसम्म बिदा हुने भएकोले पनि पारिवारिक घुमघाम हुने उनले बताए।  

‘भारतमा अत्यधिक गर्मीबाट बचाउनका लागि राज्यका शिक्षा बोर्ड र निजी विद्यालयले आ–आफ्नो हिसाबले बिदाको मिति तय गर्छन्। सामान्यतया जुन अन्तिम वा जुलाईको सुरुतिर फेरि कक्षा सुरु हुन्छन। गर्मीबाट जोगिनका लागि पनि पाहुना घुम्न आउँछन,’ उनले भने, ‘भारतका राज्य सरकारले विद्यार्थीलाई अत्यधिक गर्मीको लहर (लु) बाट जोगाउन गर्मी बिदाको घोषणा गर्ने गरेका छन्। उत्तर प्रदेश र दिल्लीका विद्यालय त जुन ३० सम्म बन्द नै रहन्छन।’ अहिले पोखराका अधिकांश होटल भारतीय पाहुनाले नै भरिभराउ रहेको पनि उनले बताए।  

मध्यपूर्वको प्रभावका बाबजुत आगमन  

मध्यपूर्वका मुलुकमा आइपरेको द्वन्द्वको प्रभावस्वरुप पनि यो मे महिनामा नेपालमा १ लाख २ हजार ६ सय २६ जना विदेशी पाहुना आएका छन्। तेश्रो मुलुकका विदेशी पर्यटक भित्रिने मुख्य सिजन चलिरहँदा नेपाल भित्रिने पर्यटक मध्यपूर्वको द्वन्द्वको प्रभावमा परेका थिए। त्यही प्रभावका बाबजुत पनि गत अप्रिल महिनामा नेपालमा १ लाख ७ हजार ९ सय ३४ जना पाहुना आएका थिए।  

बोर्डका अनुसार नेपाल भित्रिने विदेशी पाहुनाको हवाई मार्गमा उत्पन्न समस्याका बाबजुत पनि आगमन सकारात्मक देखिएको छ। २०२५ को मे महिनाको आगमनको तुलनामा यो मे मा १९ प्रतिशत अगमन बढेको छ। २०२५ मे महिनामा जम्मा ८६ हजार २ सय १६ जना पाहुना भित्रिएका थिए। त्यही आगमन कोरोना भाइरस संक्रमण सुरु हुनुभन्दा अघिको समय २०१९ मे महिनाको तुलनामा ३१ प्रतिशत बढि छ। २०१९ मे महिनामा नेपालमा जम्मा ७८ हजार ३ सय २९ जना पाहुना भित्रिएका थिए।

आगमनको हिसाबले यो महिनामा सबैभन्दा बढी भारतीय पाहुना भित्रिएका छन्। त्यसपछि दोश्रो नम्बरमा चिनियाँ पाहुना आएका छन्। मे महिनामा भित्रिएका चिनियाँको संख्या ११ हजार ५ सय १४ रहेको छ। तेश्रो नम्बरमा अमेरिकी पाहुनाको संख्या ९ हजार १ रहेको छ। चौथो नम्बरमा रहेको बंगलादेशबाट मे महिनामा ५ हजार २ सय ९८ जना पाहुना भित्रिएका छन्। पाँचौ नम्बरमा रहेको बेलायतबाट जम्मा ३ हजार ३ सय ७५ जना पाहुना भित्रिएका छन्।  

युद्धका कारण मध्य पूर्वको आकाश असुरक्षित हुँदा धेरै अन्तर्राष्ट्रिय विमानले लामो र वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको उनले बताए। यसले गर्दा इन्धनको खपत बढेको छ र नेपाल आउने–जाने हवाइ टिकटको मूल्य निकै महँगो भएको थियो। हवाइ भाडा महँगो हुँदा युरोप र अमेरिकाबाट नेपाल आउने पर्यटकको संख्यामा कमी आउने अनुमान रहेपनि त्यो आगमन उत्तिसारो प्रभावित नभएको उनले बताए।  

प्रकाशित: १९ जेष्ठ २०८३ १६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App