कोशी प्रदेशमा हालसम्म ३१.४८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। गत वर्षको यही अवधिको तुलनामा यस वर्ष रोपाइँ करिब २ प्रतिशतले बढेको भए पनि पर्याप्त वर्षा नहुँदा र खण्डवृष्टिका कारण रोपाइँ अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।
कृषि विकास निर्देशनालय, कोशी प्रदेशले सोमबार सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष असार २२ गतेसम्म प्रदेशमा २९.५४ प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको थियो।
निर्देशनालयका अनुसार उच्च पहाडी जिल्लामा रोपाइँको प्रगति सबैभन्दा कमजोर देखिएको छ। हालसम्म उच्च पहाडी क्षेत्रमा २३.८३ प्रतिशत, मध्यपहाडी क्षेत्रमा ४२.७२ प्रतिशत र तराईका जिल्लामा २८.१७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।
जिल्लागत विवरणअनुसार भोजपुरमा सबैभन्दा बढी ७३ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ भने तेह्रथुममा सबैभन्दा कम १३.८४ प्रतिशत मात्रै रोपाइँ भएको छ।
अन्य जिल्लामध्ये ताप्लेजुङमा ३५.५ प्रतिशत, संखुवासभामा १४ प्रतिशत, सोलुखुम्बुमा ३८ प्रतिशत, पाँचथरमा ५६ प्रतिशत, इलाममा ३७ प्रतिशत, धनकुटामा १७ प्रतिशत, उदयपुरमा ३९.१२ प्रतिशत, ओखलढुंगामा ३३.७९ प्रतिशत र खोटाङमा ४४.७७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ।
तराईका जिल्लामध्ये झापामा २७.५ प्रतिशत, मोरङमा २९ प्रतिशत र सुनसरीमा २८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ।
कोशी प्रदेशमा कुल २ लाख ७६ हजार ३८६.७२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। तीमध्ये हालसम्म ८७ हजार ३३.१७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार रोपाइँको मुख्य समयमा पर्याप्त वर्षा नहुनु र स्थान–स्थानमा खण्डवृष्टि भइरहनुले किसानलाई सिँचाइको समस्या भोग्नुपरेको छ, जसका कारण अधिकांश जिल्लामा धान रोपाइँ प्रभावित बनेको छ।
प्रकाशित: २२ असार २०८३ २१:२७ सोमबार



