अर्थ

अब बागमतीको पानी लिफ्टबाट खेतमा, किसान खुसी

निर्माणाधीन लिफ्ट सिँचाइ आयोजना। तस्बिर: अनिल/नागरिक

छेउमै बाह्रै महिना बागमती नदी बग्छ। तर २० मिटर माथिको सयौं बिघा खेत सिँचाइका लागि आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता। यो सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका किसानहरूले वर्षौंदेखि भोग्दै आएको पीडा हो।

तर, अब यो अवस्था फेरिँदैछ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिन्धुलीले करिब चार करोडको लागतमा लिफ्ट सिँचाइ आयोजना अगाडि बढाएपछि स्थानीय किसान हर्षित भएका छन्।

हरिहरपुरगढी गाउँपालिका–२, चैनपुरमा बागमती नदीबाट पानी तानेर खेत सिञ्चित गर्ने गरी लिफ्ट सिँचाइ आयोजनाको काम धमाधम भइरहेको छ। यो आयोजनाले करिब तीन सय परिवारको सयौं बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ।

‘खोला नजिकै भएर पनि खेत बाँझै राख्नुपर्ने अवस्था थियो,’ स्थानीय किसान कमल राई भन्छन्, ‘व्यक्तिगत रूपमा मोटर लगाएर पानी तान्दा वर्षमा दुई/तीन पटक मोटर बिग्रिएर हैरान हुन्थ्यो। अब व्यवस्थित लिफ्ट सिँचाइ बन्न थालेपछि हामी निकै खुसी छौं।’

यसअघि विभिन्न राजनीतिक नेतृत्वले ठूला सिँचाइ आयोजना बनाउने आश्वासन दिए पनि त्यो कहिल्यै पूरा भएको थिएन। तर, अहिले बागमती प्रदेश सरकार अन्तर्गतको डिभिजन कार्यालयले बहुवर्षीय आयोजनाको रूपमा लिफ्ट सिँचाइ निर्माण सुरु गरेपछि किसानले राहत महसुस गरेका हुन्।

लिफ्ट सिँचाइ मात्र नभई कार्यालयले नजिकैका खोलाहरूमा पक्की संरचनासहितको कुलो र ड्याम पनि निर्माण गरिदिएको छ। जसले गर्दा बर्खामा भेल पसेर हैरान हुने किसानलाई समयमै रोपाइँ गर्न सहज भएको छ।

‘पक्की ड्याम र कुलो बनेपछि झन्डै तीन सय बिघा खेत सिञ्चित गर्न सहज भएको छ,’ स्थानीय चन्द्र राईले भने, ‘हामीले समयमै रोपाइँ सुरु गर्न पाएका छौं।’

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिन्धुलीका प्रमुख कृष्णबहादुर पाण्डेका अनुसार, नदी किनारका खेतीयोग्य जमिनमा पानी पुर्‍याउन लिफ्ट सिँचाइ प्रभावकारी देखिएको छ।

‘सिन्धुलीमा मरिण, बागमती, सुनकोसी, कमला र चदाहा नदी किनारमा हजारौं बिघा खेतीयोग्य जमिन छ,’ उनले भने, ‘पानीको सतह र जमिनको उचाइ नमिल्दा ती जमिन बाँझै थिए, अब लिफ्टमार्फत सिँचाइ पुर्‍याउँदैछौं।’

साथै, उनले लिफ्ट सिँचाइ केही खर्चिलो हुने भएकाले किसानहरू व्यावसायिक उत्पादनमा जोडिनुपर्ने बताउँछन्। ‘विद्युत् महसुल तिर्नुपर्ने, कर्मचारी व्यवस्थापन गर्नुपर्ने जस्ता खर्चहरू हुन्छन्। त्यसैले किसानले व्यावसायिक उत्पादन गरेर आयआर्जन बढाउन सके मात्र यो आयोजना दिगो हुन्छ,’ प्रमुख पाण्डेले भने।

कार्यालयले जिल्लाभर सिँचाइका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको र ती चालु आर्थिक वर्षको अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

प्रकाशित: १४ असार २०८२ २०:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App