अर्थ

चार महिनामा मुस्ताङ भित्रिए १ लाख १२ हजार पर्यटक

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १ लाख १२ हजार ४८ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार साउनदेखि कात्तिकसम्म भित्रिने पर्यटकमध्ये ५७ हजार ८३१ नेपाली र ५४ हजार २१७ विदेशी छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालले पहिलो चौमासिकमा विदेशीको तुलनामा नेपाली पर्यटक ३ हजार ६१४ अर्थात् ६.२४ प्रतिशतले बढी रहेको जानकारी दिए।

बेनी-जोमसोम सडकमार्ग हुँदै आएका नेपाली पर्यटकमा ४३ हजार ५८४ पुरुष र १४ हजार २४७ महिला छन् भने विदेशीमा ३७ हजार ४१७ पुरुष, १६ हजार ७९३ महिला र ७ जना अन्य रहेका छन्।

घाँसा प्रहरी चौकीको अभिलेखअनुसार दशैँ, तिहार र छठ पर्वको लामो बिदाका कारण कात्तिकमा मात्रै सर्वाधिक ४१ हजार ७०७ पर्यटक मुस्ताङ पुगेका छन्।

यस्तै, साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८ र असोजमा १९ हजार ५३९ पर्यटक भित्रिएका थिए।

असोजमा भारी वर्षाका कारण बेनी-जोमसोम सडक दुई साताभन्दा बढी समय अवरुद्ध हुँदा पर्यटक आगमन घटेको प्रहरी निरीक्षक बस्यालले बताए।

सोही अवधिमा बेनी-जोमसोम सडकमार्ग हुँदै कुल ६९ हजार ७४६ सवारीसाधन मुस्ताङ प्रवेश गरेका छन्।

जसमा साउनमा ४१ हजार ७४७, भदौमा ७ हजार ९८२, असोजमा ४ हजार ९७३ र कात्तिकमा १५ हजार ४४ सवारीसाधन रहेका थिए।

आर्थिक वर्ष २०८२/८३ मा सोही मार्ग हुँदै ७ लाख ७७ हजार ७३७ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए।

प्रकाशित: २ मंसिर २०८३ २१:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App