प्रवास

एनआरएनए महाधिवेशनः अध्यक्षमा डा.शर्मा सर्वसम्मत

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्व चयन प्रक्रियामा अन्ततः अध्यक्ष पदमा सहमति जुटेको छ। अध्यक्षका प्रत्याशी रविन बज्राचार्यले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिँदै डा.हेमराज शर्मालाई समर्थन गरेपछि अध्यक्षमा शर्मा सर्वसम्मत बनेका हुन्।

एनआरएनएको एकता महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचन कार्यक्रममा पछिल्लो चरणमा सहमतिको वातावरण बलियो बनेको छ। बज्राचार्यले अध्यक्ष पदबाट पछि हट्दै उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्ने निर्णय गरेपछि अध्यक्ष पदमा डा.शर्माको एकद उम्मेदवारी पर्ने निश्चित भएको हो।

यसअघि अध्यक्षका अर्का प्रत्याशी रोविन शेरचनले पनि संस्थाको एकता र महाधिवेशनको गरिमा कायम राख्ने उद्देश्यले आफ्नो उम्मेदवारी फिर्ता गरेर डा.शर्मालाई समर्थन गरेका थिए। शेरचनले बरिष्ठ उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन्। प्रमुख प्रतिस्पर्धीहरू सहमतिमा पुगेपछि डा.शर्मा सर्वसम्मत अध्यक्ष चयन हुने अवस्था बनेको छ।

महाधिवेशनको अन्तिम चरणमा सहमतिको वातावरण बनेसँगै संस्थाभित्र देखिएको ध्रुवीकरण कम गर्ने प्रयास तीव्र भएको छ। पदाधिकारीका धेरैजसो पदहरूमा सहमतिको आधारमा नेतृत्व चयन गर्ने तयारी भइरहेको छ। हालसम्म पदाधिकारीतर्फ २० भन्दा बढी उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकी पदमा पनि सहमतिका प्रयास जारी छन्।

एनआरएनाभित्र लामो समयदेखि देखिएको नेतृत्व र वैधानिक विवाद तथा गुटीय विभाजनलाई एकता महाधिवेशनमार्फत समाधान गर्दै सर्वसम्मत नेतृत्व चयन हुनुले संस्थालाई नयाँ दिशा दिने विश्वास गरिएको छ। नयाँ नेतृत्वले विश्वभर रहेका नेपाली समुदायको हकहित, लगानी प्रवर्द्धन र नेपालको विकासमा गैरआवासीय नेपालीहरूको भूमिका थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित: १ चैत्र २०८२ २०:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App