प्रवास

१२ बुँदे घोषणा पत्र सार्वजनिक गर्दै एनआरएनएको सम्मेलन सम्पन्न

१२ बुँदे घोषणापत्र सार्वजनिक गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ फागुन ३० देखि चैत २ गतेसम्म काठमाडौंमा आयोजित सम्मेलनले विश्वभर रहेका नेपाली समुदायको एकता, लगानी विस्तार र नेपालको समृद्धिका लागि सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ । महाविधेशनले हेमराज शर्माको अध्यक्षतामा नयाँ समिति पनि निर्विरोध निर्वाचित गरेको छ ।

सम्मेलनमा विभिन्न देशमा बसोबास गर्ने गैरआवासीय नेपाली, नीति–निर्माता, लगानीकर्ता, श्रमिक प्रतिनिधि, युवा, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। आयोजकका अनुसार सम्मेलनमा चार हजार २ सय ८६ प्रतिनिधि सहभागी भएका थिए । तीमध्ये चार सयभन्दा बढी प्रतिनिधि काठमाडौंमा प्रत्यक्ष उपस्थित भएका थिए भने बाँकी सहभागीहरू अनलाइन माध्यमबाट जोडिएका थिए ।

सम्मेलनले गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सरल र अनुकूल वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । रोजगारी सिर्जना, उद्यमशीलता विकास तथा भौतिक पूर्वाधार निर्माणमा योगदान पुर्‍याउने गरी एनआरएन लगानीलाई प्रोत्साहन गर्न सम्मेलन प्रतिबद्ध रहेको घोषणापत्रमा उल्लेख छ ।

त्यसैगरी, गैरआवासीय नेपालीको लगानी व्यवस्थापनलाई सहज बनाउन छुट्टै संयन्त्र स्थापना गर्न तथा यससम्बन्धी कानुनी सुधार गर्न सरकारसँग माग गरिएको छ। नागरिकता ऐन, आयकर ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन लगायतका कानुन संशोधन गरेर लगानी प्रक्रिया सहज बनाउनुपर्ने सम्मेलनको सुझाव छ ।

सम्मेलनले नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्डबाट जारी हुने धितोपत्रको सीमा ८५ प्रतिशत कायम गर्न पनि माग गरेको छ। यसले विदेशमा रहेका नेपालीको लगानीलाई औपचारिक रूपमा नेपालको आर्थिक विकाससँग जोड्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।

मध्यपूर्व क्षेत्रको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सम्मेलनले संकटमा परेका नेपालीहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि नेपाल सरकार र अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्य सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ। साथै विदेशमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, अधिकार र सम्मानजनक रोजगारी सुनिश्चित गर्न सम्बन्धित देश र अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य बढाउने निर्णय पनि गरिएको छ ।

घोषणापत्रमा गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि आवश्यक कानुनी तथा नीतिगत सुधार गर्न सरकारसँग आग्रह गरिएको छ । संविधानले दिएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रभावकारी रूपमा कार्यान्वयन हुने गरी आवश्यक संशोधन छिटो गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ ।

सम्मेलनले विदेशमा जन्मिएका तथा हुर्किएका दोस्रो पुस्ताका नेपाली युवालाई भाषा, संस्कृति र पहिचानसँग जोड्न विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारेको छ । साथै विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक र अनुसन्धानकर्तासँग सहकार्य गरी ज्ञान, प्रविधि र नवप्रवर्तनको आदानप्रदानमार्फत नेपालको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाइएको छ । जलविद्युत्, कृषि, पर्यटन, सूचना प्रविधि तथा नवप्रवर्तनमूलक उद्योगमा गैरआवासीय नेपालीको लगानी प्रोत्साहन गर्ने र नेपाललाई विश्वसामु चिनाउने अभियानलाई थप सशक्त बनाउने सम्मेलनको निर्णय छ ।

सम्मेलनले नव निर्वाचित नेतृत्वले आगामी दिनमा बन्ने सरकारसँग सहकार्य गर्दै गैरआवासीय नेपाली संघलाई विश्वभरका नेपालीहरूको साझा र समावेशी संस्थाका रूपमा सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । साथै सम्मेलन सफल बनाउन सहयोग गर्ने नेपाल सरकार तथा अन्य सरोकारवाला निकायप्रति आयोजकले धन्यवाद व्यक्त गरेका छन् ।

प्रकाशित: २ चैत्र २०८२ २०:५७ सोमबार