प्रवास

ह्यारी पोट्टर लेखिकाद्वारा छद्मनाममा लेखेको स्वीकार

लन्डन — सर्वाधिक बिक्री भएको 'ह्यारी पोट्टर' पुस्तककी बेलायती लेखिका जेके रोलिङले आलोचकहरूद्वारा निकै प्रशंसा पाएको एक उपन्यास आफैंले छद्मनाममा लेखेको स्वीकारेकी छिन्। तीन बालबालिकाकी आमा रोलिङले 'द कुकुज कलिङ' नामक पुस्तक लेखेको सनडे टाइम्सले सार्वजनिक गरेको छ। यो उपन्यास एक निजी गुप्तचरमा आधारित छ, जसले एक मोडेलको आत्महत्याबारे अनुसन्धान गरेको छ।यो उपन्यास रबर्ट ग्यालब्रेथको नामबाट प्रकाशित भएको छ। ग्यालब्रेथ राजकीय सैनिक प्रहरीका पूर्व सदस्यका रूपमा छन्। उनले सन् २००३ देखि नागरिक सुरक्षा उद्योगमा काम गरिरहेको उल्लेख छ। पत्रिकाले सैनिक पृष्ठभूमि भएका एक व्यक्तिले पहिलोपटक लेखेको पुस्तक नै कसरी यत्तिको राम्रो हुनसक्छ भनी अनुसन्धान गरेको थियो।

४७ वर्षीया रोलिङले आफूले रबर्ट ग्यालब्रेथ हुँदा स्वतन्त्र भएको अनुभव गरेकाले यो गोपनियतालाई अझै केही समय कायम राख्ने आशा गरेको बताइन्। ठूलो अपेक्षा नभई र भिन्न लेखकको नामबाट प्रतिक्रिया प्राप्त गर्दा आफूलाई अनौठो लागेको उनको अनुभव छ।

यो उपन्यास अफगानिस्तानको युद्धमा घाइते सैनिकको जीवनमा आधारित छ र अप्रिलमा प्रकाशन भएपछि गुप्तचर कोरमोरन स्ट्राइकले अपराध लेखकहरूबाट प्रशंसा प्राप्त गरेका थिए। सनडे टाइम्सका अनुसार यो पुस्तक कडा गातामा एक हजार ५०० प्रति बिक्री भएको छ र अन्य प्रति आउँदो वर्ष बिक्री हुनेछ।

पुस्तक लिटिल ब्राउन बुक ग्रुपले प्रकाशन गरेको हो। यस संस्थाले गत वर्ष रोलिङले वयस्कहरूका लागि लेखेको पुस्तक 'द क्याजुल भ्याक्यान्सी' पनि प्रकाशित गरेको थियो। यसले पाठकहरूबाट मिश्रित प्रतिक्रिया पाएको थियो। सातवटा ह्यारीपोटर पुस्तकमा व्यापक सफलता प्राप्त गरी हलिउडमा चलचित्रसमेत बनेको अवस्थामा रोलिङप्रति अपेक्षा निकै उच्च छ।

प्रकाशित: ३१ असार २०७० ००:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App