ब्लग

भाइरल रेनुकाको फिल्म खेल्ने रहर !

सामाजिक सञ्जालले कसलाई कतिखेर भाइरल बनाउँछ र कसको जिन्दगीमा कस्तो उथलपुथल ल्याउँछ भन्ने कुराको पछिल्लो उदाहरण हुन्, स्याङ्जाकी रेनुका बराल।

चुनावको बेला राजनीतिक आवेगमा आएर दिएको एउटा अभिव्यक्तिले अहिले उनको सडकमा हिँड्नसमेत मुस्किल पर्ने गरेको छ।

कुरा हो निर्वाचन अघिको। देश चुनावमय थियो। काठमाडौंको कलंकीमा सानो किराना र तरकारी पसल चलाएर बस्ने रेनुका भोट हाल्न आफ्नो गाउँ स्याङ्जाको चापाकोट पुगेकी थिइन्।

मतदान केन्द्र बाहिर राजनीतिक गफगाफ चल्दै थियो। झापा क्षेत्र नम्बर-५ मा कसले जित्ला भन्ने विषयमा एमाले र रास्वपा समर्थकबीच बहस भइरहेको थियो।

एमालेकी समर्थक रेनुकाले त्यही हुलमा फ्याट्ट भनिदिइन्, ‘बालेनले जित्यो भने झापामा यो कान काटेर म टिचिङ अस्पताल गएर टाँका लगाउँछु र कानको सुन पनि बालेनलाई नै दिन्छु।’

त्यहाँ उपस्थित एक युवाले यो कुरा मोबाइलमा खिचेर टिकटक र फेसबुकमा हालिदिए। नतिजा रेनुकाले सोचेभन्दा ठीक उल्टो भइदियो।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झन्डै ५० हजारको भारी मतान्तरले पराजित गरे। त्यसपछि त के थियो र ! रेनुकाको त्यो भिडियो आगोझैं फैलियो।

उनी रातारात भाइरल भइन्, तर सकारात्मक रूपमा होइन, ट्रोल र उडाउने पात्रको रूपमा।

फागुन २४ गते थियो। बिहान कालीमाटी तरकारी बजारमा सधैंझैं बिहानै तरकारी किन्न पुगेकी उनलाई त्यहाँ सयौं मानिसले घेरे। हातमा मोबाइल तेर्स्याउँदै सबैले एकै स्वरमा सोध्न थाले, ‘दिदी, कान कहिले काट्ने त ?’

उनीमाथि लगभग भौतिक आक्रमणकै शैलीमा मानिसहरू जाइलागे। उम्किन नसकेपछि उनले प्रहरीको नम्बरमा फोन गरेर गुहार माग्नु पर्‍यो। बल्लबल्ल तरकारी बोक्ने गाडीमा चढेर उनी त्यहाँबाट भाग्न सफल भइन्।

पछि भाइरल बने पनि उनी मिडिया अन्तर्वार्ता व्यस्त रहिन्। यही क्रममा उनले फिल्म खेल्ने रहर पनि जाहेर गरिन्। चर्चामा आएको मौकामा कला क्षेत्रमा प्रवेश गर्ने रहर सुनाइन्।

‘अहिले मलाई के छ भने, यस्तो चर्चामा आउँदा भोलि कतैबाट हिरोको आमा वा दिदीको अफर आयो भने जान्छु,’ उनले भनेकी छन्, ‘म्युजिक भिडियो, चलचित्र खेल्ने चाहना छ। नाच्न नआए पनि एक्टिङ आउँछ।’

उनको भनाइले फेरी पनि सामाजिक सञ्जालमा चर्चा पाएको छ। के भाइरल हुँदैमा फिल्ममा सजिलै इन्ट्री पाइन्छ ? प्रतिभाभन्दा भाइरलपन ठूलो हो त ?

सामाजिक सञ्जालले रातारात स्टार बनाउने र भोलिपल्टै गुमनाम बनाइदिने दृष्टान्त खोज्न धेरै टाढा जानु पर्दैन। छिमेकी देश भारतकै रानु मण्डल र भुवन बादायकरलाई हेरे पुग्छ।

पश्चिम बंगालको एउटा रेलवे स्टेसनमा गीत गाएर जीवन गुजारा गर्ने रानु मण्डलको एउटा भिडियो भाइरल भएपछि उनले बलिउडमै गीत गाउने अवसर पाइन्।

रातारात चर्चाको शिखरमा पुगेकी उनको स्टारडम जति छिटो चुलियो, त्यति नै छिटो सेलायो पनि। न उनीसँग व्यावसायिक गायनलाई निरन्तरता दिने सीप र प्रशिक्षण थियो, न त त्यो स्टारडम थाम्ने मानसिक क्षमता नै। केही समयमै उनी पुनः आफ्नै पुरानो र गुमनाम अवस्थामा फर्किइन्।

त्यस्तै अवस्था कच्चा बदाम गाउने भुवन बादायकरको पनि भयो। बदाम बेच्दा ग्राहक तान्न उनले गाएको गीतमा विश्वभरका मानिस नाचे।

उनको भिडियोले इन्टरनेटमा तहल्का मच्चायो। तर, उनको त्यो भाइरलपन पनि पानीको फोकाजस्तै साबित भयो। आज उनी कहाँ छन् र के गर्दैछन् भन्ने कसैलाई चासो छैन। उनीहरूको स्टारडम एउटा क्षणिक ट्रेन्ड मात्र थियो, जुन अर्को नयाँ भाइरल ट्रेन्ड आउनासाथ बिलाएर गयो।

रेनुकाको रहरमाथि पनि यिनै यथार्थहरू जोडिएर प्रश्न उठिरहेका छन्। चलचित्र वा साङ्गीतिक क्षेत्र भनेको लहड वा कोही मानिस विवादमा परेर भाइरल भएको झोकमा गरिने काम होइन।

यसका लागि निरन्तरको साधना, धैर्यता र अभिनयको गहिरो बुझाइ आवश्यक पर्छ। अभिनय आफैंमा एउटा कला र तपस्या हो, क्षणिक भाइरल हुनुको उपज होइन।

पछिल्लो समय फिल्म निर्माता र निर्देशकहरूले पनि सस्तो लोकप्रियता र ‘भ्युज’ तान्नका लागि जो भाइरल भयो, उसैलाई पर्दामा भित्र्याउने होडबाजी चलाएका छन्।

तर, यस्ता भाइरल अनुहारहरूले दर्शकलाई एकछिन तान्न सके पनि लामो समय हलमा अड्याउन सकेका छैनन्।

प्रतिभा, सीप र निरन्तरता बिना कला क्षेत्रमा कसैको पनि अस्तित्व लामो समय टिक्दैन भन्ने कुरा विगतका थुप्रै घटनाले प्रमाणित गरिसकेका छन्।

भाइरल हुनु भनेको चिठ्ठा पर्नु जस्तै हो, तर कला भनेको पसिना बगाएर गरिने साधना हो। 

भर्चुअल दुनियाँको यो भाइरलपनले रेनुकाको वास्तविक जिन्दगी भने निकै कष्टकर बनाइदिएको छ। उनले मानिसहरूको खिसीट्युरी सहनु परेको छ।

भाइरल भिडियोका कारण बाटोघाटोमा निरन्तर दुर्व्यवहार भोगिरहेकी उनले आफूले कसैको नराम्रो नगरेको सुनाइन्। ‘माफी माग्नुपर्ने के गल्ती गरेको छु र ? कसैको घर बिगारेको छैन, कसैलाई व्यक्तिगत हानि गरेको छैन,’ उनले भनेकी छन्।

आफू अझै पार्टीको लागि ज्यान दिन तयार रहेको उनले बताएकी छन्।

प्रकाशित: १७ चैत्र २०८२ २०:५२ मंगलबार